इटहरी, भाद्र २७ ,
भिम घोमिरे :- छोरी मात्रै भएको घरकी कान्छी छोरी काली । दिदीबैनीले डकेर चिन्तामा परेकी काली स्कुलको साटो मायाप्रीतिको बाटोमा लाग्छिन् । पराई युवकको साथ लागेर गए पनि जीवनले सुखको मुहार देख्ने दिन आउँदैन ।
कालीका पति विदेश जान्छन्, उतै अर्को बिहे गर्छन्, घरले उनलाई अपमान गरिरहन्छ । माइती जाउँ भने सुटुक्क भागेर आएकाले बाटो बन्द छ । विष खान्छिन् तर मर्न पाउँदिनन् । अन्ततः माइतीले नै बचाउँछ । जीवनको अध्यायमा अर्को चरण सुरु हुन्छ ।
कथा काली अर्थात् शर्मिला चौधरीको हो । उनी अहिले इटहरीमा रहेर सवारी चलाउने काम सिक्दै छिन् । उनैले आफ्नो कथालाई आफैं मूल पात्र भएर मंगलबार कलालयको मञ्चमा नाटकको रूपमा उतारिन् । पूर्वाभ्यास क्रममै बिसन्चो चौधरी हातमा क्यानुला लगाएरै पनि स्कुले छात्रादेखि गृहणी हुँदासम्मका पोसाकमा देखा परिन् । मञ्चन भइरहँदा दर्शकले काली नामकी पात्रको अभिनय बेजोड रहेको तारिफ गरे । कालीका वेदना, विरह र पीडा भावमा रसाएका आँखाका कुरा जस-जसले नजिकबाट चिनेका थिए, उनीहरूले मात्रै बुझे ।
'शर्मिला अहिले ड्राइभिङ सिक्दै छिन्,' कलालयका संयोजक सोनु जयन्तीले भने, 'उनको जीवन नयाँ शिराबाट सुरु भएको छ । उनको भोगाइ नै नाटकमा उतारिएको हो ।' इटहरीमा नाटक मञ्चन गर्न उपयुक्त स्थान छैन । तर, कलालयका नामबाट संगठित कलाकर्मीले गृहिणीलाई भेला गरेर एकदिने नाटक मञ्चनको अभ्यास थालेको हो । होम थिएटरका नामबाट मंगलबार एउटै बसाइमा चौधरीको कथासँगै संक्षिप्त ६ वटा नाटक मञ्चन गरिए । 'जसका कथा बन्दैनन् । जो घर सम्हाल्छन् उनीहरूका कथा यी शृंखलामा देखाइएको हो,' कवि मनु मञ्जिलले भने । मञ्जिलको 'ल्याम्पपोस्टको खसेको जुन' संग्रहको 'उनी कवितामा जीवनको रंगले लेख्छिन्' बाट सुरु भएको प्रस्तुतिले कोलकाताको शान्ति निकेतन सम्झाएको प्रा.डा अभि सुवेदीले बताए । उनले भने, 'त्यहाँ टैगोरका प्रस्तुतिलाई महिलाहरूले गरेको मञ्चन इटहरीले सम्झायो ।'
कलालयको आधा दर्जन प्रस्तुतिमा बालबालिका र महिला गरी ४८ जनाले भाग लिए । जेसिज भवनमा आयोजित होम थिएटरमा सडक बालबालिकाका कथा, क्रान्तिचेतका गीत र संगिनी गायन पनि प्रस्तुत गरिए । संगिनीमा टाउकोमा अम्खोरा बोकेर ७५ वषर्ीया वेदवती पौडेलले गरेको प्रस्तुति कुनै पनि पोख्त कलाकारभन्दा कम थिएन । सहभागी कलाकार सबैको पहिलो प्रस्तुति भए पनि धेरैजना रंगमञ्चका लागि सम्भावना बोकेकाहरू देखिएको कवि सुमन पोखरेलले बताए । इकान्तिपुर