'जूनलाई पत्र' : By, Rajesh Rubma Lama

प्रिय जून,
यतिखेर मेरो मनमा तुवाँलो छाएको छ | मेरो भिर ,पाखा र फाँटहरु म धुलाम्मे देख्दैछु |यद्दपि तिम्रो मन्द मुस्कानले भने मलाई स्वर्गीय आनन्द दिलाईरहेको छ | म हरपल तिम्री यादको संजिबिनी पिएर बाँचिरहेको छू यो उजाड उजाड मरुभूमि अर्थात क्याक्टस फूल्ने शहरमा |

 प्यारी जून,शायद तिमीलाई पनि मेरो याद आउँछ होला नि होइन ? र त तिमी चियाई चियाई हेर्ने गर्छ्यौ त्यो सेतो र कालो बादलुको पर्दा हटाई हटाई मलाई |हो म यति बुज्दछु अथवा भनुं बुझ्नु पर्छ मैले की हाम्रो मिलन असम्भब छ |

वास्तविकता पनि त यहि हो | किन थाहा छ ? धत त्यती पनी थाहा छैन ? किनकी तिमी आकाशमा फूलने जून अनि म धरतीको धुलो, अब धर्तीको धुलो र आकाशको जूनको भेट कहीं हुन्छ त ? हुन्न नि है .? तर पनि जून,किन किन यस्तो लाग्छ की जून बिना मेरो जिबन अपुरो र अधूरो छ ? कुनै बेला त यस्तो पनि लाग्छ की जूनै नभईदिएको भए पनि म आफ्नो मझेरीमा कालो रात ओछ्याउदै कालो संसारलाई अंगालो मारेर बस्ने थिएँ, आफ्नो भाग्य र बिधाताको खेल सम्झी बाँच्ने थिएँ|

कमसे कम पाउनु र गुमाउनुको हिसाब किताबमा तिमीलाई मैले जोख्नु पर्ने थिएन अथवा तिमीलाई हेरेर यो मुटु दुखाउनु त पर्ने थिएन |यी यस्ता तर्क बितर्कहरु मनमा भूमरी बनेर मडारिंदा अजीबको शुलले मुटुमा रोपें झैं लाग्छ |हो जून ! थाहै हुन्न कुनै बेला आँशुले मेरो अगाडी बढ़ने बाटो छेक्छ अनि भन्न थाल्छ" भो अब नहेर,नसम्झी जूनलाई| जून तिम्रो होइन |"

तर म त्यो आँशुलाई हातमा लिएर म् सोध्ने गर्छु " ए आँशु तँ को होस् ?किन छेक्दै छस मेरो जूनलाई? "आँशु नि रुँदै भन्ने गर्छ " -धर्तीमा उभेर आकाशको जूनलाई पाउने मुर्खता नगर राज .."सोच्छु हुन पनी हो .कहाँ म धरतीको धुलो कहाँ तिमी जून ? कहिलेकाँहि म देख्छु मेरो जून त्यो पारीको क्षितिजमा झर् झर झरिरहेको झरिमा रुझ्दै गरेको । त्यहि झरिले मेरो घरको जस्ताको छानो पनि थर्काईरहेको छ । मलाई सहि नसक्नु हुन्छ तिमी निथुर्क्क भएकी देखेर ।

म भित्रको सानो मुटुको चाल तिव्र भएर जान्छ । तिमीलाई अंगालोमा बेर्ने मन् हुन्छ । यस्तो बेजोडको झरिमा पनि म आफ्नै कोठाभित्र पसिना पसिना हुन्छु । तिम्रो नाउँ उच्चारण गर्न खोज्छु तर अंह सक्दिन ।तिमी त्यहि झरिमा भिज्दै भिज्दै म भन्दा झन धेरै टाढा टाढा हुदैं जान्छौ । म अवाक! हात फैलाएर बसिरहेकोछु । म विवश हुन्छु किनकी न म कुनै पवन बनेर तिमीलाई चुम्न सकिरहेको हुन्छु न त्यो झरिबाट बचाउन आकास जस्तै ओत बन्न सकिराहुन्छु ।मात्र देखिरहेको छु जून । तिमी न म बाट टाढा छौ न नजिक। यदि टाढा छौ भनुँ भने म तिमीलाई देखिरहेको छु यदि थिइन र नदेखेको भए यसरी तिमीलाई एकोहोरिएर् प्रेम पनि गर्ने थिएन होला ।फेरि नजिक छौ भनुँ भने तिमीलाई छुन सकिराछैइन ।

यो कस्तो दोसाँध अथवा भनुँ कस्तो परिवेश न तिमीलाई पाउँछु न गुमाउँछु । उफ्! । जून साँच्चै म तिमीलाई किन यसरी प्रेम गरिरहेछु? मलाई थाहा छ तिमीलाई म जिवनभर कहिल्यै प्राप्त गर्न सक्दिन । यो सत्य हो ।यो म आफू पनि स्वीकार्छु यदयपी किन किन तिमीप्रतिको त्यो मेरो आकर्षण टुट्न सकिराछैइन । मेरी प्रिया, यो वास्तविक्ता जान्दा जान्दै पनि म तिम्रो कल्पनामा डुब्छु. । फेरि मलाई यो पनि थाहा छ, तिमी पनि मलाई उत्तिक्कै माया गर्छौ र त जब जब अध्याँरोले साम्राज्य जमाउन शुरु गर्छ तब तब तिमी आकाशमा उदाएर मलाई हेर्ने गर्छयौ ।

पुर्णिमा हरेक रात तिमी उज्याली भएर मलाई उसै गरि हेरिरहन्छयौ अनि जब औंशीले त्यो पुर्णिमालाई ढाक्न शुरु गरे पछि तिमी अत्तालिएर रुन थाल्छ्यौ । तिमी भित्र पनि असिम पीडाहरु छचल्किरहेको छ त्यो म स्पष्ट देख्छु । त्यो पीडा जब आँशु बनेर झर्छ तब बिहानीले शीत जन्माउँछ । हो त्यहि शीत बनेर तिमीभित्रको मायाले मलाई यो धर्तीमा श्पर्श गर्दछ । अनि त्यति बेला यो अतृप्त तृप्त हुन्छ । हो साँच्चै म तृप्त हुन्छु, हरेक बिहान तिम्रो चुम्बनले ,तिम्रो आलिंगनले ।

सायद हाम्रो दृष्टि रातभरि सम्भोग गरिरहन्छ अनि तिमी स्खलित हुन्छ्यौ ।म यसैमा खुसी छु मेरी प्रिया, मेरी जून । म चाहन्छु हामी एक हुन नसके पनि यो क्रमले सदियौं पार गरोस । सदियौंसम्म तिमी शीत बनेर मलाई चुम्न,यो बन्जर धर्तीलाई उर्बर बनाउन आईराख ,झरिराख । सायद यो हाम्रो मायालाई अरुले एउटा सभ्यताको रुपमा लिनेछ ।

म यहि चाहन्छु कि तिमीलाई भौतिक रुपमा स्पर्श गर्न नपाए पनि भावनात्मक रुपमा सधैं स्पर्श गरिराँखु ।हाम्रो मिलन असम्भव छ तर पनि म देखाउन चाहन्छु यो संसारलाई प्रेम अनूभुति हो जस्लाई तनले हैन मनले अनुभव गर्न सकिन्छ,बस मनले अनुभब गर्न सकिन्छ ।

 राजेश रुम्बा लामा 'अतृप्त'

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com