परीक्षा अघि नै डिनमार्फत प्रश्न पत्र आउट परिक्षा रद्ध

 धरान, असोज ३०,

रोहित राई :- एमबिबिएस प्रथम वर्षको वार्षिक (सप्लिमेन्ट्रीतर्फ) परीक्षाको प्रश्नपत्र परीक्षा शाखाको डिनमार्फत परीक्षाअघि नै विद्यार्थीले पाएको खुलेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आइतबार लिएको परीक्षा रद्द गरेको छ। प्रथम वर्षकी छात्रा आस्ना ठाकुरले आइतबार तेस्रो पेपर ए(कार्डियोभास्कुलर)को परीक्षा दिइरहँदा उनले परीक्षा हलमा राखेको नोटबुकमा पनि उस्तै प्रश्न र उत्तर भएको फेला परेपछि प्रश्नपत्र आउट भएको खुलेको थियो। उनलाई प्रतिष्ठानको परीक्षा शाखाका डिन डा.निर्मल बरालमार्फत प्रश्नहरू उपलब्ध भएको रहस्य पनि त्यतिबेला खुलेको थियो। 

परीक्षा निरीक्षक डा.कोपिला अग्रवालले परीक्षार्थी ठाकुरले परीक्षा हलमा ल्याएको नोटबुकमा परीक्षा सञ्चालन भइरहेको विषयको प्रश्नपत्रको दुरुस्तै प्रश्न र उत्तर सारेको फेला परेकी थिइन्। केरकार गर्ने क्रममा परीक्षार्थी ठाकुरले आफूलाई डिनले प्रश्न र जवाफ उपलब्ध गराएको बयान दिएकी थिइन्। परीक्षा हलमा ठाकुरबाहेक अन्य परीक्षार्थीसँग पनि प्रश्नको चिट फेला परेपछि उनले अन्य परीक्षार्थीलाई पनि प्रश्नपत्र बाँडेको खुलेको थियो। प्रश्नपत्र लिक भएको घटना सार्वजनिक भएपछि परीक्षा शाखाले आइतबार लिएको परीक्षा रद्द गरेको छ भने सोमबार हुने भनिएको तेस्रो पेपर ‘बी'को परीक्षा पनि रोक्ने निर्णय गरेको छ। 

दुवै विषयको नयाँ प्रश्नपत्र तयार गरेपछि मात्र पुनः परीक्षा सञ्चालन हुने प्रतिष्ठानका सहायक प्रवक्ता डा.पशुपति चौधरीले जानकारी दिए। यसअघिको परीक्षाबारे पनि केही शंकास्पद तथ्य भेटिए ती परीक्षा पनि रद्द हुनसक्ने उनको भनाइ छ। ‘प्रश्नपत्र लिक भएकाले परीक्षा शाखाले आइतबारको परीक्षा रद्द गरेको छ, आज(सोमबार) हुने भनिएको परीक्षा पोस्टपोन गरेको छ,' सहायक प्रवक्ता डा.चौधरीले भने, ‘पहिला भइसकेको परीक्षा पनि शंकाको घेरामा छ, पछि छानबिनको क्रममा त्यस्तो केही फेला पर्यो भने रद्द हुनसक्छ।' प्रश्नपत्र आउट भएको घटना सार्वजनिक भएलगत्तै आइतबार राति प्रतिष्ठानको कार्यकारिणी समितिको बैठक बसेको थियो। घटनाबारे समिति गठन गरेर छनबिन गरिने र दोषीमाथि कारबाही हुने प्रतिष्ठानका उपकुलपति डा.बिपी दासले बताए। 

 विवादमा मुछिएका डिन डा.निर्मल बरालले सोमबार प्रतिष्ठान प्रशासनसमक्ष डिन पदबाट राजीनामा बुझाएका छन्। उनको स्थानमा प्रतिष्ठानले डा.हिमाल संग्रौलालाई डिनको जिम्मेवारी दिएको छ। विवादित डा.बरालले भने आफूमाथि लगाएको आरोप झुटो भएको दाबी गदै छानबिनलाई सहज बनाउन पदबाट राजीनामा दिएको बताए। ‘प्रश्नपत्र आउट भएको सत्य भए पनि मलाई फसाउने काम भयो, नैतिकताका आधारमा मैले राजीनामा दिएको हुँ,' बरालले भने, ‘म आफैं पनि घटनाबारे छानबिन होस् भन्ने चाहन्छु।' बक्स गर्ने प्रश्नपत्र नोकबुकमा लेख्ने छात्रा आस्नाको बुबा डा.अमरनाथ ठाकुर र डिन बराल साथी हुन्। 

वीरगन्ज निवासी अमरनाथ यसअघि प्रतिष्ठानको प्याथोलोजीमा कार्यरत हुँदादेखि नै दुवैबीच घनिष्ट सम्बन्ध थियो। उनै घनिष्ट भित्र अमरनाथकी छोरी पहिलो वर्षको सबै पेपरमा फेल भएपछि सप्लिमेन्ट्री परीक्षामा उत्तीर्ण गराउनका लागि डिन बरालले पदीय आचरण विपरीत प्रश्नपत्र आउट गराएको प्रतिष्ठान स्रोतले जनाएको छ। 

स्रोतका अनुसार परीक्षा शाखाले सम्बन्धित विभागसँग प्रश्नपत्र माग गर्छ र विभागीय प्रमुख वा उसले तोकेको प्रतिनिधिबाट ती प्रश्नको ‘मोडेरेसन' गरिन्छ। विभागबाट यो काम हुन नसक्दा डिन आफैंले नै गर्ने प्रावधान छ। प्रश्न मोडेरेसन भएपछि डिनले स्वीकृत गरेपछि प्रश्नपत्र सिल गरिन्छ र परीक्षा हलमा मात्र खोलिन्छ। ‘तर, यसपटक डिन आफैंले प्रश्न मोडेरेसन गरेको रहेछ, र त्यतिबेलै प्रश्नपत्र आउट गरिएको हो,' स्रोतले भन्यो। नागरिक 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com