नेपालि पत्रकार महिलाका समस्या र चुनौती I

नेपाली महिलाका समस्या र चुनौतीका सम्बन्धमा थुप्रै पटक छलफल र अन्तरक्रिया भएका छन् र पनि समस्या ज्युँका त्युँ छन् । जति पटक यस विषयमा नारा, जुलुस, धर्ना, छलफल र अन्तरक्रिया भए पनि ठोस निष्कर्ष निस्कन सकेको छैन । 

महिलाका लागि कतिपय कानुन परिवर्तन भए पनि कार्यान्वयन पक्ष फितलो हुनु आजको मात्र समस्या होइन । त्यसैले यो विषय सधैंको चासो र चर्चामा छ । यसपटक विशेषतः महिला अधिकार, समस्या र उनका हकहितका विषयमा प्रत्यक्ष सरोकार र चासो राख्ने महिलाले पत्रकार समग्र नेपाली महिलाका समस्या र चुनौतीलाई केलाएका छन् ।

सुचित्रा श्रेष्ठ, चलचित्र निर्देशक :

नेपाली महिलाले अहिलेसम्म पनि परम्परागत निर्णयका आधारमा चल्नुपर्ने र बोल्नुपर्ने अवस्था छ । म एकपटक फिल्ड रिपोर्टिङका सिलसिलामा सुदूरपश्चिम जाँदा तरुनी छोरीको भर नगरी ३ वर्षको छोरालाई राति साथी लिएर गएको पाएँ । आजसम्म पनि यस्तो छ हाम्रो सामाजिक मान्यता । परम्परागत निर्णयलाई स्वीकार गर्नुपर्ने बाध्यताका कारण यसो गर्नेहरू महिला नै हुन्छन् । 

निणर्ायक तहमा महिलाको कम पहुँच, शिक्षामा असमानता, विभिन्न किसिमका हिंसाद्वारा प्रताडित यही नै हो नेपाली महिलाको अहिलेको यथार्थ । अहिले महिला भएकै कारण विभेद झेल्नुपरिरहेको अवस्था छ । अशिक्षा, सामाजिक रुढिवादी मनोविज्ञान एवं पितृसत्तात्मक परम्परा नै महिला पछि पर्नुका प्रमुख कारण हुन् । यस्ता समस्या हटाउन महिला स्वयं जागरुक हुनुपर्छ ।

सम्झना पोड्याल, कार्यक्रम प्रस्तोता :

संविधान लेख्ने प्रक्रियामा महिलाका लागि के-कस्ता अधिकार सुनिश्चित गर्ने ? भन्ने समेत निश्चित भैसकेको छैन । आमाले आफूले जन्माएका छोराछोरीलाई आफ्नै नाममा नागरिकता दिन पाइन्छ भनिए पनि त्यसको कार्यान्वयन भएको छैन । यो महिलाका लागि बनेका हरेक नीति यस्तै हुन्छन् भन्ने कुराको एउटा राम्रो उदाहरण हो । 

शिक्षा, स्वास्थ्य, समान अवसरलगायत हरेक कोणबाट निणर्ायक तहमा महिलाको पहुँच छैन । यदाकदा उक्त ठाउँमा पुगेका महिलाको पनि भौतिक उपस्थिति मात्र छ । अहिलेसम्म पनि उनीहरूको विचार र सिद्धान्तलाई सहभागी गराइएको छैन । राज्यको फितलो नीति, अझ फितलो कार्यान्वयन तथा पितृसत्तात्मक सामाजिक सोच र संरचना नै महिला पछि पर्नुका मुख्य कारक तत्व हुन् । यी सबै कुराका साथै महिला स्वयं पनि जागरुक र आत्मविश्वासी हुनु आवश्यक छ ।

धन लामा, रेडियोकर्मी :

समाजमा अझै पनि महिला भन्नेबित्तिकै चुनौती र समस्याका थुप्रो हुन् भन्ने सोच छ । पहिले र अहिले भलै समस्याका प्रकृति फरक होलान् तर महिलाका समस्या कम भएका छैनन् । हाम्रो पालामा स्वतन्त्रता सबैभन्दा ठूलो चुनौती थियो भने अहिलेका महिलाका लागि निणर्ायक तहमा पुग्न नपाउनु वा शक्तिको पहुँचसम्म महिला पुग्न नसक्नु ठूलो चुनौती बनेको छ । 

पहिले नारीलाई घरबाट बाहिर निस्कन नदिने चलन थियो तर अहिले त्यस्तो छैन । यति हुँदाहुदै पनि राज्यको कमजोर नीति नै महिला पछडि पर्नुको प्रमुख कारण हो । धेरै कुरा महिलाका पक्षमा भए पनि ती कानुनका ढड्डामा मात्र सीमित छन् । पत्रकारकै रूपमा हेर्दा खोइ त महिलालाई विशेष अवसर र ठूलो जिम्मेवारी ? नीतिगत तहमा महिलालाई प्राथमिकता दिएर समानताको अवधारणा अवलम्बन र सुनिश्चित गर्न सके यस्ता समस्या केही मात्रामा हल हुँदै जान्छन् ।

संगीता लामा, स्तम्भकार :

यो ठूलो र जटिल विषय हो । पुरुषसँग तुलना गर्दा महिलामाथि आर्थिक, सामाजिक एवं सांस्कृतिकका साथै कानुनी आदि अन्य थुप्रै विभेद र समस्या छन् जुन घरबाटै सुरु हुन्छ । महिलाले कतिपय अवस्थामा करियरमा सम्झौता गर्नुपर्ने हुन्छ । विवाह, त्यसपछि आमा बन्ने र छोराछोरी हुर्काउने जिम्मेवारी र दायित्व सबै महिलाकै टाउकोमा भार बनेर थुपि्रएको छ । 

अविवाहितका हकमा पनि प्रमोसनमा, समान तलबमा समस्या छन् । विभेद र हिंसाले पनि महिला नै प्रताडित छन् । सामाजिक संरचना, पितृसत्ता, शिक्षा र शक्तिमा समान पहुँच नहुनु, परनिर्भरता, महिलाको प्रतिनिधित्वमा कमी आदि कारणले महिलाहरू अझ पछाडि पर्दै गएका छन् । यसको समाधानका लागि कानुनी रूपमै भेदभाव नियन्त्रण ऐन बनाइनुपर्छ । त्यसका अतिरिक्त विभेदमूलक कानुनी प्रावधान हटाउने, राज्यका हरेक क्षेत्रमा समानुपातिक सहभागिता तथा महिला सुरक्षाको व्यवस्था सुनिश्चित हुनुपर्छ ।

संगीता खड्का, संचारकर्मी :

पत्रकार र त्यसमा पनि महिला भएकाले थुप्रै महिलाका पीडा र समस्या नजिकबाट हेर्ने र बुझ्ने अवसर प्राप्त हुन्छ । मेरो अनुभवमा पितृसत्तात्मक सामाजिक व्यवस्थाका कारण ग्रामीण महिला त पीडित छँदैछन् शिक्षित र सहरी महिला पनि धेरै दृष्टिकोणले प्रताडित छन् । मैले मुख्य रूपमा २ किसिमका समस्या देखेकी छु । पहिलो हाम्रो कर्मको फल, भाग्यले ठगेको भनेर आफ्नो कर्मलाई दोष दिई पीडा सहने निरक्षर महिला छन् भने दोस्रोमा पहिचान भएका समस्या उठाउँदा प्रतिष्ठामा आँच आउला वा परिवारलाई कुनै असर पर्ला भन्ने शिक्षित महिलावर्ग । 

यी दुवै वर्ग पीडा सहेर बसेका छन् । महिलालाई मान्यता नदिने परिपाटी, हरेक क्षेत्रमा आफूलाई प्रमाणित गर्नुपर्ने बाध्यता, अशिक्षा र पितृसत्तात्मक सोचका कारण हामी महिलालाई माथि उठ्न गार्‍हो छ । शिक्षा एवं पितृसत्तात्मक शासन व्यवस्था यसको मूल कारक हो । यसका लागि राज्यले महिला अधिकार सुनिश्चित गर्न बाध्यकारी नीति लागू गर्नुपर्छ । नारी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com