सानै देखि एयरहोस्टेज बन्ने सपना ६-महिनामै सदाका लागि समाप्त

बनेपा, असोज १३,

मधुसुधन गुरागाईं :- सीता एयरमा गत चैतदेखि एयर होस्टेसका रूपमा काम थालेकी थिइन् रुजा शाक्यले। बनेपा-१० की शाक्यको सानैदेखिको सपना थियो- एयर होस्टेस बन्ने।

 दुई दिदी र एक दाजुपछिकी कान्छी रुजाले बिदा सकेर असोज ८ गते ड्युटी जाने बेला घरमा रहेका कान्तिपुर फाइनान्सका प्रबन्धक पुष्पराज कोइरालालाई आफूले पाउने फ्री टिकटमा माउन्टेन फ्लाइट लैजाने वचन दिएकी थिइन्। 'अंकल, वर्षको ६ वटा टिकट फ्री पाइने रहेछ, ममी-ड्याडीसँगै तपाईंलाई पनि लैजान्छु है,' रुजाले अन्तिमपटक भनेको सम्झँदै कोइरालाले भने। भदौ १५ गते आफू अध्ययनरत बनेपा सिद्धार्थ कलेजका प्रिन्सिपल पुकार कारन्जितलाई भेट्दा रुजाले भनेकी थिइन्, 'सर, मेरो एयर होस्टेस बन्ने सपना पूरा भयो।'

हाल बिबिएस तेस्रो वर्षमा अध्ययनरत उनले घरमै बसेर पढाइ पूरा गर्ने र एयर होस्टेस जागिरलाई निरन्तरता दिने सुनाएकी थिइन्। 'मिलनसार र असल विद्यार्थीमा गनिन्थिन्, अतिरिक्त क्रियाकलापमा सक्रिय हुने उनी केही गरेर देखाउँछु भन्ने गर्थिन्,' कारन्जितले स्मरण गरे। काभ्रेमै पहिलोपटक आयोजित मिस काभ्रे प्रतियोगितामा कलेजकै प्रतिनिधित्व गर्दै फर्स्ट रनर अपको उपाधि पनि जितेकी थिइन्।

काठमाडौंमा एयर होस्टेस तालिम सकेर गत चैतदेखि रुजाले काम गर्न थालेकी उनका मामा समनज्योति शाक्यले बताए। दुबै दिदीहरू बिहे भएर गएका र दाजु पनि ८ वर्षदेखि फ्रान्समा रहेकाले उनैले बाबुको व्यवसायमा सहयोग गर्दै आएकी थिइन्। एयरलाइन्सबाट बिदामा आएका बखत न्यु शाक्य वाच सपमा बाबु हिटलर शाक्यलाई सघाउने गरेकी थिइन्।

असोज ८ गते काठमाडौं जाने बेलामा उनलाई फुपुहरूले सन्तानमा एक्ली भएकाले किन जागिर खानुपर्‍यो, यतै बसेर बाबुआमालाई सघाउनू भनेर सुझाव दिएका थिए। रुजाको अवसानको खबर सुनेदेखि कलेजका मिल्ने पाँच साथी दिनभर नै दुःखी छन्। उनीहरू ६ जनाको एउटा समूह थियो। दिना पलाञ्चोके, रश्मी पोटे, प्रगिता नापित, रश्मा श्रेष्ठ, शान्ता सापकोटा मिल्ने साथी थिए। '

सुनेदेखि नै पत्यार लागेको थिएन, रुजाको घरमा जाँदा उनका बाबुआमा काठमाडौं हिँड्न ठिक्क पर्नु भएको रहेछ, अनिमात्रै विश्वास भयो, हाम्रो प्रिय साथी हामीबीचबाट टाढा भइन् भनेर,' दिनाले भनिन्।नागरिक

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com