म यसरि बाँचे (पड्दा जिउ नै सिरिंग हुन्छ...)


काठमाडौ, आश्विन १६ ,
विप्लव भट्टराइ :- हामी झापाको बिर्तामोड गएका थियौं । फिक्कलबाटै केही ढिलो हिँडेकाले बिर्तामोडमा नै साँझ पर्‍यो । गाडीको केही खराबी भएकाले ग्यारेजमा बनाएर साँझ छ बजे हिँडियो । 
कोल्वुङको कुटीडाँडा नजिक आएपछि अचानक भारी वर्षा सुरु भयो । हामी वर्षाको वास्ता नगरी अघि बढ्यौं । कुटीडाँडा पुग्दा पानी पर्ने क्रम अझ बढ्यो । गाडीहरू थुप्रै लाइन लागेर बसेका थिए । केही बेर रोकियौं । कुहिरोले बाटो देख्न मुस्किल परिरहेको थियो । तर हाम्रो गाडीको हेडलाइट राम्रो भएकाले अघि बढ्ने निधो गर्यौं ।
कुहिरोले छोपेको सडकमा विस्तारै मोटर अघि बढायौं । अचानक गाडी स्किट गर्‍यो । चालक रोशन तामाङले गाडी रोके । सडकमा ढुंगा देखिए । पहिला म उत्रिएँ अनि चालक र गाडी मालिक रवि गुप्ता । ढुंगा पन्छाएर हामी गाडीमा बस्यौं । गाडी स्टाट हुनासाथ छतमा ढुंगा बर्सियो । गाडी छेउमा पुगेको थियो । निरन्तर ढुंगा र माटो झरिरह्यो । म आत्तिए अनि होस हराएझैं भयो । छेउमा बसेका रवि ढोकाबाट हाम फाले । म के गरुँ र कसो गरुँ भन्ने भयो । चालकको पत्तो भएन ।
केही क्षणपछि म पनि निस्किएँ । साथीहरूको अत्तोपत्तो थिएन । पछाडि ट्रक देखेँ र त्यैतैतिर लागेँ । चालकले भाइ एता आइज भनेर बोलाए । त्यतिबेला म हिलोमा भासिएको थिएँ । विस्तारै त्यता जाने कोसिस गरेँ । ट्रकमा को-को थिए र के गरे भन्ने केही पत्तो भएन । चालकको इसाराअनुसार उनीतर्फ घस्रँदै लागेँ । पहिरोले हामीलाई पुर्दै छ भन्ने थाहा भइसकेको थियो । तर कता र कसरी भाग्ने भन्नेमा अन्योल भयो । विस्तारै हामी घस्रँदै अघि बढ्यौं । हाम्रो छातीसम्म हिलो आइसकेको थियो । आज बाँचिन्छ भन्ने लागेको थिएन । चालक दाइले मलाई पनि तान्दै अघि बढाए । अघिपछि पहिरो भरिरहेको थियो । हामी हर्कटेतर्फ बढ्दै गयौं । खुट्टा चुँडिए जस्तो भएको थियो । बल्लबल्ल हामी हिलोबाट निस्कियौं । केही पर गयौं । पहिरो झरिरहेको थियो । तर फेरि माथिबाट पहिरो झरेर मरिन्छ भन्ने डर कायमै थियो ।
तर वास्ता नगरी साथी खोज्न थाल्यौं । कयौंपटक रवि रवि भनेर बोलायौं तर आवाज आएन । मेरो विचारमा हामीभन्दा पछि आएका गाडीहरू त्यहीं अड्किएर र पहिरोको चपेटामा परे । केही नलागेपछि हामी करिब आधा किलोमिटर अघि आयौं र एउटा घरमा सबै कुरा सुनायौं । मलाई बाँचिन्छ भन्ने अलिकति पनि लागेको थिएन । बिहान आउँदा हाम्रो गाडी हिलोमा पुरिएको थियो र सडकबाट निकाल्ने प्रयास भइरहेको थियो ।
१८ वर्षीय कुमार मे१च २६१९ नम्बरको पिकअपका सहयोगी हुन् । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com