विसं २०६९ वैशाख १ गतेदेखि भदौ मसान्तसम्म पाँच महिनामा बाढीपहिरो तथा अविरल वर्षाका कारण १ सय २ जनाको मृत्यु हुनुका साथै ४३ जना हराइरहेका छन्।
सञ्चार मन्त्रालयमा आज आयोजित प्रवक्ता पत्रकार भेटघाट कार्यक्रममा गृहमन्त्रालयका सहायक प्रवक्ता एकमणि नेपालले सो अवधिमा झाडापखालाबाट ३३ जनाको र चट्याङबाट ८९ जनाको मृत्यु भएको जानकारी दिए। नले नेपाल प्रहरीमा लैङ्गिक हिंसाविरुद्धको कार्ययोजना २०१० कार्यान्वयन गर्नका लागि विभिन्न पदमा एक हजार ४१ दरबन्दी सिर्जना गर्ने गरी नेपाल सरकार मन्त्रिपरिषद्बाट भदौ ११ गते निर्णय भएको बताए।
रक्षा मन्त्रालयका प्रवक्ता द्वारिकाप्रसाद आचार्यले २०६९ भदौ महिनाभरि मुलुकका विभिन्न स्थानमा रहेका सर्पदंश उपचार केन्द्रबाट १ सय ७३ जनाले सेवा प्राप्त गरेको बताए। उक्त सेवा प्राप्त गर्नेमध्ये झापा जिल्लाबाट ८१ जना, नवलपरासीबाट १२ जना, सिरहाबाट ११ जना, कपिलवस्तुबाट छ जना र मोरङबाट तीन जना रहेको उनले जानकारी गराए।
परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता डा दुर्गाबहादुर सुवेदीले मन्त्रालयले भदौ महिनामा राहदानी, ट्राभल डकुमेन्टलगायत जारी गरी रु १८ करोड पाँच लाख ७७ हजार ८०० राजस्व सङ्कलन गरेको जानकारी गराए।
सो अवधिमा साधारण राहदानी ४६ हजार १ सय ११, कूटनीतिक राहदानी (निःशुल्क) २२१, ट्राभल डकुमेन्ट २९ वटा जारी गरिएको उहाँले बताए। श्रम तथा रोजगार मन्त्रालयका उपसचिव दिवस आचार्यले ०६९ साउन र भदौ महिनामा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमार्फत ११३ जना मृतक कामदारका हकवालालाई रु एक लाख ५० हजारका दरले रु एक करोड ६९ लाख ५० हजार प्रदान गरिएको बताए। रासस;