फरक डिजाइन र रंगका पहिरन

महालक्ष्मी सिलवाल :- पछिल्लो समयमा विदेशी डिजाइनले त्यहाँको बजार तताउन नपाउँदै नेपाली युवतीमाझ छाइसकेको हुन्छ। नेपाली बजारमा फरक डिजाइन र रंगका पहिरन फुटपाथदेखि सामान्य पसल हुँदै डिपार्टमेन्टल स्टोरसम्म रोजीरोजी किन्न सकिन्छ। हरेक महिलाका लागि फेसन स्पेशल नै हुन्छ।

सामान्यदेखि पार्टीसम्मका लागि विभिन्न डिजाइन र ब्रान्ड किन्ने महिलाहरूको भीड सधैंजसो बजारमा देख्न सकिन्छ। बजारमा महिलाहरूका लागि विभिन्न डिजाइनका क्याजुअल डे्रस उपलब्ध हुन्छन्। क्याजुअल ड्रेसमा पनि टिनएजर तथा उमेर ढल्किएकाबीच थोरै भिन्नता हुन्छ। हल्का जाडोले छोएको यो महिना लगाइने टिसर्टका भेराइटी पनि धेरै नै छन्, जसमा भी नेक टिसर्ट, राउन्ड नेक टिसर्ट, सिल्भलेस टिसर्ट, वनसोल्डर टिसर्ट, हल्टर टि-सर्ट, लङ टिसर्ट आदि प्रमुख मानिन्छन्। यस्ता टिसर्टमा बढी गाढा राम्रो भए पनि युवतीहरू आफूलाई सुहाउने रंग लान्छन् जसमा रातो, सेतो, मरुन, गोल्डेन, प्याजी, क्रिम, गुलाबी, स्काइ ब्लु आदि बढी चलेका छन्।

 टिसर्टको फेब्रिकमा कटन, सिफन, नेट र नाइनल प्रयोग गरिन्छ। स्लिभलेस टिसर्ट माथि लगाइने आउटर पनि उत्तिकै लोकप्रिय छ। टिसर्टको मूल्य ५ सयदेखि २ हजारसम्म पर्छ। क्याजुअल ड्रेसमा सर्टका पनि धेरै डिजाइन उपलब्ध छन्। अहिले सबैभन्दा बढी जिन्स सर्टको माग हुने वस्त्रालय कलेक्सन, बानेश्वरकी दीपा तण्डुकार बताउँछिन्। सर्टका डिजाइनमा चेक, स्टिन, क्वार्टर, प्रिन्ट, फुल आदि प्रचलित छन्। यसमा जिन्स, कटनको बढी माग हुने गरेको छ जसको मूल्य ७ सयदेखि १ हजार ७ सयसम्म पर्छ। त्यस्तै स्यान्डोको फेसन पनि चलेको पाइन्छ। स्यान्डोमा रातो, कालो र सेतो लोकप्रिय छ, तर यसमा आउटर प्रयोग गर्नुपर्छ। स्यान्डोको मूल्य २ सय ५० देखि ७ सयसम्म पर्छ।

क्याजुअल डे्रसमा पाइन्ट नम्बर एकमै पर्छ। हिजोआज पाइन्ट सबैका लागि छिटो-छरितो डे्रसका रूपमा पनि चिनिन्छ। पाइन्टका डिजाइनमा स्किनी, चुज, स्टेट, हाइवेस्ट र बेली प्रमुख छन् जसमा कालो, ब्लु, ब्राउन, ड्राक ब्लु रंगका बढी चलेका छन्। यसको मूल्य ५ सयदेखि १ हजार ७ सय रुपै याँसम्म पर्छ। हल्का जाडो हुने मौसममा पातलो ज्याकेट, फुल कटनको कोट, हाफ ज्याकेट पनि बजारमा छाएका छन्। यसमा बढी रातो, ब्राउन तथा कालो माग हुने दीपाले बताइन्। आउटरमा लङ र मिडियम नै बढी जान्छ, जसको मूल्य १ हजार १ सय ८० देखि २ हजार ९ सय रुपैंयाँसम्म पर्छ। स्कर्ट पनि युवतीहरूको प्यारो पहिरन हो। बजारमा विभिन्न रंग र डिजाइनका स्कर्ट आएका छन्। जिन्स, कोरियन, कटन, नाइलन र कटन मिस्क, लिटमोस, लङ, प्रिन्टेड, उलन, पार्टी वेयर आदि यसका प्रमुख भेराइटी हुन्। यस्ता स्कर्ट लेगिनमाथि र हाई हिलसँग लगाउँदा निकै ग्ल्यामरस देखिने भाटभटेनी गिज्जा सपका निमा लामा बताउँछन्।

स्कर्टमाथि सर्ट वा टिसर्ट लगाउँदा निकै स्मार्ट देखिन्छन्। स्कर्ट कालो, नीलो, गुलाबी, पहेंलो, ग्रे आदि बढी रंगमा बिक्री हुन्छन्। यी स्कर्ट चीन, कोरिया, थाइल्यान्ड र बैंककबाट आउँछन् जसको मूल्य १ हजार २ सयदेखि ३ हजार ५ सय रुपैयाँसम्म पर्छ। बजारमा फरक डिजाइनका कुर्ती र टप्स पनि उपलब्ध छन्। नेट, रेसम र कटनका टप्स र कुर्ती विभिन्न डिजाइनमा पाइन्छन्। यस्ता पहिरन लेगिन, कटन र जिन्सका फिटिङ पाइन्टसँग लगाउँदा निकै जम्छ। युवतीहरू सादा र भरेको दुवै किन्न आउने बानेश्वरस्थित रिब्लन बुटिककी डिजाइनर लक्ष्मी गिरी बताउँछिन्। टप्समा सितारा, स्टोन, डायमन्ड, जरी, मोती, पोते आदिले भरिन्छ। यसको मूल्य १ हजारदेखि ४ हजार ५ सय रुपैयाँसम्म पर्छ।

पार्टी विशेषका लागि भारी इम्ब्रोइडरी र प्याचवर्क गरिएको टप्स र कुर्तीको माग हुने लक्ष्मी बताउँछिन्। यो महिना हल्का जाडो भए पनि कुर्ता-सुरुवालको डिजाइन छोपेर हिँड्ने बाध्यता हुँदैन। त्यसैले फरक डिजाइन र रंगका कुर्ता-सुरुवाल लगाइन्छ। यसमा सिफन, जर्जेट, कटन, जे कार्ड, रस्लिक, साटन, रेसम, सिल्क, सिफन, क्रेभ सिल्क, इटालिन सिल्क, नेट, ब्रोकेट, टोफेटो र रेसम स्लिकको प्रयोग गरिएको पाइन्छ। लङ र सर्ट, स्टेट चुँडीदार, नर्मल पञ्जावी, पटियाला, अफगानिस्तानी तथा निलेन्थ कुर्ता-सुरुवाल यो सिजनको हट च्वाइस हुन्। अहिले अनारकली, आउटर भएको अनारकली र लेहेंगा स्टाइलको अनारकली जसमा चोली लामो र तल फ्रक स्टाइलका साथै स्टेट कुर्ता-सुरुवालको बढी माग हुन थालेको भाटभटेनीस्थित मच एण्ड मोरकी डिजाइनर उषा सुवेदी न्यौपाने बताउँछिन्।

 वन साइड मात्र आउटर भएका चुँडीदार कुर्ता पनि फेसनमा छ। कुर्ता-सुरुवाल शरीरको लम्बाइ र बनावटअनुसार फरक हुनुपर्ने डिजाइनरहरू बताउँछन्। यसमा भरेको र नभरेको दुवैको माग हुन्छ। रंग भने गुलाबी, ग्रीन, ब्लु, रातो, गोल्डेन र प्याजी धेरैको रोजाइ हुने न्यौपानेले बताइन्। पार्टी वेयर कुर्ता भने निकै भरेको हुन्छ। त्यसलाई सिपी, स्टोन, जरी, पोते, मोती आदिले भरिन्छ भने मूल्य ३ हजारदेखि ३० हजार रु पैयाँसम्म पर्छ। हरेक वर्ग, तह र तप्का अनि उमेरका महिलाहरूको प्यारो एवं साझा फेसन भनेको साडी र ब्लाउज हो । ब्लाउज पछाडि बढी खोलेको, डोरी भएको, लेस भएको बढी माग हुने न्यूरोड मखन गल्लीका डिजाइनर प्रेम देवले बताए। साडीमा भने किनारामा बढी भरेको माग हुन्छ। यसमा रातो, गुलाबी, गोल्डेन, ग्रीन, सेतोमा गोल्डेन मिक्स, स्काइ ब्लु र मिक्स प्रचलित छ।

साडीमा लहरा, फूलको बुट्टा एवं पातलाई विभिन्न रंगमा मिलाएर सुन्दर तरिकाले सजाइन्छ। साडी र ब्लाउजमा पनि स्टोन, मोती, डायमन्ड, सिपी, जरी र सितारा प्रयोग गरिएकोे हुन्छ। यस्ता पहिरन सामान्यदेखि पार्टी वेयरसम्म हुन्छन्। ग्राहकको शरीरको बनावट र अनुहारको आकारअनुसार साडी र ब्लाउजमा बुट्टा भरिन्छ। हिजोआज थे्रड वर्कभन्दा प्रिन्टेट साडी, कम्प्युटर वर्क साडी, प्याचवर्क, प्लेन साडी, लेस प्याचवर्कको माग धेरै छ। ब्लाउजमा विभिन्न डिजाइनका झुम्काको प्रयोग गरिन्छ। नेट, ब्रोकेट, भेल्भेट, जर्जेट, रेसम, फ्रेन्च सिफन, सिफन, सिल्क आदि साडीका प्रमुख फेब्रिक हुन्। यस्ता साडी र ब्लाउज से टको १ हजारदेखि २० हजार रुपैंयाँसम्म पर्छ। फेसनमा लेहेंगाको माग पनि उत्तिकै हुन्छ।

विशेष गरी टिनएजरहरूमाझ प्रख्यात लेहेंगामा हिपराइडर लेहेंगा, फिस्टेल लेहेंगा, कलिवाला लेहेंगा, ओभर कोट लेहेंगा, थ्री पिस लेहेंगा, आउटर लेहेंगा आदि फरक डिजाइनमा उपलब्ध छन्। यसको रंगमा रातो, गुलाबी, मरुन, पर्पल, एलो र पर्पल मिक्स, मल्टिकलर, सेतो, गोल्डेन र रेड मिक्स, रेड र ग्रीन मिक्स, फोर्जी र ग्रीन मिक्स र ग्रीन मिक्स बढी माग हुने प्रेमदेवले बताए। लेहेंगामा थ्रेड वर्क, प्याच वर्क, कम्प्युटर वर्क आदि गरिएको हुन्छ। यसमा स्टोन, सितारा, मोती, डायमन्ड, पोते तथा धागोले बुट्टा बनाइएको पाइन्छ। यसमा जर्जेट, ब्रोकेट, भेल्भेट, नेट तथा क्रेभको प्रयोग गरिन्छ। शरीरको लम्बाइ र मोटाइलाई ध्यानमा राखेर लेहेंगा तयार पार्दा हरेक युवतीको वास्तविक सौन्दर्य झल्कने उषा बताउँछिन्। यस्ता लेहेंगाको मूल्य ६ हजारदेखि ७० हजार रुपैयाँसम्म पर्छ फेसनको अर्को हिस्सा वन पिस र गाउन पनि हो। यो डे्रस विशेष गरी कम उमेरका युवतीमा जम्ने डिजाइनरहरू बताउँछन्।

विगतका दिनमा त्यति प्रचलनमा नआए पनि पछिल्लो समयमा यो सबै युवतीको रोजाइमा परेको पाइन्छ। त्यसैले कतिपय युवती सामान्य अवस्थादेखि पार्टी र चाडपर्वका लागि वन पिस डे्रस नै किन्छन्। युवतीहरू ब्रान्डभन्दा पनि वन पिसको डिजाइन र रंगमा संवदेनशील हुने सिटी सेन्टरस्थित फोर लेसकी मोनिका लामा बताउँछिन्। वन पिस विदेशी फेसन भए पनि नेपालमा बढ्दो मागका कारण नेपाली डिजाइनरहरूले आफै पनि फरक डिजाइन तयार पार्ने गरेका छन्। वन पिस स्लिभलेस, ट्युब, हल्टर, फ्लावर बर्फी वन पिस, वन साइडेड सोल्डर आदिमा उपलब्ध हुन्छ। यसमा स्टाइभ, स्टिन, डिजाइन, मिडिलेन्थ, निलेन्थ, थाइलेन्थ आदि डिजाइन किन्न बजारमा युवतीहरूको भीड नै लागेको पाइन्छ। त्यसमा पनि बर्फी वन पिस केही समयअघि मात्र फेसनमा आएको हो।

वन पिसमा फरक डिजाइनका आउटर प्रयोग गर्न सकिने मोनिका बताउँछिन्। पार्टी वेयरका लागि भने रातो, गुलाबी, पर्पल, सेतो, मरुन, गोल्डेन, कालो रंग बढी जान्छ। यसमा कतिपय युवतीको नजर नभरेको वन पिसतिर जाने गरेको पाइन्छ भने कतिपयले सुन्दर फूल, पात एवं लहराका बुट्टाको माग गर्छन्। पार्टी वेयर वन पिसमा फ्लावर, बो, प्याच वर्क, सितारा, बो, मोती, स्टोन, जरी, पोते र डायमन्ड आदिको प्रयोग गरिएको पाइन्छ। यसमा लाइक्रा, नेट मिक्स, जर्जेट, सिफन, नाइनल, कटन र सिल्क मिक्सजस्ता भेराइटी उपलब्ध छन्।

वन पिस रातो, बेबी पिंक, रोयल ब्लु, रातो र कालोको मिश्रण, कालो, गुलाबी, ग्रे, प्रिन्टेड, ब्लु र सेतो रंगमा बढी जान्छ। नेपालमा यो पहिरन चीन, हङकङ, थाइल्यान्ड, भारत आदि देशबाट आयात गरिन्छ। नेपालका डिजाइनरहरूले पनि केही वर्षयता फरक डिजाइनमा पार्टी वेयर वन पिस तयार पार्न थालेका छन्। यसको मूल्य २ हजार ५ सयदेखि २० हजार रुपैयाँसम्म पर्छ।सापताहिक;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com