निशाकी दिदी चन्द्रमाला मेरी साथी हुन् । २०३६ सालतिर चन्द्रमालाले निशालाई चिनाइदिएकी हुन् । त्यतिबेला उनी सानै थिइन् ।
२०३९ सालतिर 'चखेबाले आकाश माग्छे...' नाटकमा हामीले निशालाई एउटी बालिकाको भूमिकामा अभिनय गराएका थियौं । उक्त नाटक म र बद्री अधिकारीले संयुक्त रूपमा निर्देशन गरेका थियौं । पछि निशा र म नाटकमा जोडीका रूपमा देखिन थाल्यौं ।
कसैसँग नडराउने, खुलेर आफ्नो विचार व्यक्त गर्ने निशाको बानीबाट म प्रभावित हुँदै गएँ । उनी प्रतिभाशाली व्यक्ति हुन् । मैले प्रेम प्रस्ताव राखेपछि २०४४ सालतिर हाम्रो विवाह भयो । म निकै अव्यवस्थित मानिस हुँ । यस्तो अव्यवस्थित मानिस पनि उनको साथले सफल भएँ । घरमा मैले अहिलेसम्म केही हेर्नुपरेको छैन । उनी आफ्नो काम मेहनतका साथ गर्छिन् ।
गुरुकुल खोलेपछि मात्र उनले वर्कसपहरूमा भाग लिन थालेकी हुन् । तीन दर्जन नाटकमा अभिनय गरिसकेकी निशाले मैले निर्देशन गरेका नाटकमा बढी अभिनय गरेकी छिन् । उनले 'पुतलीको घर' नाटकमा गरेको अभिनयबाट म निकै प्रभावित छु । निशाले डेनमार्कबाट द्वन्द्वको शान्तिपूर्ण समाधान विषयमा अध्ययन गरेकी छिन् । उनको जीवनको धेरै अध्याय नाटक मञ्चनमै बितेको छ ।
म निर्देशकका रूपमा निशालाई सधै नाटकका विविध पात्रका रूपमा देख्छु । कहिलेकाहीँ त उनी मेरी श्रीमतीभन्दा नाटकका पात्रमा अझ बढी सजीव लाग्छिन् । निशा नेपाली नाट्य जगत्लाई निरन्तरता दिइरहेकी एक मात्र महिला कलाकार हुन् ।
सकारात्मक पक्षः अभिनयकी आशुकवि ।
सुझावः आफूलाई अपडेट राख्नु आवश्यक ।
सुनील पोखरेल, कलाकार
साइनोः श्रीमान् (नारी )
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै