सरकारी संयन्त्रका प्रत्येक अङ्ग पुरानो सोचबाट मुक्त हुनु पर्छ-प्रम

काठमाडौँ, असोज २५ ,

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको प्रशासनयन्त्रमा अपेक्षित रुपान्तरण हुन नसके पनि देशभित्र उद्यममैत्री एवम् लगानीमैत्री वातावरण बनाउन कृतसङ्कल्प रहेको बताएका छन् । गैरआवासीय नेपाली दिवसको उपलक्ष्यमा गैरआवासीय नेपाली सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै उनले सरकारी संयन्त्रका प्रत्येक अङ्ग पुरानो सोचबाट मुक्त हुनुपर्नेमा जोड दिए । 

प्रधानमन्त्रीको होस् वा विकास योद्धाको भूमिकामा आर्थिक विकासका लागि युगान्तकारी परिवर्तन गर्न आफू दृढ रहेको दोहोर्याउँदै भट्टराईले नकारात्मक सोचबाट नेपाली समाजलाई रुपान्तरण नगरेसम्म आर्थिक गतिविधि विस्तार गर्न कठिनाइ हुने विचार व्यक्त गरे । 'हाम्रो समाजमा नकारात्मक सोच निकै बढी छ। हामीले यसमा परिवर्तन ल्याउन आवश्यक छ,' आफ्नो छिमेकी र मित्रको समृद्धि तथा सफलतामा खुशी मान्ने र सकारात्मक प्रतिस्पर्धामा सरिक हुने संस्कारको विकास गर्नु अपरिहार्य भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने । 

आर्थिक समृद्धिको न्यायोचित वितरणबाट मात्र आर्थिक एवम् सामाजिक विपन्नताबाट मुक्ति मिल्ने बताउँदै उनले सामाजिक न्याय कायम गर्न सरकारले आफ्नो स्रोत र साधनले भ्याएसम्म सामाजिक सुरक्षाका कार्यक्रम कार्यान्वयन गर्दै आएको उल्लेख गरे । हामीले सोचेको उच्च दरको आर्थिक वृद्धिका लागि स्वदेशी पूँजी पर्याप्त नभएको तथा उन्नत प्रविधि र कुशल व्यवस्थापन पनि खट्किएकाले हाम्रा उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न अक्षम रहेका छन् भन्दै प्रधानमन्त्रीले नयाँ प्रविधि र व्यावसायिक दक्षतायुक्त व्यवस्थापनसहितको वैदेशिक लगानी आकर्षित गर्न हालै लगानी बोर्ड गठन गरिएको स्पष्ट गरे । 

'उच्च दरको आर्थिक वृद्धिलाई यथार्थमा परिणत गर्न सक्ने कम्तीमा ५० वटा लगानी आयोजनाको सम्भाव्यता अध्ययन गर्ने काम अन्तिम चरणमा पुगेको छ, विशेष आर्थिक क्षेत्रसम्बन्धी ऐनलाई सरकारले प्राथमिकतामा राखेको छ,' औद्योगिक क्षेत्रको पूर्वाधार विकास र उन्नत सडक सञ्जाल विकासमा सरकारी लगानी बढाइएको जानकारी दिँदै प्रधानमन्त्रीले भने । उहाँले विशेषगरी रोजगारीमूलक कृषि प्रशोधन, खानी तथा खानीजन्य उद्योग, पर्यटन, सूचना प्रविधि र जलविद्युत् उत्पादनको क्षमता विस्तारका साथै सार्वजनिक निजी साझेदारीमा ठूला पूर्वाधार निर्माण गर्न निजी क्षेत्रले आँैल्याएका नीतिगत एवम् प्रक्रियागत सुधार गर्न सरकार तत्पर रहेको बताए । 

 आगामी हिउँदमा 'लोडसेडिङ'को समय घटाउन सरकारले हरसम्भव उपाय अवलम्बन गरिरहेको र त्यसमा निजी क्षेत्रको सहयोग अपरिहार्य भएको बताउँदै उनले चाँडै नै ४४० केभी क्षमताको अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण गरिने जानकारी दिए । प्रधानमन्त्रीले भने, 'विद्युत् आपूर्तिका समस्या न्यून गर्न भारतसँग हाल जोडिएका सबै विद्युत् प्रसारण लाइन मर्मतसम्भार र स्तरोन्नति गरी आयात क्षमता बढाइँदैछ।' प्रधानमन्त्री डा भट्टराईले विदेशमा पौरख गरेर देशको गौरव र गरिमा बढाउन सफल गैरआवासीय नेपालीलाई स्वदेशमा लगानी गरी स्वजनको आर्थिक-सामाजिक उन्नयनका निम्ति ठोस कार्य गर्न आह्वान गरे । 

 उनले सरकार लगानीको प्रतिफल सुरक्षित गर्न र सिर्जित सम्पत्तिको निर्वाध उपभोग गर्न दिनेतर्फ कटिबद्ध रहेको दोहोर्यागउँदै समृद्ध नेपाल निर्माणको महायज्ञमा सरिक हुन आग्रह गरे । सङ्घका अध्यक्ष जीवा लामिछानेको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज वैद्य, सङ्घका संस्थापक अध्यक्ष उपेन्द्र महतोलगायतले मन्तव्य व्यक्त गरेका थिए । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com