सुन्दर समृद्ध भक्तपुर


काठमाडौ, कार्तिक २५ ,
मकर श्रेष्ठ  :- बिहानैपख भक्तपुर नगर क्षेत्रमा झन्डै दुई सय मानिसहरु हातमा कुचोसहित उत्रन्छन् । यी मानिसहरू भक्तपुर नगरपालिकाका कर्मचारी हुन् । आफ्नो घर-आँगनजस्तै सडक सिनिक्क पारे बढार्छन् । जसले गर्दा इँटा विछ्याइएको सुकिला सडक फोहोर-मैलाका लागि पूर्णत निषेधित क्षेत्र बनेका छन् । नगरको भित्री भागमा अन्य सहरमा जस्तो फोहोरको थुप्रो देख्न पाइँदैन । पर्यटकको ओहोर-दोहोर हुने स्थानमा फोहोर खस्ने बित्तिकै टिपिहाल्ने 'टिपनटापन' कर्मचारी हुन्छन् । नगरपालिकाले दिएको बाल्टी र कुचो साथमा लिएर कुन बेला कहाँ फोहोर खसाल्छन्, टिप्न कुरेर बसेका हुन्छन् । 'भुइँमा फोहोर खस्न पाउँदैन, टिपिहाल्छन्', दरबार स्क्वायर क्षेत्रका व्यवसायी विनोदचरण राय भन्छन् ।
भक्तपुरको दरबार स्क्वायर, पाँचतले मन्दिर र दत्तात्रय मन्दिर आसपास दिनहुँ हजारभन्दा बढी विदेशी पर्यटक आउँछन् । काठमाडौं र ललितपुरको प्रदूषण छिचोल्दै भक्तपुुर आइपुग्ने यी पर्यटकहरू यहाँको सरसफाइको गुनगान गर्दै फर्किन्छन् । भक्तपुरको केन्द्र दरबार स्क्वायरले सिङ्गो जिल्लाको सकारात्मक छवि निर्माण गरेको छ । सायद त्यसैले हुनुपर्छ, भक्तपुर मुलुकका ७५ जिल्लामध्ये सबैभन्दा उत्कृष्टमा दरिएको छ । स्थानीय निकाय वित्तीय आयोगले चार महिनाअघि सार्वजनिक गरेको सर्वेक्षण नतिजाअनुसार भक्तपुर ७४ जिल्लालाई उछिन्दै सर्वोत्कृष्ट भएको हो ।
अब्बल हुनुको रहस्य जिल्ला विकास समितिले प्रदान गर्ने सेवाप्रवाह, आर्थिक अनुशासन र परदर्शिता लगायतका सूचकांकमा भक्तपुर सबैभन्दा अगाडि देखियो । २०६७/६८ मा जिविसले गरेको कामको मूल्याङ्कनमा सय पूर्णाङ्कमा ८३ ल्यायो । 'यसले भक्तपुरमा सरकारले दिने अनुदान ३० प्रतिशत थपिन्छ', आयोगका उपसचिव रघुराम विष्ट भन्छन्-'सहभागितामूलक योजना प्रक्रिया, योजना/कार्यक्रम समयमा सम्पन्न र लेखा, राजस्व, खर्च प्रणालीलाई पारदर्शी र व्यवस्थित गरेकाले उत्कृष्ट भएको हो ।'
आर्थिक वर्ष २०६५/६६ मा ६३ अंक प्राप्त गरेर ३१ औं, २०६६/६७ मा ७५ अंक प्राप्त गर्दै पाँचौं भएको थियो, भक्तपुर । यसपाली उत्कृष्ट नै बन्यो । यसमा दलका नेताहरू र यहाँको सामाजिक वातावरणले सहयोगी भएको छ ।  'जिविसले गरेको काममा राजनीतिक हस्तक्षेप नहुनु, शिक्षित जनताको बसोबास र विकास न्यूनतम पूर्वाधार स्थापित भएको छ,' स्थानीय विकास अधिकारी राजेन्द्रकुमार केसी भन्छन्, 'विकास निर्माणको योजना तर्जुमादेखि अनुगमन मूल्याङ्कन तहमा दलका नेता र उपभोक्तासम्म काम गर्दा सकारात्मक छन् ।'
उनी भक्तपुरले कमाएको यो उपलब्धिसंँगै यसको चुनौती बढेको महसुस गर्छन् । 'हामीले प्रदान गर्दै आएको सेवालाई अझ कसरी प्रभावकारी बनाउने ? र अहिले प्राप्त नतिजालाई कसरी निरन्तता दिने अबको हाम्रो चुनौती हो', भन्छन्- 'सन् २०१३ सम्म भक्तपुरलाई खुल्ला दिसामुक्त बनाउने योजना पूरा गर्नुछ ।'
खुल्ला संग्रहालय भक्तपुर क्षेत्रफलको हिसाबले पनि मुलुककै सानो जिल्ला हो । १ सय १९ वर्गकिलोमिटर क्षेत्रफल रहेको जिल्लामा २ नगरपालिका र १६ गाविस छन् । यसको परिचय यतिमै सीमित छैन । ऐतिहासिक सम्पदा र संस्कृतिले चिनाएको भक्तपुरलाई मन्दिरको सहरसमेत भनिन्छ । जिब्रो छेड्ने, सिन्दूर जात्राले मध्यपुर थिमी नगरपालिकालाई चिनाएको छ । त्यस्तै बिस्केट जात्रा भक्तपुरको अर्को मौलिकता हो । 'भक्तपुर सांस्कतिक सम्पदाको धनी सहर हो, अन्यत्र पनि छ, तर जिउँदो संस्कृति हुँदैन,' सम्पदा संरक्षरक रविन्द्र पुरीले भने, 'युरोपका सहरमा संस्कृतिलाई जीवन्त राख्न तलब दिएर मान्छे खडा गर्छन्, पुराना लुगा लगाउन लगाउँछन्, तर भक्तपुरका संस्कृति सधै जीवन्त हुन्छ ।'
भक्तपुरको जुजुधौँको अन्तर्राष्ट्रिय रूपमा चर्चा छ । भक्तपुर र मध्यपुरको  कुमालेले बनाएका माटाका भाँडा अन्तर्राष्ट्रिय बजारमा बिक्री हुन्छ । स्वदेशी माटोले विदेशी डलर भित्र्याएको छ । भादगाउँले टोपी भन्ने बित्तिकै भक्तपुर सम्झन्छन् । काठमा कुँदिने बुट्टाले भक्तपुरलाई सिंगो काष्टकलाको रूपमा चिनाएको छ । भक्तपुरलाई खेलाडी उत्पादन गर्ने जिल्लाको रूपमा पनि चिन्छन् । २० जनाभन्दा बढी अन्तर्राष्ट्रिय स्तरका खेलाडी छन् । अझ मध्यपुर युथ एसोसियसन 'ए' डिभिजनमा उक्लिएपछि भक्तपुरलाई थप चिनायो । भलिबलका एकमात्र अन्तर्राष्ट्रिय रेफ्री गौतम लासिवा पनि भक्तपुरकै स्थानीय हुन् ।
आधुनिकतासँगै कृषि पेसामा लाग्ने काम भक्तपुरमा अझै हराएको छैन । खेतीयोग्य जमिनमा मौसमअनुसार यहाँका कृषकहरू अन्न र तरकारी फलाउँछन् । भक्तपुरको विकासमा प्राकृतिक सम्पदाले पनि साथ दिएको भक्तपुरका पूर्वस्थानीय विकास अधिकारी प्रभा पाण्डे बताउँछिन् । यतिमात्रै नभई राजनीतिक दलको प्रतिबद्धता र इमानदारीले भक्तपुरलाई समृद्ध बनाएको उनको तर्क छ । 'दलका नेतामा सक्षम नेतृत्व, स्वार्थ नहुनु र जनताप्रति प्रतिबद्ध भएको कारणले अन्य जिल्लाभन्दा फरक भएको हो,' उनी भन्छिन्, 'कम बजेट विनियोजन भए पनि सही ठाउँमा प्रयोग हुन्छ । काम नगरी बाँडेर खाने परम्परा मैले देखिन ।'
बिजुक्छेको क्रेज भक्तपुर अन्य जिल्लाभन्दा फरक हुनुमा उनी नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेलाई जश दिन्छिन् । केन्द्रीय स्तरको नेता भए पनि भक्तपुरको विकास निर्माणमा जोड दिन्छन् । 'बिजुक्छेको प्रभावले पनि होला, जिल्लाको विकास कसरी गर्न सकिन्छ भन्ने उहाँ दत्तचित्त भएर लाग्नुहुन्छ,' उनी भन्छिन्, 'भक्तपुर जाँदा सुरुमा बिजुक्छेको जिल्ला हो, काम गर्न समस्या छ भन्थे । तर राजनीतिक हस्तक्षेप कहिल्यै खेप्नुपरेन ।'
कर्मचारीले काममा ढिलाइ गरेको भन्दै सेवाग्राहीको गुनासो प्रमुख जिल्ला अधिकारीसम्म खासै आउँदैन । राजधानीसंँगै जोडिएको जिल्ला भएकोले कर्मचारी नभएर काममा बाधा पर्दैन । 'सानो जिल्ला भएकोले काम थोरै हुन्छ,' भक्तपुरका प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले भने, 'काम भएन, घूस माग्यो भनेर उजुरी पर्दैन ।' उजुरी परे तत्काल सुनुवाइ हुन्छ । राजनीतिक दलका नेतामा पनि विकास निर्माणमा एकजुट हुने गरेको उनको अनुभव छ ।
सरकारी कार्यालयले प्रदान गर्ने सेवा प्रभाव बनाउन  र आर्थिक पारदर्शीमा खबरदारीमा सेवाग्राही र राजनीतिक दलका कार्यकर्ता सक्रिय रूपमा लाग्छन् । उदाहरणको रूपमा बागेश्वरी गाविसका सचिव विष्णुप्रसाद सुवेदीले गरेको अनियमिततालाई लिन सकिन्छ । सेवाग्राहीसंँग लिएको राजस्व उनले गाविसमा जम्मा नगरी चलाएका थिए । स्थानीय राजनीतिक संयन्त्रले उनले गरेको अनियमितताको जिविसमा उजुरी दिए । जिविसले छानबिन गर्दा करिब ३ लाख रुपैयाँ अनियमितता गरेको भेटियो । जिविसले उनलाई उक्त रकम तिराए पनि । थप कारबाहीको लागि प्रक्रिया अगाडि बढाएको छ ।
यस्तै भक्तपुर नगरपालिकामा तीन-तीन महिनामा कार्यकारी अधिकृत परिवर्तन हुन्छन् । स्थानीय निकायमा जनप्रतिनिधि नभएको १३ वर्ष भयो । तर भक्तपुर नगरपालिकामा तत्कालीन मेयरको निर्देशनअनुसार काम गर्नुपर्ने बाध्यता छ । कार्यकारी अधिकृत साछी बस्ने बाहेक केही गर्न पाउँदैनन् । अन्यत्र जस्तो आर्थिक लाभ लिन पाउँदैनन् । पूर्व मेयरको अधीनमा बस्न नसकेपछि भक्तपुरबाट सरुवा भएर अन्यत्र जान्छन् । 'अन्यत्र जसरी कमाउँछन्, तर नगरपालिकामा आएपछि तलब-भत्ताबाहेक केही पाउँदैनन्,' पूर्वमेयर एवं नेमकिपाका केन्द्रीय सदस्य प्रेम सुवालले भने, 'भक्तपुरमा आउने कार्यकारीले कति सही गर्ने एक पैसा नपाउने भन्छन्, केहीले सुख्खा रहेछ बरु मन्त्रालय जान्छु भन्छन् ।'  
बसाइँ आउने बढे
२०६६ देखि ०६८ सालसम्मको जिविसको तथ्यांकले बसाइँ सरेर भक्तपुर आउनेको संख्या बढेको देखाएको छ । राजधानीको सहरी क्षेत्रको तुलनामा भक्तपुरमामा घरजग्गा सस्तोमा पाउने भएपछि बसाइँ सरेर आउनेको संख्या वृद्धि भएको हुनसक्ने समाजशास्त्रीको भनाइ छ । भक्तपुर जिविसका सूचना अधिकृत जोवन कोजुका अनुसार २०६६ देखि ०६८ सम्म १ हजार ६ सय २८ परिवारका ४ हजार ३ सय २५ जना भक्तपुर आएका छन् । यही अवधिमा भक्तपुर छाड्ने भने १ हजार ६ सय २० जना छन् । समाजशास्त्री मृगेन्द्रबहादुर कार्कीले आधारभूत आवश्यकता सहजै पाउने भएपछि ग्रामीण क्षेत्रबाट सहरमा बसाइँ सरेर आउने क्रम बढेको बताए । ६ लेन सडक विस्तारपछि यस्तो बसाइँ सर्ने क्रम बढेको हो । सार्वजनिक वा निजी सवारीमा आवागमन सहज हुँदै गएपछि भक्तपुर आउनेहरू बढेका हुन् ।
गाउँ-गाउँमा मोटरबाटो
तीन दशकअघि चीन सरकारले विस्तार गरिदिएको अरनिको राजमार्गलाई जापान सरकारले फराकिलो बनाइदिएको हो । दुई लेनमात्रै भएको सडक विस्तारपछि ६ लेन भएको छ। सडक बिस्तारपछि आर्थिक प्रगति पनि भएको छ । यसले कम मूल्यमा हुने घरजग्गा महँगोमा बिक्री भएको छ । घन्टौ जाम हुने समस्याबाट मुक्त छन् । सदरमुकामबाट १६ गाविस कार्यालयमा मात्रै होइन, टोल-टोलमा पनि मोटरबाटो पुगेको छ। गाउँ-गाउँमा उत्पादन भएको तरकारी र अन्नबाली सदरमुकाम र राजधानीसम्म सहजै पुर्‍याउनसकेका छन्। प्रजिअ नेपालले गाउँ-गाउँमा बाटो पुगेर सुगम बनाएको बताए । 'सानो जिल्ला कुनै स्रोतसाधनको कमी छैन,' उनी भन्छन्, 'दुर्गम भन्ने कतै छैन ।'  
अधुरो चक्रपथ
५३ किलोमिटरको भक्तपुर चक्रपथ निर्माण सुरु भएको १२ वर्ष भयो। बजेट अभावले भक्तपुर चक्रपथले पूर्णता पाउनसकेको छैन। आन्तरिक स्रोतको लगानी रहेको चक्रपथ निर्माणका लागि केन्द्रीय योजनामा नपरेकै कारण पूरा हुनसकेको हो । सडकका लागि प्रत्येक वर्षको परिषद्ले बढीमा ६० लाखसम्म छुट्याएको छ। सडकले भक्तपुरलाई राजधानीको नजिक बनाएकोले मध्यपुर थिमीको लोकन्थली, कौशलटार, गठ्ठाघर र बालकोट गाविस 'भीआईपी'को बसोबास क्षेत्र बनाएको छ । सडकले सुगम बनाएपछि  भक्तपुर आउने पर्यटकको संख्यामा पनि वृद्धि भएको छ । आर्थिक वर्ष २०६३/६४ मा नेपाल आउने पर्यटकको २६ प्रतिशत भक्तपुर घुम्न आउने गरेकोमा ०६७/६८ मा २९ प्रतिशतले अवलोकन गरेका छन् ।
पर्यटनमा अगाडि
मुलुककै फराकिलो ६ लेन सडक बिस्तारसँगै तीनकुने-सूर्यविनायक सडक जाममुक्त भएपछि भक्तपुर आउने पर्यटकको यात्रा थप सहज बनेको छ । भक्तपुर नगर क्षेत्रमा प्रवेश गर्दा शुल्क लिने गरे पनि मध्यपुरमा यस्तो व्यवस्था छैन । मध्यपुर थिमि नगरपालिकाले पर्यटकलाई आकषिर्त पार्ने कार्यक्रम पनि खासै ल्याउनसकेको छैन । टिगनीको चिउरा सामान्य ज्ञानमै सीमित बन्यो । यसलाई ल्याउनसके मध्यपुर पर्यटकको आकर्षक गन्तव्य बन्न सक्थ्यो । भक्तपुर नगरपालिकाले ०५० सालमा एक डलर लिन सुरुवात गरेकोमा अहिले १५ डलर लिने गरेको छ । गत आर्थिक वर्षमा मात्रै १६ करोड रुपैयाँ आम्दानी गर्‍यो ।
विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण पर्यटकको पहिलो रोजाइ हो । घाम अस्ताएको र उदाएको, हिमाली दृश्यमा रमाउन पर्यटकहरूको अर्को रोजाइ नगरकोट पनि हो । 'नेपालमा आएका पर्यटक भक्तपुर नआएसम्म यात्रा अधुरो ठान्छन्,' पर्यटन विकास समिति भक्तपुरका पूर्वअध्यक्ष दिवानचन्द्र धौभडेलले भने, 'पर्यटकले भक्तपुरलाई ऐतिहासिक र सांस्कृतिक सहरको रूपमा लिन्छन् ।' पर्यटकलाई लक्षित गरी नगरकोटमा ३६ वटा ठूला होटल सञ्चालनमा छन् । त्यसमा दुईवटा तीनतारे होटल छन् ।
एक घर एक स्नातक
भक्तपुरमा एक घर एक स्नातकको अभियानले स्तरीय शैक्षिक संस्था पनि खुलेका छन् । नेमकिपाले ०५६ सालमा एक घर एक स्नातकको नारा अघि सार्‍यो । जिल्ला शिक्षा कार्यालयका अनुसार ८८ प्रतिशत जनता साक्षर छन् । त्यसमा महिला ५९ दशमलब ६ र पुरुष ८१ दशमलब १७ प्रतिशत रहेको छ । नारा पूरा गर्न नगरपालिकाको लगानीमा सञ्चालन हुनेगरी ख्वप उच्च मावि सुरु गर्‍यो । त्यसपछि ख्वप बहुप्राविधिक अध्ययन संस्थान, ख्वप कलेज, ख्वप इन्जिनियरिङ सञ्चालन गरेका छन् । निजी रूपमा सञ्चालित शैक्षिक संस्थाको तुलनामा कम शुल्कमा पढाइ हुन्छ । 'एक घर एक स्नातक नारा पूरा गर्न नगरपालिकाले शैक्षिक संस्था सञ्चालन गर्‍यो,' भक्तपुर नगरपालिकाका पूर्वमेयर प्रमुख सुवालले भने, 'जनप्रतिनिधि नभएकोले पूरा भयो/भएन अध्ययन हुनसकेको छैन ।' उनका अनुसार इन्जिनियरिङ र नर्सिङमा अन्यत्र कलेजमा लिने शुल्कभन्दा नगरपालिकाको कलेजमा आधा तिरे पुग्छ । नेमकिपाले ख्वप विश्वविद्यालयको माग अघि सार्‍यो । सरकारले यसलाई सकारात्मक रूपमा लिएर अध्ययन समितिसमेत गठन गरेको थियो । विश्वविद्यालय प्रस्तावसँगै भक्तपुरवासीले 'समाजलाई बुद्धिजीवी, शिक्षालाई उत्पादन श्रमसँग' जोड्ने नारा सारेको छ ।
स्थानीय निकायमा पदाधिकारी नभएको १३  वर्ष भयो । तर भक्तपुर नगरपालिकामा अझै पूर्व पदाधिकारीको हालीमुहाली चल्छ । उनीहरू अझै निर्वाचित जनप्रतिनिधि भनाउन रुचाउँछन् । तत्कालीन मेयरको निर्देशनबिना कर्मचारीले कुनै निर्णय गर्न पाउँदैनन् । नगरपालिकामा हुने निर्णय नेमकिपाको तजबिजमा भर पर्छ । स्थानीय राजनीतिक दल बीचको सहमतिबिना नगरपरिषद् नबसेको वर्षौ भइसक्यो । नगरको विकासमा अन्य राजनीतिक दलका प्रतिनिधिबीच छलफलबिना काम हुन्छ । नेमकिपाको आडमा नगरपालिकाको विकास निर्माणको काम नियम विपरीत हुन्छ । उदाहरणको रूपमा ब्रह्मायणीको भवन निर्माण उपभोक्ता समितिलाई कामको जिम्मेवारी दिएको छ । यसलाई अख्तियारले छानविन सुरु गरेको छ ।  नेमकिपाका केन्द्रीय सदस्य एवं पूर्वमेयर सुवालले जनताको काम छिटोछरितो गराउन नगरपालिकामा निगरानी राख्ने गरेको बताए । भन्छन्, 'जनप्रतिनिधि नभएको मौकामा गडबडी नहोस् भनेर निगरानी राख्ने गरेको छु ।'
जनसंख्या- ३, ०३, ०२७
पुरुष- १, ५४, ००६
महिला-  १, ४९, ०२१
विदेशमा रहेको जनसंख्या- ९७०१
वाषिर्क जनसंख्या वृद्धिदर- २.९६
जनघनत्व- २५४६
घरधुरी- ५०, ०८६
घरपरिवार- ७३, ०८४
साक्षरता- ८८ प्रतिशत
गरिबीको रेखामुनिको जनसंख्या- २९.९ प्रतिशत
मानव गरिबी सूचाङ्क- २९.९
जिल्ला आयस्रोत- बालुवा र ढुङ्गा खानी
औसत आयु- ७१.३३
अस्पताल संख्या- १०
कालोपत्रे सडक- ८५.८१ किलोमिटर
ग्राबेल सडक- २०६.४१ किलोमिटर
माटे सडक- ८२.७८  किलोमिटर
स्रोत: जिविस 
(इकान्तिपुर )

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com