बालविवाह अभिशाप मानिन्छ तै पनि बिहे गर्नेको संख्या बढ्दो I

बालविवाह हिजो अभिशाप मानिन्थ्यो, आज पनि यो अभिशाप नै मानिन्छ। तै पनि उमेर नपुग्दै बिहे गर्नेको संख्या बढ्दो छ। बिहे गरेपछि पछुताउनेको संख्या पनि कम छैन। साना उमेरका केटाकेटीका बीच हुने बिहेले नेपाली समाजमा विभिन्न विकृति भित्र्याएका छन्। डा. खेम कार्कीको विश्लेषणका साथ राजन नेपाल र शुक्रवार टिमको खोजी विवरण :
.....
बालविवाहको नकारात्मक असरहरूबारे जानकारी दिन स्थानीय एकीकृत विकास समाजले कैलालीमा आयोजना गरेको एक कार्यक्रममा आयोजकका सबै प्रश्नको उत्तर सरासर दिइरहेका एक १६ वर्षीय किशोर एक प्रश्नमा निकै बेर घोत्लिए। आयोजकले उनलाई सोधेका थिए, 'तपाईँले किन चाँडो विवाह गर्नुभयो?' कहिले बुढीऔँलाले भुइँ खोसि्रँदै त कहिले टाउको कन्याउँदै ती किशोरले तनावग्रस्त मुद्रामा जुरुक्क उठेर झोक्किँदै जवाफ दिए, 'बिहे केका लागि गरिन्छ? तपाईँहरूलाई थाहा छैन? हो, मैले त्यही गर्न बिहे गरेको हो। मलाई १३ वर्ष हुँदादेखि नै सेक्स गर्न मन थियो।

मैले तीन वर्ष थेगेँ र अहिले बिहे गरेको हुँ,' उनी एकोहोरो बोलिरहेका थिए। उनको उत्तर सुनेपछि आयोजकहरू चित खाए। बालविवाह रोक्ने अभियानसँगै किशोर-किशोरीलाई पर्याप्त यौन शिक्षाको जानकारी नदिँदा जति वर्ष कराए पनि बालविवाह हटाउन सकिँदैन भन्ने उदाहरण हो यो।  भर्खरै गरिएको एक अध्ययनअनुसार सूचना प्रविधिको बढ्दो प्रयोगसँगै किशोर-किशोरीमा यौनप्रतिको जिज्ञासा पनि निकै तीव्र गतिमा बढेको पाइएको छ। प्रेमका कारण अधिकांश बालविवाह भएका छन्। विभिन्न २५ वटा जिल्लामा गरिएको अध्ययनअनुसार बालविवाहको प्रमुख कारण प्रेम, चेतनाको अभाव, गरिबी, अभिभावकको दबाब आदि हुन्। गाउँमा मात्र बालविवाह हुन्छ भन्ने मान्यतालाई अध्ययनले गलत साबित गरिदिएको छ।

अहिले शहरी क्षेत्रमा पनि अभिभावकले छोराछोरी बिग्रने डरले कम उमेरमा बिहे गरिदिने प्रचलन बढेको छ। पहिले जनजातिमा बढी बालविवाह हुने गरेकामा अहिले ब्राह्मण तथा क्षत्रीमा बालविवाह हुने गरेको तथ्यांकले देखाएको छ। राजधानीका एक इभेन्ट म्यानेजर एलिट परिवारमा छोरी बिग्रनसक्ने भएकाले एसएलसी पास गर्नेबित्तिकै विवाह गरिदिने चलन बढेको बताउँछन्। 'मैले १८ वर्ष नपुगेका थुप्रै किशोरीहरूको विवाह म्यानेज गर्ने काम गरिसकेँ,' उनले भने, 'यस्ता विवाह बढीमा तीन वर्षसम्ममात्र टिकेका छन्। बढ्दो उमेरसँगै अधिकांश जोडी छुट्टिने गरेका छन्।'

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको एक अध्ययनअनुसार किशोर-किशोरीले औसत १८ वर्षको उमेरमा आफूले पहिलो पटक सेक्स गरेको बताएका छन्। किशोर-किशोरी तथा युवामध्ये ४४ प्रतिशतले यौनसम्पर्क गरिसकेका र विवाहित दम्पतीमध्ये १३ प्रतिशतले विवाहपूर्व नै यौनसम्पर्क गरिसकेको तथ्यांक सार्वजनिक भइसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०१० र २०११ मा गरेको सर्वेक्षणमा १५ वर्ष नपुग्दै सात प्रतिशत किशोर-किशोरीले यौन सम्पर्क राखेको तथ्य प्रकट भएको थियो। नयाँ एक सर्वेक्षणले ७२ प्रतिशत किशोर-किशोरीले यौनसम्पर्क राख्ने गरेको, २४ प्रतिशतले ब्याइफ्रेन्ड र गर्लफ्रेन्डसँग सहवास गर्ने गरेको र तीन प्रतिशतले आफूले चिनेजानेको व्यक्तिसँग यौन सम्पर्क गर्ने गरेको तथ्यांक उदांगो पारेको छ। १० देखि २४ वर्ष उमेर समूहका आठ हजार नौ सय ७४ घरधुरीका १४ हजार सात सय ५४ जना किशोर-किशोरीमा गरिएको सर्वेक्षणबाट उक्त तथ्यांक आएको हो। यस्तो तथ्यांकले शहरी जीवनमा हुर्किरहेको नयाँ पुस्तालाई सम्बोधन गरेको छ। सेक्स जति सरल भएको छ, त्यति नै सहज पनि। बढ्दो इन्टरनेट प्रयोगलाई यसको प्रमुख कारण मानेका छन्, विश्लेषकहरूले।

'म आफ्नो करिअर डेभलप नगरी विवाह गर्दिनँ, कम्तीमा ३० वर्षमा गरिन्छ बिहे,' भर्खरै प्लस टू पास एक किशोर भन्छन्, 'गर्लफ्रेन्ड छँदै छ, करिअर बनाएरमात्र विवाह गर्ने हो। फेरि, विवाह जेका लागि गर्ने हो, त्यो मैले प्राप्त गरिरहेकै छु।'

ढिलो विवाह गर्ने चलन दाम्पत्य जीवनका लागि सहज मानिन्छ। तर, कतिपयले यसलाई अस्वीकार पनि गर्छन्। 'करिअर बनाउने भनेकै तीस वर्षसम्म हो। त्यसपछि भविष्य कसरी सुखमय बनाउने भनेर सोच्नुपर्छ। त्यसैले बिहे ढिला गर्नुपर्छ,' एक युवाले भने। प्लस टू भर्खर पास गरेका उमेर समूहका केही युवाहरूसँगको कुराकानीका क्रममा कोही ढिलो बिहेको पक्षमा उभिए भने केही बिहे भनेको बँैस छँदै गर्नुपर्छ भन्नेहरू पनि भेटिए। करिअर पछि बनाउने र आफ्नो जीवन पनि सुखी राख्नका लागि चाँडो विवाह गर्नुपर्ने उनीहरूको जोड छ। दाम्पत्य जीवनलाई प्रधान नमान्ने शहरिया नयाँ पुस्ता बिस्तारै सेक्सलाई प्रमुख स्थानमा राखेर हेरिरहेको छ। आवश्यकता र महत्व छुट्याउन नजान्दा र समयमा यौनबारे सहज शिक्षा नपाउँदा शहरी किशोर-किशोरी सेक्स गर्न हतारिएका छन्।

यौनसम्बन्धी अत्यधिक उत्सुकता र चाहनाका कारण एक युवकले १२ वर्षको उमेरदेखि नै गाउँकी नातामा बहिनी पर्नेसँग करिब आठ वर्षसम्म यौनसम्बन्ध राखे। एउटै कक्षामा पढ्ने भएकाले पनि उनीहरूले पढ्ने बहानामा सम्बन्ध राख्ने गरेका थिए। अपरिपक्व उमेरमा रहेको असीमित यौन उत्सुकताका कारण उनीहरूले नजिकको नातालाई बिर्सेका थिए। उनीहरूको वास्तविकता समाजमा कहिल्यै बाहिर आएन। तर, उनीहरूको सम्बन्ध भने सुरक्षित थिएन भन्ने कुरा उनीहरू स्वयंले स्वीकार गरेका छन्।

सानै उमेरदेखि आधुनिक प्रविधिसँग पहुँच बनाउन थालिसकेका आजका युवाले यौनलाई अत्यन्त हल्का रूपमा लिइदिँदा यसले विकृति समेत निम्त्याउन थालिसकेको छ। दश कक्षा पढ्दासम्म पनि गर्लफ्रेन्ड बनाउन नसक्नेहरूको साथीहरूमाझ इन्सल्ट हुने गरेको कक्षा ९ पढ्दै गरेका मुकेश बताउँछन्। 'हाम्रो ग्याङ ठूलै छ। सबैजसोका गर्लफ्रेन्ड पनि छन्। गर्लफ्रेन्ड नहुनेहरू ग्रुपमा कार्टुन हुन्छन्। गर्लफ्रेन्ड भएपछि किससिस हुनु त सामान्य भइ नै हाल्यो,' उनले भने।

उनीहरूले सामान्य रूपमा लिएको 'किससिस' कक्षा १२ सम्म पुग्दा सेक्ससम्म पुगिसकेको हुन्छ। कक्षा १२ मा पढ्दै गरेकी एक किशोरी कलेज ड्रेसमा नै गर्भपतनका लागि मेरी स्टोप्समा पुगेकी थिइन्। जोसमा होस नगुमाई सुरक्षित तरिकाले शारीरिक सम्बन्ध राखेको भए यो अवस्थाको सिर्जना हुने थिएन। उनलाई यौनसम्बन्ध राख्दाको अनुभवबारे साथीहरूले बताएका थिए। साथीहरूले झैँ यौनका बारेमा जान्ने र आफ्नो इच्छा पूरा गर्ने चाहनालाई कन्ट्रोल गर्न नसक्दा उनले गर्भपतन गर्नुपरेको थियो।

चौबिसै घण्टा कम्प्युटर र नेटमा झुन्डिरहने बालबालिकाका अभिभावकले आफ्ना छोराछोरीले के गरिरहेका छन् भनेर 'फलो अप' गर्नुपर्ने आवश्यकता छ । स्कुलमा समेत यौन तथा प्रजनन स्वास्थ्यको 'टपिक' आएमा आफैँ पढ भनेर छाडिदिने शिक्षकको प्रवृत्तिका कारण पनि किशोरावस्थाका विद्यार्थीले अन्य माध्यमलाई यौन जिज्ञासा मेटाउने साधनको रूपमा प्रयोग गर्न थालेका छन्।

गाँस, बास, कपासझैँ यौनले पनि मौलिक अधिकारभित्र आफ्नो स्थान पक्का गरिसकेकाले कसैलाई पनि यौनजन्य क्रियाकलाप नगर भनेर रोक्न मिल्दैन। त्यसैले खुलेर यौनसम्बन्धी जिज्ञासा राख्ने वातावरण सिर्जना गरिदिने हो भने किशोर-किशोरी आपराधिक तथा असुरक्षित यौनजन्य क्रियाकलापबाट बच्न सक्छन्।

(साथमा विनोद ढकाल र अञ्जलि रम्तेल) नागरिक :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com