निःशुल्क डिभी भरि पैसा असुल्नेको सूचना प्रहरीलाई दिने - अमेरिकी दूताबास

काठमाडौं, असोज १७ ,

अमेरिकी ग्रीन कार्डका लागि खुलेको निःशुल्क डिभी चिठ्ठा भर्दिएर पैसा असुल्ने व्यक्ति तथा कम्पनीको सूचना प्राप्त भएपछि कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाइने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ। डिभीबारे आधिकारिक जानकारी दिन दूताबासले वेबसाइटमार्फत गरेको प्रत्यक्ष अन्तर्क्रियामा दूताबास अधिकारीले यस्तो जानकारी दिएका हुन्।

व्यक्ति तथा कम्पनीहरुले ठगी गरेकोमा हामीलाई पश्चताप छ', प्रत्यक्ष च्याटमा एकजना सहभागीको जवाफ फर्काउँदै दूताबास अधिकारीले भने- 'हामी त्यस्तो सूचना पाउनासाथ नेपाल प्रहरीलाई सूचित गर्नेछौं।' निःशुल्क डिभी लटरीका नाउँमा भइरहेको ठगी बारे दूताबासले नेपाली नागरिक र कम्पनीलाई प्रत्यक्ष कारवाही गर्न नसक्ने पनि प्रस्ट पारेको छ।

अमेरिकी सरकारले सुरु गरेको निःशुल्क डिभी चिठ्ठा भरे बापत काठमाडौं तथा नेपालका मुख्य सहरहरुमा व्यक्ति तथा कम्पनीहरुले पैसा असुल्दै आएका छन्। यस विषयमा वेबच्याटमार्फत् नागरिकन्युजले राखेको प्रश्नमा दूताबास अधिकारीले भने- 'हामी व्यक्तिलाई आफैँ डिभी भर्न प्रोत्साहन गर्छौं।'

डिभी लटरीको विषयमा सर्वसाधारणलाई तथ्यगत सूचना प्रवाह गर्न बुधबार अपराह्न ४ बजेदेखि ५ बजेसम्म अमेरिकी दूताबासले सर्वसाधारणसँग प्रत्यक्ष वेब कुराकानी गरेको थियो सन् २०१४ को डिभी कार्यक्रम सुरु भइसकेको सन्दर्भमा अमेरिकी दूताबासको प्रत्यक्ष वेब कुराकानीमा सर्वसाधारणको उल्लेख्य सहभागिता रह्यो।

'डिभी चिट्ठामा सहभागी हुन कुनै शुल्क लाग्ने छैन,' काठमाडौंस्थित अमेरिकी दूतावासले सोमबार विज्ञप्ति निकाल्दै भनेको छ- 'भिसाका लागि योग्य हुन डिभी विजेताहरूले कम्तीमा बाह्र वर्ष बराबरको औपचारिक शिक्षा हासिल गरेको हुनुपर्दछ।' डिभी २०१४ को नतिजा सन् २०१३ मे १ देखि सन् २०१४ जुन ३० भित्र सार्वजनिक हुनेछ। डिभी विजेताका रुपमा छनौट भई केसीसीबाट दोस्रो चिठी प्राप्त गर्दैमा आफुलाई भिसा प्राप्त भएको नठान्न पनि दूतावासले सर्वसाधारणमा आग्रह गरेको छ।

'भिसा अन्तर्वार्ताको समयमा कन्सुलर अधिकृतले योग्यता पुगे नपुगेको तथा संयुक्त राज्य अमेरिकाको कानून बमोजिम डिभीका लागि योग्य रहे नरहेको निर्धारण गर्नेछ,' सोमबारको दूताबास विज्ञप्तिमा उल्लेख छ। डिभी आवेदन फाराम dvlottery.state.gov मा गएर भर्न सकिने छ। स्रोत - नागरिक :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com