जीवनभर अरुलाई मृत्युको मुखबाट बचाएका डा.चित्रप्रसाद शर्मा अहिले आफै मृत्यु संग लड्दै


क्यान्सर पीडित डाक्टरको फेसबुक सहारा-
पाल्पा, असोज १३,

टेकनारायण भट्टराई :- डा. चित्रप्रसाद शर्मा वाग्लेले २५ वर्षे सेवा अवधिमा धेरै बिरामीलाई मृत्युको मुखबाट बचाए। अहिले उनी स्वयं मृत्युसँग लडिरहेका छन्। बिरामीलाई सधैं सान्त्वना दिने उनलाई यतिबेला शुभचिन्तकले ढाडस दिँदैछन्-नआत्तिनुस् निको हुन्छ।' विदेशी भूमीमा उपचाररत उनको सहारा बनेको छ- फेसबुक। शुभचिन्तकले फेसबुकमा दिएका सन्देश र मित्रहरुसँग च्याट गर्दा उनको पीडा हल्का हुन्छ। बेडमै आफन्तहरु भेट्न आएजस्तै लाग्छ उनलाई।
२५ वर्षदेखि स्वास्थ्य सेवामा खटिएका वाग्ले अहिले क्यान्सर रोगबाट थलिएका छन्। भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी मेमोरियल क्यान्सर अस्पतालमा उनी तीनमहिनादेखि उपचाररत छन्। रुपन्देही मुर्गीयाका वाग्लेलाई अर्घाखाँची, पाल्पा, प्यूठान लगायतका जिल्लामा स्वास्थ्यकर्मीका रुपमा सरकारले वर्षौंसम्म खटायो। तर उनै डाक्टर बिरामी हुँदा सरकार बेखबर बनेको छ। नियमले पाउने बिरामी खर्चसमेत सरकारले उपलब्ध गराउन सकेको छैन।
'मैले जीवनको ऊर्जा सरकारी चिकित्सक भएर दुर्गम जिल्लामा खर्चेँ,' वाग्लेले नागरिकसँग टेलिफोनमा गुनासो पोखे, 'सरकारले बिरामी हुँदा नियमले पाउने खर्च पनि दिएको छैन।' उपचार खर्च माग गर्दै उनले तीनमहिना पहिले स्वास्थ्य विभाग र प्रधानमन्त्री राहात कोषमा निवेदन दिएका थिए। त्यो निवेदन उपर कुनै सुनुवाई भएको छैन। 
निको भएर बिरामीकै सेवामा खटिने इच्छा छ,' उनले भने 'सरकारले चाह्यो भने मलाई नयाँ जीवन दिन सक्छ, त्यसपछि मैले थुप्रै अरु बिरामीको जीवन बचाउन खटिने छु।' यसोभन्दा वाग्ले भक्कानिए- जीवनको सबै ऊर्जा सरकारी सेवामा लगाउँदा मैले अभिभावक ठानेको सरकारले तँलाई कस्तो छ भनेर पनि सोध्दैन।'
डब्लुएचओको स्कलरसिपमा एमपीएचको अध्ययनका लागि बिदा लिई थाइल्याण्ड पुगेका शर्माले त्यहाँ आफूलाई एपेन्डिक्स क्यान्सर लागेको थाहा पाए। दुई लाखसम्म खर्च गरेर थाइल्याण्डमै उपचार प्रयास गरे तर निकै महँगो भएपछि उनी नेपाल फर्के। नेपालको मेडिकल बोर्डले विदेशमा उपचारका लागि पठाउन सिफारिस गरेपछि उनी भारत गएका हुन्।
'१५ दिन अन्तरमा केमोथेरापी गराएको छु, ६ वटा गराएँ अझै ६ वटा बाँकी छ।' एउटै केमोथेरापीका लागि डेढलाखसम्म खर्च लाग्ने उनले बताए। १२ पटकसम्म केमो गरिसकेपछि क्यान्सर फैलिएको पेटको शल्यक्रिया गरिने उनले बताए। उनको साथमा पत्नी पूजा शर्मा पराजुली छिन्। त्यहाँ पनि वाग्ले बिरामीकै सेवामा खटिएर दिन बिताएका छन्। 'यहाँकै अस्पतालमा नेपाली बिरामीहरुलाई भेटेर परामर्श दिने गरेको छु, अधिक समय बिरामी भेटेरै बित्छ,' उनले भने। 
फुर्सदको समयमा इन्टरनेटमा भुल्छन्। १२ वर्षसम्म अर्घाखाँचीमा सेवा गर्दा उनी निकै प्रिय बने। जिल्लावासीले दिएको स्वास्थ्यलाभको शुभकामनामाका सन्देशले उनको फेसबुक पेज भरिएको छ। फेसबुकमा जीवन लम्ब्याउन चाहेको स्टाटस लेखेका छन्। उनले मृत्युलाई चुनौति दिँदै लेखेका छन्- 'मैले तत्कालै त जित्दिन तर अवश्य जित्छु।'
वाग्लेका ८ वर्ष र ४ वर्षका दुई छोरी र १२ वर्षीय एक अपांग छोरा छन्। उनीहरु सासुको रेखदेखमा काठमाडौंमा बस्दै आएका छन्। उनले मुख्यसचिव लिलामणी पौडेललाई आफैं फोन गरेर सहयोगको याचना गरे। सहयोग पाउने आश्वासन त पाए तर सहयोग जुटेको छैन।
वाग्लेले अर्घाखाँची जिल्ला अस्पतालमा थुप्रै सुधारका काम गरे। उनैको पहलमा १५ शैयाको अस्पताल ३२ शैयाको बन्यो। अस्पतालमा उल्लेख्य सुधार गरेबापति जिल्लावासीबाट उनी सम्मानित भएका स्थानीय गणेश खनालले बताए। 'हामी जिल्लावासीहरु उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छौं,' खनालले भने 'उहाँजस्तो लामो समय जिल्लामा बसेर सबैको प्रिय बनेर काम गर्ने डाक्टर कमै हुन्छन्।' द्वन्द्वकालमा दुर्गम जिल्लामै बसेर सेवा दिने कमै चिकित्सकमध्ये वाग्ले पर्छन्। लामो समय दुर्गम जिल्लामा बसेर सेवागरेबापत उनी सम्मानितसमेत भएका थिए। स्रोत-नागरिक;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com