कविताः बुद्ध अवतार र नास्पाती I



बोटमा नास्पाती फलेको सबैले देखेकै हो पहिले,
नास्पातीको बोटमा बुद्ध फलेको नसुनेको कहिले !!
चीनमा एउटा किसानले देखाए यस्तो चमत्कार,
आफ्नो सफलता विश्वजगतमा गरे साक्षात्कार !!

हुवेइ प्रान्तको हान्दन शहरका, हाओ जियांघांग,
आफ्नो सफल परिश्रमले परेका छन्, साह्रै दंग !!
झण्डै दशहजार बुद्ध आकारका, नास्पाती फलाए,
अद्भूत सफलता देखाउँने, एक कृषक कहलाए !!

त्यसै बुद्धको आकारमा, फलेका होइनन् सबै यी,
चिचिलामै खास आकारको, साँचोमा ढालिए ती !!
बढ्दै गए फलहरु, साँचोको आकारमा खाँदिए,
पाकेर साँचो निकाल्दा, बुद्धको आकारमा भेटिए !!

परिश्रम र मेहनतले, किसानलाई दिएको साथ,
राम्रो दामको लागि सोच्दै छन्, बिदेश निर्यात !!
तर असजिलो, त्यो फल काटेर खानु बा पूज्नु,
खाउँ आस्था संकट, साँच्न गाह्रो कसरी बुझ्नु !!

बुद्धलाई कसैले, जुत्तामा स्थान दिने गरे घृष्टता,
कसैले फलको बोटमा फलाई देखाए उत्कृष्टता !!
कसैले उनको जन्म भूमीबारे, गर्छन् झूठो प्रचार,
ईश्वर हेर्ने फरकफरक आँखा, भएको यो संसार !!

जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः मैतीदेवी काठमाडौं

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com