बेचिएकी छोरी झोज्दीन बिहार थानामा-जाहेरी I

परिहार (भारत), श्रावण २९ ,

रबिन्द्र उप्रेती :-  बेचिएकी चेली र्फकने आसमा पर्सादेवाड ७ की ललिया खातुनले सोमबार भारत विहारस्थित परिहार थानामा जाहेरी (एफआइआर) दर्ता गराएकी छन् ।

भारतस्थित अदिथि नामक संस्थाको सहयोगले विदेशी सुरक्षा निकायमा मानव बेचबिखनविरुद्ध जाहेरी दर्ता गराउने ललिया सम्भवतः पहिलोे नेपाली महिला हुन् । जाहेरीमा गरिब समुदायको भावनामाथि खेलवाड गर्दै नेपाली चेलीलाई सीमापारि कोठी पुर्‍याउने गिरोहमाथि हदैसम्मको कारबाही माग गरिएको छ ।

उनले बिहे गर्ने बहानामा आफ्नी १४ वर्षीया छोरी जन्नती खातुनलाई दिल्लीको कोठी लगेर बेच्ने चार भारतीयविरुद्ध परिहार थानामा 'एफआईआर' (जाहेरी) दर्ता गराएकी हुन् । जाहेरी भारत विहार सीतामढी जिल्ला परिहार थानाअन्तर्गत मनिकपुर मुसहरनीयुँका अब्दुल मन्नान, सोही ठाउँका मो सविर अन्सारी, अदौलीका मञ्जुर र सुतिहाराका शाहवुद्धिन भनिने दब्बीरविरुद्ध दिएको हो ।

सुरुमा परिहार थानाले घटना नेपालको भन्दै उजुरी लिन इन्कार गरेको थियेा । अदिथि नामक भारतीय संस्थाको पहलपछि सीतामढी एस्पी विवेककुमारको आदेशमा सोही थानाले उजुरी लिन बाध्य भएको हो ।

संस्थाकी कार्यकर्ता कृतिले विदेशी महिलालाई पनि बेचबिखन गर्न भारतीय दण्डसंहिता (इन्डिएन प्यानल कोड) ले निषेध गरेको प्रमाणसहित सीतामढीस्थित जिल्ला पुलिसमा दाबी गरेपछि परिहार थानालाई एस्पीले प्राथमिकी दर्ताको आदेश गरेका थिए ।

भारतीय दण्डसंहिताको धारा ३६६१ ले २१ वर्षभन्दा कम उमेरकी महिलालाई भारतबाहेक अन्य देशबाट ल्याएको भए पनि बेचबिखन र देहव्यापार गराउन निषेध गरेको छ ।

सोही धारामा टेकेर ललियाले प्राथमिकी दिएकी हुन् । 'हामीलाई यो धाराका बारेमा जानकारी नहुँदा धेरै सास्ती खेप्नुपर्‍यो,' कृतिले प्राथमिकी दर्तापछि सन्तोष व्यक्त गर्दै भनिन््, 'महिला बालबालिका भारतीय वा विदेशी जोसुकै हुन् बेचबिखन र देहव्यापारका लागि भारतीय भूमि प्रयोग गर्ने जोकोहीविरुद्ध कानुनी रूपमा पीडितलाई न्याय दिलाउन अघि बढ्नेछौं ।'

यसअघि नै परिहार थानाअन्तर्गत स्थानीय भद्रभलादमीसमक्ष विपक्षी चारै जनाले जन्नतीलाई दिल्लीको कोठीमा बिक्री गरेको भनी लिखित करारनामा गरेकाले त्यहाँको प्रहरीलाई कारबाहीको थप आधार मिलेको छ ।

भारतीय सुरक्षा निकायले समेत जाहेरी लिएपछि बेचिएकी चेली फर्किने आसमा ललिया खातुन आशावादी भएकी छन् । प्राथमिकी दर्तापछि ललियाले भनिन्, 'अब मलाई छोरी भेटिने विश्वास जागेको छ ।' ekp:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com