काठमाडौ, भाद्र २० ,
कल्पना घिमिरे :- छ महिनादेखि यौनजन्य हिंसा खेपिरहेकी लतिलपुर हरिसिद्धिकी १४ वर्षे किशोरीलाई सिविसले सोमबार उद्धार गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठ र महिला विकास अधिकृत राधा रूपाखेतीको पहलमा उनको उद्धार गरिएको हो । हरिसिद्धिका ४४ वर्षे राजु महर्जनले छिमेकी बालिकालाई गत फागुनदेखि बलात्कार गर्दै आएको पीडित पक्षको आरोप छ ।
पीडक पक्षलाई कारबाही गर्नुपर्ने जाहेरी दिन खोज्दा महानगरीय प्रहरी परिसर ललितपुरले जाहेरी नलिएको संस्थाले जनाएको छ । 'तीन दिनदेखि पहल गर्दा पनि प्रहरीले जाहेरी लिएको छैन,' संस्थाका एक कर्मचारीले भने, 'पीडक पक्षले पीडितसँग मिलापत्र गराउन दबाब दिइरहेको छ ।'
पीडक महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । राजुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ललितपुर प्रहरी परिसरका एसपी वसन्त पन्तले कसैले भन्नेबित्तिकै उजुरी दर्ता नहुने बताए । 'प्रमाणित भएमात्रै दर्ता हुन्छ, प्रमाणित नभएका कुरालाई अनुसन्धानपछि मात्रै केस दर्ता गर्न सकिन्छ,' पन्तले भने, 'दुवै पक्षको बयान लिने काम सकिएको छ । पीडितको मेडिकल टेस्टका लागि पठाएका छौं । रिपोर्ट आएपछि उजुरी दर्ता गर्ने/नगर्ने थाहा हुन्छ ।'
पीडक महर्जनले हरिसिद्धि माविमा कक्षा सातमा पढ्ने बालिकालाई यौनदुव्र्यवहार गर्ने र बालिकाले नमाने शारीरिक यातना दिने गर्दै आएको बालिकाकी आमा सानुमाया महर्जनले बताइन् । 'छोरीलाई मैले भनेको नमाने तेरो बाबुआमा र तँलाई ध्वस्त पार्दिन्छु, मार्छु भन्ने धम्की दिँदै आएको रहेछ,' उनले भनिन्, 'मागेजति पैसा दिन्छु मिलापत्र गरौं भनेर दबाब दिइरहेका छन् ।'
यस घटनाबारे केन्द्रीय बालकल्याण समिति, मानव अधिकार आयोगमा छलफल गरी पीडक पक्ष्ा विरुद्ध मुद्दा हाल्ने तयारी गरिरहेको छ । 'हाम्रो पानी लिने धारो एकै ठाउँमा छ । छोरी घरबाहिर निस्कने बित्तिकै आक्रमण गर्ने गरेको रहेछ,' आमा सानुमायाले भनिन्, 'मध्यरातमा पर्खालबाट मेरो घरमा चढेर छोरीलाई मुख थुनेर लिएर जाने गरेको रहेछ ।' गत भदौ ९ गते छोरीले भनेपछि मात्र थाहा पाएँ । डराएर कसैलाई केही भनेकी थिइन । त्यसपछि हरिसिद्धिमा भएको आमा समूहको भेलामा मैले यस्तो समस्या सुनाएपछि उहाँहरूको सहयोगमा छोरीको उद्धार गरिएको हो ।'
बालिकालाई पीडककी कान्छी श्रीमतीले समय/समयमा कपडा धुनका लागि भन्दै घरैमा बोलाउन आउने गरेको पीडितका दाइ राजीव महर्जनले बताए ।
इकान्तिपुर
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै