महत्त्वाकांक्षी चलचित्र 'लंका' मा रेखा

नायिका रेखा थापाको महत्त्वाकांक्षी चलचित्र 'लंका' को देशव्यापी प्रदर्शन शुक्रबारदेखि प्रारम्भ भएको छ। निर्देशक श्याम भट्टराईको समेत ड्रिम प्रोजेक्ट भनिएको यो चलचित्रमा ओम प्रकाश अग्रवाल, मालती शाह, संजय कुटु तथा निर्देशक भट्टराईको समेत लगानी छ।

चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघका सदस्यहरूको छलफलबाट यो चलचित्रलाई क्यू प्रणालीबाट प्रदर्शन गर्न लागिएको हो। दुबै संघले मंसिर १ गते क्यू प्रणालीबाट अन्य चलचित्र प्रदर्शन नगर्ने निर्णय गरेको बताइन्छ। पछिल्लो समय कुनै पनि नेपाली चलचित्रले राम्रो व्यवसाय गर्न नसकिरहेको अवस्थामा 'लंका' ले राम्रो व्यापार गर्ने अनुमान चलचित्रकर्मीहरूको छ।

अधिकांश छायांकन निर्देशक भट्टराईको गृहजिल्ला सलार् हीमा गरिएको यो चलचित्रमा तराईमा बढ्दो हत्या, हिंसा र त्यसमा प्रहरी बलको भूमिकाको विषयलाई मुख्य विषयवस्तु बनाइएको छ। चलचित्रमा नायिका रेखा थापा प्रहरी निरिक्षकको भूमिकामा प्रस्तुत भएकी छिन्। यसअघिका थुप्रै चलचित्रमा भिन्न-भिन्न भूमिकामा प्रस्तुत भैसकेकी रेखालाई 'लंका' को प्रहरी अधिकृतको भूमिकामा दर्शकले मन पराउने अनुमान गरिएको छ। चलचित्रमा रेखाले तराईमा गुन्डागर्दी गर्नेहरूलाई एक-एक गर्दै तह लगाउँछिन्।

चलचित्रको प्रोमोमा समेत प्रहरी अधिकृत रेखालाई दर्शकले मन पराइसकेका छन्। 'लंका' मा रेखाका अतिरिक्त किशोर खतिवडा, नागेन्द्र रिजाल, ध्रुव कोइराला, नन्दु श्रीवास्तवसहित सर्लाही जिल्लाका स्थानीय कलाकारहरूले अभिनय गरेका छन्। निर्माता छविराज ओझाको लेखन तथा राजेन्द्र खड्गीको द्वन्द्व निर्देशन रहेको यो चलचित्र मदन कश्यपले छायांकन गरेका हुन्।

चलचित्र ' लंका' लाई चलचित्र सेन्सर बोर्डले 'युनिभर्सल' सर्टिफिकेट दिएको छ, अर्थात् यो चलचित्र सबै उमेरका दर्शकहरूले हेर्न सक्नेछन्। देशभरिका करिब ८० वटा चलचित्र हलमा प्रदर्शन हुने यो चलचित्रको बजेट करिब ८० लाख रुपैयाँ भएको बताइन्छ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com