'छाउपडी प्रथा सामाजिक अपराध हो भन्ने ज्ञान नआउन्जेलसम्म यसलाई निर्मूल गर्न सकिँदैन ।'
बालिका थपलिया :- छाउपडीको शाब्दिक अर्थमा 'छाउ' भन्नाले महिनावारी हुनु र 'पडी' भन्नाले महिला हो । यसलाई अरू शब्दमा छुइ हुनु र नछुने हुनु पनि भनिन्छ । महिनावारी भएका बेलामा पाँच छ दिनसम्म घरभित्र पस्न दिइँदैन । यो विशेषगरी नेपालको पश्चिम भागमा प्रचलित छ । अछाम जिल्लालाई यसको उदाहरणका रूपमा लिन सकिन्छ ।
महिनावारी भएका बेलामा महिला घरभित्रै बसे भने देवीदेवताहरू रिसाउँछन् भन्ने परम्परागत सोचाइका कारण छाउपडीले समाजमा जरा गाडेर बसिरहेको छ । यस प्रथासँग सम्बन्धित हृदयविदारक समाचार बेलाबेला सञ्चारमाध्यममा छाइरहन्छन् ।
महिनावारी हुनु प्राकृतिक प्रक्रिया हो भन्ने सत्यलाई नबुझ्नेहरूले यस्तो किसिमको गलत व्यवहार र आचरण दर्साउँछन् । महिनावारी भएको कमजोर अवस्थामा महिलालाई घरबाट टाढा असुरक्षित स्थानमा राख्दा अनेक किसिमका दुःखदायी घटना घट्ने गरेका छन् ।
जस्तैः अपरिचित पुरुषबाट बलात्कार, कुपोषणको समस्या, श्वासप्रश्वासमा समस्या, झाडापखाला, चिसो भुइँमा सुत्नुपर्दा कठ्यांगि्रएर अचानक मृत्यु आदि । तर पनि मानिसको परम्परागत मानसिकतामा परिवर्तन आएको छैन । यो ज्युँकात्युँ प्रचलनमा रहिरहेको छ । यसले परिवर्तनको संघारलाई चुम्न सकेको छैन ।
महिनावारी भएका बेलामा मात्र नभएर बच्चा जन्माएका बेलामा पनि महिलाले उस्तै हविगत सामना गर्नुपरिरहेको छ । बच्चा जन्माएका बेला पनि महिला अपवित्र हुन्छन् भनेर उनीहरूलाई गोठमा बस्न बाध्य बनाइन्छ । संस्कारका नाममा महिलाहरूले एकदम कष्टकर जीवन जिउनुपरेको छ तर मानवतालाई मान्यताले जितेपछि यस्तो सङ्कटमय स्थिति जागृत भएको हो । यदि कुनै महिलाले यो प्रथाको उल्लङ्घन गरिन् भने उनलाई गाउँबाटै बहिष्कृत गरिन्छ ।
शारीरिक रूपमा अशक्त भएका बेलामा घरपरिवारको माया पाउनुको साटो एक्लो जीवन जिउनुपरेकाले महिलाहरूको मनोविज्ञानमा यो प्रथाले भयंकर नकारात्मक असर पारेको छ । त्यसैले उनीहरूलाई हीन भावनाले ग्रस्त बनाइरहेको छ । महिनावारी हुने अथवा बच्चा जन्माउने बेला आउनासाथ उनीहरू डरले काँप्न थाल्छन् । त्यो दिन नआए पनि हुन्थ्यो भनेर कल्पना गरिरहन्छन् तर कुनै पनि महिला त्यो दिनबाट अछुत छैनन् । फरक यति मात्र छ कि यसलाई कुन रूपमा लिने ? यो मानिसहरूको चेतनास्तरले निर्धारण गर्छ ।
उनीहरूलाई राखिने झुप्रोमा गाइबस्तु र बाख्राहरू पनि बाँध्ने गरिन्छ । त्यहाँ वर्षमा एक सय महिला सर्पको डसाइ र डसाइको डरले मर्ने गर्छन् । जहाँ अक्सिजन लिनका निम्ति राम्ररी झ्याल र ढोकाहरू बनाइएका हुँदैनन् ।
मृतक महिलाहरूको लासलाई घरसम्म ल्याउन दिइँदैन । गोठबाट खोलामा लगेर दाहसंस्कार गरिन्छ । अशक्त अवस्थामा यस्तो फोहोर र अनकन्टार स्थानमा बस्नुपर्दा महिलाहरूले भोगेको सास्ती साँच्चै मानवअधिकारविपरीत छ । तर पनि बाध्यताका कारण उनीहरू चुपचाप यो सास्तीको सामना गरिरहेका छन् । छाउपडी प्रथा सामाजिक अपराध हो भन्ने ज्ञान नआउन्जेलसम्म यसलाई निर्मूल गर्न सकिँदैन ।
शैक्षिक चेतनास्तरको कमी, सङ्कुचित सोचाइ अनि पुरुषप्रधान समाज भएको कारणले गर्दा यो प्रथाले हाम्रो समाजबाट पूर्णतः बिदा लिन सकेको छैन । यसको पछाडि गरिबीले पनि मुख्य भूमिका खेलिरहेको छ ।
धनसम्पत्ति अभावको कारण आम नेपालीले छोरालाई पढाउन धेरै मान्यता दिन्छन् । छोराले राम्रो पढेर जागिर खायो भने त बुढेसकालमा सुख पाइन्छ अनि छोरीलाई पढाए अर्काको घर जाने जात कुनै फाइदा हुँदैन भन्ने धारणाले महिलाहरू अनेक पक्षबाट पछाडि परिरहेका छन् ।
अन्य विकसित मुलुकहरूले धेरै पक्ष अर्थात दृष्टिकोणबाट छलाङ मारिरहेको अवस्थामा हामीचाहिं सानातिना घरायसी कुरामा अल्भिmनु पक्कै पनि विकासको सङ्केत होइन । परम्परालाई निरन्तरता दिने नाममा कसैको पनि स्वाभिमानमा ठेस पुर्याउनु हुँदैन ।
संस्कार, धर्म, रीतिरिवाजका साथसाथै सामाजिक मूल्यमान्यता हाम्रा पहिचान हुन् तर पहिचान हुन् भन्दैमा अन्धाधुन्ध नपछ्याएर नराम्रा कुरालाई हटाउँदै राम्राको परिपालन गर्दै जाँदा कसैको पनि मानसम्मानमा आँच आउँदैन । महिलाहरूले पनि आफ्नो एक बारको जिन्दगीलाई दुःखकष्टसँग मात्र साझेदारी गर्ने स्थिति आउँदैन । यसका लागि उन्नतिको कदम चाल्ने कर्तव्य मेरो, तिम्रो र हाम्रो नै हो । अरू कोही आउला र परिवर्तन ल्याइदेला भन्नु हाम्रो गलत विचार अर्थात सोचाइ मात्र बन्न जान्छ । इकान्तिपुर;