महिलाको भएर पनि महिलाको हुन नसकेको पर्व – तीज I

कविता घिमिरे:-  महिलाहरुको महान् चाड तिज नजिकीदै गर्दा बजारमा, नयाँ कपडा र गहना खरिदमा नारिको घुइचो देखिन थालेको छ । तिजलाई नेपाली नारीहरुले सबैभन्दा महत्वपूर्ण चाडकोे रुपमा मनाउदै आएका छन् । तिज आउनुभन्दा २÷३ महिना अघिदेखि नै महिलाहरु पैसाको जोहो गर्न अनि यसपाली तिजलाई कसरी मनाउने भन्ने बारेमा योजना बनाउन थाल्छन ।

सक्ने र हुनेखानेको तिजको तडक भडक गतिलै हुन्छ भने नसक्नेले ऋणे गरेर भए पनि तिजलाई विषेश महत्वकासाथ मनाउने गर्दछन् । जसरी भएपनि तिजलाई रमाईलोसँग स्वागत गर्छन नारीहरुले ।

आजभोली तिजलाई भेटघाट, नाचगान र रमाईलोको लागि मनाइने पर्वको रुपमा हेर्न थालिएपनि यसको आफ्नै पौराणिक महत्व पनि रहेको छ । हिन्दु पुराणमा उल्लेख भएअनुसार पार्वतीलार्य उनका संगी जया, बिजया आदी नाम गरेका साथीहरुले घरबाट हरेर भगाइ घनघोर जङ्गलमा लगी महादेव पति पाउने इच्छालाई पुरा गराउन उनैको पुजा आराधना गराई जग्राम बसी बालुवाको शिव लिङ्ग बनाई पुजा गरी रातको समय नाचगान गरी विहान सुर्योदयमा नित्य जल चढाउदा श्री महादेवले प्रत्यक्ष दर्शन दिई पार्वतीलाई पत्नीको रुपमा स्वीकार गरेको पाईन्छ ।

हरण वा भगाएर लगेको हुनाले यसको नाम हरितालिका हुन गएको हो । यही परम्परालाई अंगाल्दै विवाहित महिलाहरु आफ्नो अखण्ड सौभाग्य र पति तथा आफ्नो सन्तानको दिर्धायु, सु–स्वास्थ्य र सफलताको कामना गर्दै निराहार, पानि पनि नपिइकन ब्रत बस्ने चलन अझै पनि रहेको छ । यति मात्र नभएर अविवाहित महिलाले राम्रो बर अनि परिवारको कामना गर्दे ब्रत बस्ने चलन पनि रहेको छ ।

तिजलाई विषेश गरि माईतिको चाड पनि भन्ने गरिन्छ । यसैक्रममा हरितालीका तिज मनाउन महिलाहरु आ–आफ्नो माईत जाने साथीसंगी भेट्ने तथा नाचगान गर्नुका साथै मीठा मीठा परिकार बनाई दर खाने र ख्वाउने गर्दछन् । बर्षदिनमा घरको काम छोडी आनन्दले आमा बाबाको न्यानो काखमा बस्न पाउदा कसलाई पो रमाइलो लाग्दैन र ? आफ्नो पीडा बिसाउन अनि रमाइलो गर्न यो तिज आउने दिनको प्रतिक्षामा हुन्छन नारीहरु । बर्षौ बर्षदेखि चलिआएको यो हरितालीका तिजलाई नारीहरुले हर्ष उल्लासको सथामा मनाउने गर्दछन् । बर्षमा एक दिन भएपनि खुलेर नाच्न गाउन रमाउन चाहन्छन् । सधैभरी पिल्सीएर आफन्तकै गुहार्तन र यातना सहेर मनको इच्छा मनमै दबाई सासु, ससुरा, नन्द, देवर र श्रीमानलाइ रिझाउँदै आएपनि यस दिन गीतको माध्यमबाट आफ्नो मनको पीडा पोख्ने गरेको पाईन्छ तीजको गितमार्फत् ।

हाम्रो रितीरिवाजलाइ हेर्ने नै हो भने हाम्रो समाजमा हिजो आज नारी पुरुष बराबर भनेता समाजमा पुरुष प्रधानताको धङ्धङी अझै पनि रहेको छ । सामाजिक कुरितीका कारण परिवार भित्र झेल्नु परेको अल्झन र अफ्ठ्याराहरुले नारीहरुलाई अझै पनि उति नै बन्धनमा राखेका छन् जति पुरुषहरु स्वतन्त्र छन् । बाहिरी रुपमा नारी स्वतन्त्रताको वकालन गर्ने पढेलेखेको पुरुषले पनि नारीलाई त्यति नै दबाएर राखेका उदाहरणहरु आजकल पनि प्रसस्त भेटिन्छन् ।

अझै पनि एउटा गृहिणीलाई हेर्ने हो भने कति पिल्सीएकी छे उ परिवारमा । बस्ने घर छ, खानलाई खाना पनि नभएको होईन तर उसको स्वतन्त्रतालाई सधै दबाईएको हुन्छ । सबैले आफ्नो चाडबाड आफ्नो तरिकाले मनाउन पाउँछन् तर जब तिज आउँछ उसको माइत जाने बेला हुन्छ तब उसको छोरा छोरीको पढाई अगाडी आउँछ, श्रीमान्को बिदा मिल्दैन, सासुलाई माईत जानुपर्ने हुन्छ, तिज मान्न घरमा आउने नन्दको स्वागतार्थ तम्तयार भएर बस्नु पर्छ । झण्डै अघिल्लो तिज देखि नै अर्को बर्षको तिजमा माईत जाने सपना बुनेर बसेकी बुहारीलाई मिल्छ त केवल त्यही सान्त्वना – ‘यो पटक नजाउ नत अर्को बर्ष जाउली’ कसले बुझ्ने उसको ईच्छा, उसको मर्म ?

घर गृहस्तीलाई कामको रुपमा नलिने हाम्रो सामाजिक परिवेशमा जागीरे महिलाको पनि पीडा पनि कम छैन ।
विहानभरि घरको काम गरेर थकित भयो अफिस जाने बेला हुन्छ दिनभरी अफिसमा खट्यो अनि एकछिन आराम गर्ने सोच बनाउदै घर छिर्न पाएको छैन श्रीमानको फर्माइस सुरु हुन्छ ‘आज अफिसबाट एकदमै थाकेर आईयो एक कप चिया खान पाउँ न, आमाले पनि दिउसो केही खानु भएको रहेनछ अनि फेरि छोरो नि स्कुलबाट फर्किने बेला भयो खाजा पनि बनाउ है’ । फर्माइसको श्रृंखला अझै जारी रहन्छ ससुरा बाले अफिसका हाकिम र अन्य कर्मचारीहरुलाई तिजको दर खान घरै बोलाउनु भएको छ, त्यसको तयारी गर्नु प¥यो रे । सक्दिन भनौ जागिर खाएर ठुली मान्छे भइस् भन्ने आरोप आउँछ । यही हो त नारीको स्वतन्त्रता ?

विदेशीएका नारीको पीडा अझै ठुलो छ । परिवारको आर्थिक स्थित सुधार्न सकिन्छ कि भनि आफ्नो काखको बच्चा अनि सबै आफन्तको माया मारेर विदेशीएकी नारीको त पीडा पोख्ने ठाउँ पनि हुन्न । आफ्नो इच्छा चाहना लाई भित्रै दबाएर घर परिवारकै लागि विदेशीनु परेको अवस्थामा पनि उनीहरुले कुरा नबुझेको देख्दा साच्चै नै दिक्क लागेर आउँछ । विदेशमा त दुख गर्नै पर्दैन, पैसा त रुखमा फल्छ जस्तो सोच्छन् । ससुरालाई ऋण तिर्न, सासुलाइ नौ गेडि बनाउन, नन्दलाई चुरा अनि देवर लाई मोटरसाईकल । श्रीमानले त कुरा बुझ्लान् कि भन्यो उहाँको गफ पनि आईफोनको फर्माइसबाट सुरु हुन्छ । कति सरलतासँग गर्छ्न यि सबै कुरा तर कसले बुझ्ने उनको मर्म । तिज आउदैछ तिमीलाई के पठाइदिउ, के कसरी हुन्छ रमाइलो गर्नु भन्न त कहिले नआउने ।

जे जस्तो भए पनि विदेशमा रहेका नेपाली महिलाहरुले आफ्नै किसीमले तिज मनाउने गरेको पाईन्छ । मनभित्र रहेका सबै पीडालाई भुलाएर, सामाजिक कुरीतिका कारण आफुले भोग्नु परेका समस्या अरुले भोग्नु नपरोस् भन्नका खातिर थोरै भएपनि सामाजिक चेतना फैलाउने किसीमले तिजलाई मनाउने गरेका छन् विदेशीएका चेलीहरुले । विदेशमा माइतिको तिर्सना मेटाउन, साथीसंगी भेटघाट गरेर, दिदी बहिनीको नाता जोडेर, दुःख सुख साट्दै तिज मनाउने चलन रहेको पाईन्छ । अवस्था यस्तै छ, तर पनि भिन्न परिवेश अनि संस्कार भएको परदेशमा आफ्नै किसीमले यस्ता चाडबाड मानेर आफ्नो मौलिकतालाई जोगाईराख्न परदेशमा पनि सधै उत्साहित हुन्छन नेपाली महिलाहरु ।

तिजका सन्दर्भमा रहेका कुसंस्कार हरु अनि विभिन्न सामाजिक कुरितीका कारण महिलाहरुले भोगिरहनुपरेको समस्याको अन्त्य यसै तिज देखि सुरुहोस् भन्ने कामना सहित हरितालीका तिजको स्वदेश तथा विदेशमा रहने सम्पूर्ण दिदी बहिनीहरुमा हृदयदेखी मंगलमय शुभकामना !

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com