कति सजिलो छ मानव मृत्युमाथिको व्यापार ? By- विष्णु गौतम (अध्यक्ष-लक्ष्मी प्रतिष्ठान)

मिति २०६९ श्रावण २३ गते बुटवलबाट काठमाण्डौ आउँदै गरेको लु १ ख ७०५१ नम्बरको गाडीको ड्राइभर निदाउनको कारण गाडि दुर्घटनाग्रस्त हुँदा १२ जनाको ज्यान गयो, २६ जना घाइते भए । दुर्घटनाको कारण बुझेर मेरा एक मित्रले भन्दै थिए– एउटा साहुजीको लापर्वाही भनौं वा सानो चित्तले काम गर्दा त्यत्तिको ठूलो क्षति हुन पुग्यो । एउटै ड्राइभर राखेर धेरै ज्यान लिनेहरुलाई जनताले नै सडकमा लाम राखेर तिनीहरुमाथि गाडि दौडाउनु पर्ने – उनी आक्रोस पोख्दै थिए । 

 नेपाल जस्तो भौगोलिक बनावट भएको देशमा लामो रुटमा रात्री बस चलाउँदा एउटै ड्राइभर राखेर रातभर गाडि चलाउँदा ड्राइभर थकान र निन्द«ाले सुस्ताउन पुग्दछ । यो घटनामा पनि त्यही भएको बुझिन्छ । सायद आफ्नो जिम्मेवारी देखाउने साहुजी भएको भए २ जना ड्राइभर राखिन्थ्यो होला र त्यो दुर्घटनामा पचासौं जना टुहुरा हुने थिएनन् होला, कयौंले सन्तान गुमाउनुको पीडा खप्नु पर्दैनथ्यो होला र कयौंले उपचारका लागि घरजग्गा धितो राख्नु पर्ने थिएन होला ! हुन त यो दुर्घटनामा साहुजीको पनि सर्वस्व गएको जस्तो देखिन्छ तर ऊ त विमा कम्पनीको कारण सुरक्षित हुन्छ । यत्रो हत्याको वातावरण बनाउनेलाई कारबाही भने नेपालमा हुने गरेको छैन । त्यस्तालाई कारबाही गर्ने कानून पनि नेपालमा बनेको छैन । यस्तै कानूनको अभावले गर्दा दुर्घटनामा सयौं मानिस मारेर पनि उन्मुक्ति पाउने अवसर नेपालमा छ । 

केही हप्ता अगाडिको कुरा हो, विविसि नेपाली सेवा कार्यक्रममा यस्ता आवाज यातायातकर्मिहरुबाट उठाइएको थियो जुन कार्यक्रममा म लगायत धेरै नै जिम्मेवार महानुभावहरुको उपस्थिति थियो । अझै स्मरण गर्न योग्य कुरा त यो थियो कि बस व्यवसायी संघका अध्यक्षले मजदुरहरुको आवाजलाई दबाउँदै यस्तो हुँदै नभएको आरोप मात्र लगाईएको भनी कुर्लिरहनु भएको थियो । साथमा भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाजिले समेत यस्तो दुर्घटना हुने देश नेपाल मात्र हो र ? भनेर गैरजिम्मेवारी देखाउनु भएको थियो । कारण जे भए पनि म आफु भने सडक दुर्घटनामा दुई जना जवान छोरा गुमाईसकेको मानिस हुँ । 

कहिं कतै त्रुटि भएर नै दुर्घटना भएको थियो र हामी मर्माहत हुन पुग्यौं । तर दुर्घटनापछि भने दुर्घटना कसरी रोक्न सकिन्छ ? अरु कसैले हामीले जस्तो पीडा झेल्नु नपरोस् भनेर यतिखेर नेपालमा सडक दुर्घटना कम गराउन सकिने विषयमा अध्ययन गरिरहेका छौं । र, अति आवश्यक देखिएका केही कार्यक्रमहरु लक्ष्मी प्रतिष्ठान नामक संस्थाबाट गरिरहेका छौं । हाम्रो दुई बर्षको अध्ययनले निष्कर्ष निकालेको छ कि सडक दुर्घटना हुने मुख्य कारणहरु भनेको ओभर कन्फिडेन्स, सवारी नियम उल्लघंन, सडक व्यवस्थापन गर्न नसक्नु, र विशेष गरी लामा रुटका गाडिहरुमा ड्राइभर नबदली एकै जनाले मात्र चलाउनु आदि छन् । सडकमा काम गर्ने केही प्रहरीहरु गैरजिम्मेवार देखिएपनि धेरैले दिलोज्यानले काम गरिरहेका छन् । १२ लाख ८० हजार सवारी चापलाई हेर्दा उनीहरुको ३५०० को संख्या एकदम न्यून हो । 

 अहिले सडक यात्रा यत्ति असुरक्षित बनेको छ कि परिवारको कुनै पनि सदस्य निर्धारित समयभन्दा २० मिनेट मात्र ढिलो भयो भने पनि सबैको ध्यान पहिला सडकतिर नै जान्छ । कतै यो रुटमा दुर्घटना त परेन भनी पहिला आफन्त हिंड्ने सडकमा ध्यान पु¥याउँछन् । तर त्यही ठाउँमा आफुले सवारी चलाउँदा होस्, पैदल यात्रा गर्दा होस् नियम पालना गर्न जिम्मेवार हुँदैनन । वातावरणलाई सुधार गर्न जुट्नु भनेको त धेरैका लागि “कागलाई बेल पाक्यो, हर्ष न विस्मात !” भनेको अवस्था छ । सडकमा अराजकता यत्ति बढेको छ कि आन्दोलनको पहिलो निशाना नै सडक बन्दछ । यही सडकमा ढुंगा फालिन्छ । टायर यहि सडकमा बालिन्छ । कहिले पुरा चक्का जाम गरिन्छ त कहिले यही सडकमा टुक्रे बन्द हुन्छ । 

केही दिनदेखी नेकपा एमालेको युवा दस्ताले सडकलाई विहान ६ बजेदेखि १० बजेसम्म बन्द गरेर सर्वसाधारण, विद्यार्थी र जागिरे सबैलाई सास्ती खुवाए । हुँदाहुँदा यो लेख लेखिरहँदा यातायात व्यवसायी स्वयम्को बन्द रे । श्रावण २६ गतेको यो दिनमा यतिखेर सडक भाडाका गाडी विहीन छ । सडकमा सुधार ल्याउनका लागि ट्राफिक प्रहरीले चलाएका मापसे, सिवे लगायतका केही अभियान निक्कै सफल भएका छन् । सहरी सडक दुर्घटनाको संख्या निक्कै घटेको छ । तर खै किन नपचेको हो यातायात व्यवसायीहरुलाई यो सुधार ? लापरबाही र गल्तीका लागि तिर्नुपर्ने रकम लगायतका कुराको विरोध गर्दै सवारी साधन नै ठप्प पारेर के चाँही सावित गर्न खोजेका छन् कुन्नि ? यसबाट त उनीहरुको सामाजिक, पेशागत सबै जिम्मेवारीबाट विमुख भएको मात्र देखिन्छ । 

समस्याको समाधानमा सरकार पनि उदासिन छ । सरकार आफैं आफ्नो जिम्मेवारीबाट चुकेको जस्तो देखिन्छ र अन्य पक्षहरुलाई पनि जिम्मेवार गराउन नसकेको स्पष्ट छ । यसरी निमुखा हामी जनता सधैं मर्कामै छौं । साढेको जुधाइमा बाछाको मिचाइ भने झैं हामी सधैं दोहोरो मर्कामा छौं । यतिखेर आफ्ना पाँच कार्यक्रमहरु – बाल शिक्षा, महिला सशक्तिकरण, सीप विकास, स्वास्थ्य तथा सवारी सचेतना– लाई मुख्य एजेण्डा बनाई अगाडि बढिरहेको लक्ष्मी प्रतिष्ठानले सवारी दुर्घटना कम गराउन सकिने केही कार्यक्रमहरु तयार गरिरहेको छ । त्यसलाई असोज १ गतेभित्र सार्वजनिक गर्ने निर्णय गरेको छ । यि कार्यक्रमहरुलाई सफल गर्न सकिएमा करिब ६० प्रतिशत दुर्घटना कम गराउन सकिनेछ । यद्यपि यसका लागि इमान्दारी साथ कर्तव्यनिष्ठ भएर अगाडि बढ्नुपर्ने हुन्छ । 

लक्ष्मी प्रतिष्ठानको तर्फबाट प्रतिज्ञा गर्नुपर्दा उल्लेखित सबै कुरा गर्न प्रतिष्ठान प्रतिबद्ध छ । किनभने सडक दुर्घटनामा नै दुई जना जवान तथा अन्तराषर््िट्रय सम्मान समेत पाएका छोराहरु गुमाएर उनीहरुकै सम्झनामा यो संस्था स्थापना भएको हो । उनीहरुको विछोडले हामीलाई पुग्न गएको क्षति र पीडालाई कसैले झेल्नु नपरोस् भन्ने मान्यता राखी हामी काम गरिरहेका छौं । भोलि प्रतिष्ठानद्वारा सडक दुर्घटना न्युनिकरणका लागि गरिने अभियानको योजना तुहीन सक्ने मुख्य आधार भनेको यसमा लगानी गर्नुपर्ने रकम नै हो । हामीलाई यतिखेर विश्वास छ कि नेपाल सरकार लगायत विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थाहरु सबैले सघाउनु हुनेछ । 

अहिलेको सामाजिक राजनितिक माहौल प्रतिकुल भएर सफल हुन नसके पनि सन्तान हुने लाखौं नेपालीहरुसंग हामी हात थापी पुरा गर्नेछौं । उनीहरुले सय दिंदा हामीले लाख पाउनेछौं, हजार दिंदा करोड । अन्ततः हाम्रो सडक न्युनिकरण अभियान सफल हुनेछ । परिणाम– हजारौं मानिसहरुको जिउज्यानको सुरक्षा हुनेछ । आशा गरौं आगामी दिनमा हामीले अखबारको मुख्य पृष्ठ र विद्युतिय संचारका हेडलाइनमा दुर्घटनाका खबर आउने छैनन् । हाम्रो यात्रा सडकमा सुरक्षित बनाउनका लागि तपाई हामी सबैको योगदान जरुरि छ । हामी नागरिक दायित्व र जिम्मेवारी पुरा गरौं, व्यवसायी र सरकारलाई पनि तिनीहरुको दायित्वनिर्वाह गर्न झकझकाउँ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com