महिला अधिकारकर्मी आफै छाउपडी बस्न बाध्य

दैलेख, मंसिर १४ ,

प्रकाश अधिकारि ;- सदरमुकाम निवासी राधा मल्ल जिल्लाकै अगुवा महिला अधिकारकर्मी मध्येकी एक हुन् । महिला सशक्तीकरण मञ्चमा लामो समयदेखि कार्यक्रम संयोजकका रूपमा कार्यरत उनको मुख्य काम छाउपडी प्रथाविरुद्ध समुदायलाई जनचेतना जगाउँदै हिँड्नु हो ।

तीन वर्षयता आफ्नो कार्यक्षेत्र सात्तला, सिंगौडी र लकान्द्रमा छाउपडी निवारणका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएकी छन् । तर फिल्डमा महिनावारी भए उनी आफैंलाई छुई बार्नुपर्ने बाध्यता छ । हैतना विष्ट लक्ष्मी मावि सात्तलाकी शिक्षिका हुन् । समुदायमा सञ्चालन गरिने छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक क्रियाकलापमा उनी पनि सहभागी हुने गर्छिन् । महिनावारीका बखत भने आफ्नै घरभित्र प्रवेश पाउँदिनन् ।

छाउगोठमै उनको बास हुन्छ । राकमकर्णाली स्वास्थ्य चौकीमा कार्यरत अनमी लक्ष्मी माझीलाई पनि छुई बार्नु अन्ध परम्परा हो भन्ने राम्ररी थाहा छ । तर, महिनावारीको सूचना लुकाए उनलाई घरबाटै लखेटिने डर छ । घरका बुढापाका र समाजका भद्रभलाद्मीले उनलाई छाउगोठ बस्न बाध्य पार्छन् ।

सामाजिक कार्यकर्ता राधा, शिक्षिका हैतना र स्वास्थ्य कार्यकर्ता लक्ष्मी प्रतिनिधि महिलामात्र हुन् । यस्ता थुप्रै पढेलेखेका र समुदायलाई अगुवाइ गर्ने महिला सामाजिक कुरीतिका कारण छाउपडीजस्तो कुप्रथा अँगाल्न बाध्य छन् । 'घर शान्ति नै विश्व शान्तिको आधार' नारासाथ महिला हिंसाविरुद्ध १६ दिने अभियानको रौनक जिल्ला सदरमुकामसम्म आइपुगेको छ । तर ग्रामीण भेकमा पुर्खौंदेखि हुर्केको छाउपडीजस्तो कुप्रथाका कारण महिलाले शारीरिक र मानसिक यातनासमेत भोग्नुपरेको छ ।

 छाउपडी बस्दा चिसोले कठ्यांगि्रने, जीउ सुनिने, सर्पले डस्नेजस्ता समस्या सामान्यजस्तै हुन् । एचआईभी संक्रमणले थलिएका महिलाले समेत कष्टपूर्ण बास बस्नुपरेको छ । महिनाका कम्तीमा ५ देखि १३ दिनसम्म महिनावारी (छाउ) भएका महिला घरदेखि अलग्गै बनाइएका गोठमा बस्ने प्रचलनलाई छाउपडी भनिन्छ । यहाँ स्त्रीको रजस्वलाको अवस्थालाई छुइनेरी वा छाउ भएको भन्ने गरिन्छ । जुन गोठ स-साना र हावा नछिर्ने खालका हुन्छन् । यस अवधिमा हुने खाने परिवारले बेग्लै सानो घर, नहुनेले चौपायासँगै गोठमा, गोठसमेत नभएकाले खुला आकाशमुनि सुत्नुपर्ने बाध्यता छ ।

आमा, छोरी र बुहारी गर्दै छाउपडीमा बस्ने क्रम दैनिकजसो चलिरहन्छ । छाउपडी बस्दा दूध, दहीजस्ता पोषणयुक्त खानेकुरा खुवाइँदैन । पश्चिमी भेकका राकमकणर्ाली, सिंगौडी, सिंहासैन, सात्तला, लयाटीविन्द्रासैनी, विशाला, तिलेपाटा, जम्बुकाँध, पादुका, भैरीकालिकाथुम, बासी, कुसापानी, चामुण्डा, पिपलकोटलगायत गाविसका महिला यस्तो पीडा भोग्न बाध्य छन् । महिला देवीदेवता र दुर्घटनाको भयले छाउपडी प्रथा मान्न बाध्य छन् । अशिक्षित महिला, धामीझाँक्री र बुढापाकाले गर्दा आफूहरू छुई बार्न बाध्य भएको हैतना र लक्ष्मी बताउँछन् । 'केही नराम्रो भइहाले छुई बिगि्रयो भन्छन्, नबारी के गर्नू ?,' हैतनाको गुनासो छ, 'बुढापाकाको पुस्ता रहुन्जेल हामीले पीडा झेलिरहन्छौं ।'

 अधिकारकर्मी राधा मल्लको भनाइमा अशिक्षितले मात्र नभई शिक्षित र हुनेखाने परिवारकाले पनि यस्तो कुप्रथालाई बचाउन टेवा पुर्‍याएको पाइन्छ । उनी भन्छिन्, 'बुढापाका र धामीझाँक्रीका कारण गाउँका शिक्षक, बुद्धिजीवी, स्वास्थ्यकर्मी र अभियानकर्ता सबैले यस कुप्रथालाई स्विकार्नुपरेको हो ।' सर्वोच्च अदालतको आदेशमा ०६३ वैशाख २६ गते सरकारले कुरीति घोषणा गरी निर्देशिका मात्रै जारी गर्‍यो । न्यूनीकरणका लागि ठोस कार्यक्रम भने ल्याएन ।

 निर्देशिकामा जिविस संयोजक, महिला कार्यालय सदस्यसचिव र प्रशासन, शिक्षा, स्वास्थ्य, प्रहरी, महिला तथा बाल समूह र सरोकारवाला गैससको प्रतिनिधित्वमा कार्यान्वयन समिति गठन गर्नुपर्ने प्रावधान छ । जिल्लामा समिति नै गठन भएको छैन । महिला हिंसाविरुद्ध १६ दिने अभियानअन्तर्गत छाउपडी निवारणका लागि मंसिर १९, २० र २१ गते सात्तला, सिंगौडी र लकान्द्रमा सडक नाटक प्रदर्शन गरिने कार्यक्रम तय गरिएको छ ।इकान्तिपुर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com