स्वास्थ्य ,आमा, सिसु र साल

काठमाडौ, मंसिर १५ ,

बच्चा पैदा भएको करिब एक घन्टासम्म पनि सालनाल बहिर्गमन नभए त्यसलाई निकाल्नुपर्छ ।

प्रा: डाक्टर सरस्वती पाध्ये ;- संसारमा बच्चालाई दूध पिलाउने आमाको गर्भमा बच्चा सँगसँगै साल पनि बनेको हुन्छ । मानव सालको उत्पत्ति करिब पहिलो त्रैमासिक भित्रको गर्भ हुँदा हुन्छ । गर्भको सुरुमा बच्चाभन्दा साल ठूलो हुन्छ, तर शिशु पैदा हुने बखत शिशुको तौलको १/५ भागमात्र साल हुन्छ ।

गर्भाधान भएदेखि शिशु पैदा हुने बेलासम्म सालको ठूलो महत्व हुन्छ । यो एउटा बहुद्देश्यीय, बहुआयामिक जटिल अंग हो । आमाबाट बच्चामा नालद्वारा अक्सिजन, पोषक पदार्थ, लवण आदि तत्त्वहरू पुग्छ । बच्चाले फ्याँकेको कार्बनडाइ—अक्साइड, शरीरबाट बहिर्गमन हुनुपर्ने पदार्थहरू यही बाटोबाट आमाको रक्त सञ्चालनमा पुर्‍याउँछ र आमाको दिसा—पिसाबमार्फत बहिस्करण गराउँछ । यही क्रम भ्रूण तथा साल बनेदेखि शिशुको जन्म नभएसम्म चलिरहन्छ ।

पाठेघरभित्र शिशुको पालनपोषण तथा स्याहारसुसार यसरी नै हुने गर्छ । सुरुमा सालको बसाइ पाठेघरको तल्लो भागमा हुन्छ । अनि बसाइ-सराइ गरी प्रायः पाठेघरको माथि पट्टकिो भागमा अवस्थित हुन पुग्छ । साल पाठेघरको भित्रपट्टकिो भागमा भित्तामा गुइँठाझैं टाँस्सेर बसेजस्तै बसेको हुन्छ । पछिसम्म पनि यदि साल पाठेघरको तल्लो भागमा नै भएमा बच्चा जन्मनु अघि वीभत्स रक्तस्राव हुने सम्भावना हुन्छ । यो सालको कति अंश पाठेघरको तल्लो भागमा तथा पाठेघरको मुखमा बसेको छ, त्यसमा भरपर्छ । यस प्रकारको रक्तस्राव बिना कारण, बिना दुखाइ, गर्भावस्थाभरि नै घरिघरि हुने गर्छ । यसले गर्दा महिलामा रक्तअल्पता हुन जान्छ र शिशुले पनि जोखिम अवस्था झेल्नुपर्छ ।

मृतावस्थाको शिशु भए तापनि आमालाई बचाउनका लागि सिजेरियन सेक्सन गर्नुपर्ने हुन आउँछ । साल पाठेघरको सामान्य अवस्थामा हुँदा पनि पाठेघरको भित्ताबाट साल फुस्कन सक्छ । यसले पनि आमाको रक्तस्राव मात्र नभई रगतको अरु अवस्थामा पनि असर परी झन् बढी खतरा हुनसक्छ । साल र बच्चालाई जोड्ने कर्डलाई 'आबिलाइकल कर्ड' भनिन्छ । यो बच्चाको नाइटोमा जोडिएको हुन्छ । यसलाई सुरक्षित राख्न प्रकृतिले नै 'वार्टन्स जेली'ले मोडिराखेको हुन्छ । सयकडा २०-२२ प्रतिशत महिलाहरूमा यो कर्डले बच्चाको घाँटी, हातखुट्टामा बेरेको हुन्छ ।

गर्भमा करिब १८ हप्ता -४— ५) महिनादेखि नै भ्रूण चल्न थाल्छ । यो प्रक्रिया गर्भको अन्त्य अर्थात् ४० हप्तासम्म पनि हुने गर्छ । पाठेघर भित्र 'लाइकर एम्नियाइ' भन्ने पानीजस्तो पदार्थमा भ्रूण-बच्चा पौडी खेली-खेली हुर्कन्छ । यसरी पौडने समयमा बेला-बेला कर्ड अर्थात् नाल जुन बच्चा या भू्रणको नाइटोदेखि सालको मध्यभागमा अवस्थित हुन्छ, त्यसमा अल्भिmएमा वा बच्चा अलि ठूलो हुँदै गर्दा बच्चाको अंगको कुनै भागमा अड्किएमा बच्चालाई आमाको शरीरबाट लैजाने पोषणयुक्त रगत पुग्न बाधा पर्छ र बच्चाको मुटुको गति पहिले बढी चल्ने अनि कम चल्ने र त्यत्तिकै रहेमा गर्भभित्रै बच्चाको मृत्यु हुनेसमेत हुने गर्छ ।

गर्भभित्र बच्चा मर्नुको एक प्रमुख कारण नाल पाठेघरको मुखनेर हुनु हो । यस्तै बच्चालाई सम्हालिराख्ने झिल्ली अचानक फुटेर कर्ड बाहिर निस्कनु हो । यसो भएमा मरेको अवस्थामा बच्चा पैदा हुन्छ । सालनालको कारणले नै अन्दाजी २०—२२ प्रतिशत बच्चाको मृत्यु हुन्छ । बच्चा पैदा भएपछि करिब आधा घन्टाभित्र सालनालको पनि प्रसव हुन्छ । यदि सालनालको बहिर्गमन एक घन्टासम्म पनि नभएमा स्वास्थ्यकर्मीको सहायताले आमालाई बेहोश गराई साल निकाल्नुपर्ने हुन्छ ।

यसो गर्दा सयकडा १—२ जनामा साल पाठेघरको मासुमै बिलिन भएको हुन्छ र यो सजिलैसँग निकाल्न सकिँदैन । यस्तो अवस्थामा अति नै रक्तस्राव हुने हुन्छ र ज्यानकै खतरा हुनसक्छ । यस्तो अवस्थामा ज्यान बचाउनका लागि यदाकदा पाठेघर नै निकाल्नु पर्नेसम्म पनि हुनसक्छ । यो यसै कारणले यस्तो हुन्छ भन्न गाह्रो छ । जे होस्, सालको कारण रक्तस्राव भएमा आमालाई प्रशस्त ग्रुप मिल्ने रगत दिनुपर्ने हुन्छ । लेखिका काठमाडौं मेडिकल कलेज सिनामंगलमा कार्यरत छिन् ।इकान्तिपुर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com