ज्वरोको चापले ८-जनाको मृत्यु

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले उच्च ज्वरोका कारण साउन यता आठजनाको मृत्यु भएको जनाएको छ । यद्यपि चितवनका अस्पतालबाट लिइएको तथ्याङ्कमा भने ज्वरोको कारण १३ जनाको मृत्यु भएको पाइएको छ ।

 केही अस्पतालले बिरामी अस्पतालमा नआउने डरले जनस्वास्थ्य कार्यालयलाई एकिन तथ्याङ्क नदिँदा समस्या भएको हो । ज्वरोका कारण उपचारका क्रममा चितवन मेडिकल कलेजमा छ जना, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा चारजना, भरतपुर अस्पतालमा दुई जना र भरतपुरबाट थप उपचारका लागि काठमाडौँ लगिएको एकजनासहित १३ जनाको उच्च ज्वरोले मृत्यु भएको हो ।

जनस्वास्थ्य कार्यालयसँग कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर र काठमाडौँमा मृत्यु भएकाको तथ्याङ्क छैन । निमित्त जनस्वास्थ्य प्रशासक जयराम दुवाडीले सम्बन्धित अस्पतालहरूले यथार्थ सूचना नदिँदा यकिन तथ्याङ्क भन्न कठिन भएको बताउनुभयो ।पछिल्लो समय गएराति मात्रै चितवन मेडिकल कलेजमा उपचार गराइरहेकी चिनमाया रन्जालीको मृत्यु भएको छ । नवलपरासी घर भएकी उनलाई उच्च ज्वरोपछि चितवन मेडिकल कलेज ल्याइएको थियो ।

यसअघि सोमबार राति माडीका दुईजनाको ज्वरोले मृत्यु भएको थियो । ज्वरो आएपछि ढिलो गरी अस्पताल आउनु र ज्वरोपछि निमोनिया हुनु, मृत्युको प्रमुख कारण रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । चितवन मेडिकल कलेजको सघन उपचार कक्षमा गम्भीर अवस्थामा उच्च ज्वरोका नौ जना बिरामी रहेका छन् । चिकित्सक शीतल अधिकारीले तीमध्ये सातजनालाई स्वाइनफ्लु र दुईजनालाई ल्याप्टोस्पाइरोसिस देखिएको बताउनुभयो ।

उनीहरूको अवस्था गम्भीर रहेको डा अधिकारीले जानकारी दिनुभयो । त्यसैगरी कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर र भरतपुर अस्पतालको सघन उपचारकक्षमा पनि उच्च ज्वरोका बिरामी रहेको बताइएको छ । केहीलाई भने काठमाडाँै लगिएको छ । उता जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरको एक टोली आज माडी पुगेको छ ।

हालै ज्वरोले माडीका एकै परिवारका दुईजनाको मृत्यु भएपछि त्यस क्षेत्रमा ज्वरोको अनुगमन गर्न स्वास्थ्यकर्मीको टोली त्यहाँ गएको हो । जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी निर्मल घिमिरे र भीमनाथ घिमिरेले त्यहाँ पुगेर गर्दी उपस्वास्थ्य चौकीमा स्थानीय बासिन्दाको स्वास्थ्य परीण गर्नुभएको छ ।नेपालब्रिटेन

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com