निमुखाहरु नै फेरी निशानामा I

प्रदिप मेयाँग्बो :- बुटवल नगरपालिका-१३ की शकुन्तला विकलाई एक्लो ज्याला मजदुरीले दुई सन्तान र रक्स्याहा पति पाल्न धौधौ थियो। त्यसैबेला दलालले कुवेत लगिदिने सपना देखायो। सुरुमा पत्याइनन्। दलालले लगातार तीन सातासम्म पछ्याएपछि उनको केही लागेन।

दलालका शब्द अझै पनि उनका कानमा ठोक्किरहन्छन्, "यहाँ गर्ने दुःख विदेशमा गर्‍यौ भने त तिमीले तेब्बर बढी पैसा कमाउँछ्यौ।" शकुन्तलालाई पनि लाग्यो, यहाँ बसेर नै के पो सुख छ र ? नर्क नै भए पनि यहाँभन्दा त बेसै होला।

विशेष सीप र शैक्षिक योग्यता केही नभएकी उनी मासिक २८ हजार तलब पाइने भन्दै कुवेत पुगिन्। तर, कुवेत 'यहाँभन्दा कठिन नर्क' बन्यो। उनी शरीरले थेग्नेभन्दा बढी काम र मालिकको यौनतृप्तिको सिकार बनिन्। अन्ततः काम गर्न नसक्ने भन्दै घर फर्किनुपर्‍यो।

रूपन्देहीकै दयानगरकी माया शर्मा बुटवलका स्थानीय दलाल दीपेश क्षेत्रीमार्फत साउदी अरबको रयिाद सहर पुगी दुई वर्ष काम गरे पनि घर र्फकंदा रत्तिो हात भइन्। सामान्य साक्षर मायाको तलब घर पठाइदिएको भन्दै घरमालिक आफैँले राख्यो। तलब मासिक झन्डै ३२ हजार नेपाली रुपियाँ भनिएको थियो। त्यसको मुखै देख्न पाइनन् मायाले।

शकुन्तला र मायाको जस्तै नियति झेल्ने महिला थुप्रै छन्। वैदेशिक रोजगारलाई प्रयोग गरेर यसरी अनुचित फाइदा उठाउने दलालको देशभर ठूलो सञ्जाल छ। मध्यमवर्गीय व्यक्तिहरू बिस्तारै सचेत हुन थालेपछि दलालको निशाना आर्थिक र सामाजिक रूपले कमजोर अवस्थामा रहेका महिलामाथि पर्न थालेको छ। यसले उनीहरूको आर्थिक अवस्था सुधि्रनु त परै जाओस्, उनीहरूलाई झन् कहालीलाग्दो अवस्था निम्तिएको छ।

पैसा कमाउने आशामा विदेश पुगेका थुप्रैको र्फकंदा ऋण उल्टो चुलिएको छ। दलालहरू मोटाउँदै छन् भने महिलाहरू अलपत्र बनेका छन्। गरबिीमाथि खेलिरहेका दलालहरूका लागि महिलाको कोमलता र अज्ञानता लाभदायक बनेको छ।

आफ्नो घरमा राम्ररी पालिन नसकेपछि झापाको दमकस्थित घरबाट मावली बिर्तामोड पुगेकी रीता नेपाली, २३, ले उता झन् चर्को अभाव झेलिन्। त्यसको लाभ स्थानीय दलाल सुधा राईले उठाइन्।

बैँसालु उमेरमा अभावका थाक बोकेर बाँचिरहेकी रीताका लागि सुधाले बाँडेको आश्वासनले सहजै काम गर्‍यो। रीता साउदी त पुगिन्। तर, त्यहाँ के गर्दै छिन्, पत्तो नभएको डेढ वर्ष भइसक्यो।

एक वर्षअघिको पछिल्लो फोनमा रीताले आमालाई भनेकी थिइन्, "म अपराधीको फन्दामा परेँ।" वैदेशिक रोजगारका यस्ता दलाल अहिले सिंगै बस्तीलाई आफ्नो स्वार्थपूर्तिको भूमि बनाइरहेका छन्, जहाँ त्यसलाई सही वा गलत भनिदिने अर्को मान्छेसमेत कोही नहोस्।

दलित एवं विपन्न आदिबासीको बाहुल्य रहेको नवलपरासीको दाउन्नेदेवी गाविसस्थित पृथ्वीबस्ती यस्तै एक स्थान हो, जहाँ दलालले राम्रै रजाइँ गर्दै आएका छन्। यहाँका झन्डै आठ सय घरपरविारका दुई सयभन्दा बढी महिला विदेशमा छन्।

पृथ्वीबस्तीकै आइतीमाया तामाङ, ४४, फरक-फरक तीन समयमा गरेर छ वर्ष साउदी अरबमा बिताएर फर्केकी हुन्। एक दशकदेखि पतिसँग उनको सम्बन्ध छैन। भारतको भोपालमा बस्ने पति घरको वास्ता गर्दैनन्।

त्यसलाई नजिकबाट नियालेका स्थानीय दलालले उनलाई नै निशाना बनाए। उनी पनि मुम्बईको बाटो हुँदै विदेशिइन्। दलालले उनलाई पासपोर्ट बनाइदिनेदेखि लिएर टिकट खर्चसमेत आफँै हालिदिने र पछि उनको कमाइबाट काट्ने बताए। चुलिएको ऋणले थलिएकी उनले त्यसलाई सहजै स्वीकारेकी थिइन्।

"कमजोर अवस्थाका कारण महिलालाई प्रलोभनमा पार्न सहज छ," वैदेशिक रोजगारीबाट फर्किएका महिलाको संस्था पौरखीकी अध्यक्ष मञ्जु गुरुङ भन्छिन्, "निम्न आर्थिक अवस्थाका महिला जसरी/जहाँ पनि जान तयार हुने भएकाले दलालहरूले आकर्षक कमिसन पाउँछन्।" यस्ता गाउँबाट कामका लागि युवकहरू पनि जान नखोज्ने होइनन्। तर, दलालहरू खर्च बढी लाग्ने बताउँछन्। पति वा दाजुभाइ छाड्न नचाहँदा नचाहँदै महिला नै बाहिर जान बाध्य छन्।

"कामका लागि लाने भए हामीलाई लैजाओ भनेर रोकेको थिएँ," कञ्चनपुरको कृष्णपुर गाविसस्थित गुनियाल फाँटाका गीता वादीका पति प्रकाशले भने, "तर, म मुम्बई गएको मौका छोपेर श्रीमतीलाई लगेछन्।" उनले दुखेसो पोखे, "मीठू भन्ने दलालले तन्त्रमन्त्र गरेजस्तो सबैलाई फकाएर फुत्काउन सफल भइछ।" मीठू वादीसमेत एक वर्ष साउदी अरब बसेर फर्केकी महिला हुन्। कमजोर आर्थिक अवस्थामा रहेका कञ्चनपुरका तामाङ बस्तीहरू कालिका, त्रिभुवनबस्ती र परासनका महिलाहरू अहिले दलालको निशानामा पररिहेका छन्।

दलालहरू विशेषगरी खान लगाउनै हम्मेहम्मे हुने परविारसम्म पुग्छन्, जसको खर्चसमेत सुरुमा आफैँले हालिदिएर सहयोग गरेजस्तो गरी पछि उनीहरूको तलबबाट असुल्छन्। थुप्रै अवस्थामा हाउसमेड, केयरगिभरजस्ता कामका लागि विदेशबाटै टिकट र भिसाको खर्च रोजगारदाताले नै तलबबाट नकाट्ने गरी बेहोरििदन्छन्। तर, त्यसरी पाउने खर्चसमेत दलालहरूले आफैँले हालिदिएको भन्दै पछि कामदारहरूको तलबबाट असुल्न सफल हुन्छन्।

यसरी कमिसनको खेलो गर्ने दलालको ठूलै अखडा खाडी मुलुक र यहाँबाट लैजाने क्रममा मुम्बईजस्ता ठाउँमा छन्, जसको सम्बन्ध कानुनी रूपबाट कामदार लैजाँदा दिनुपर्ने सेवा-सुविधालाई छलेर सस्तोमा कामदार खोज्नेहरूसम्म हुन्छ। यसरी जाने सबै फन्दामै पर्छन् भन्ने पनि होइन तर समस्यामा परहिाले त्यसको कानुनी उपचार निकै असहज भइदिन्छ। नवलपरासीको ठुटीबारी सीमाबाट गत वर्ष यसरी जान लागेका झन्डै तीन दर्जन महिलाको उद्धार गरएिको थियो। तीमध्ये अधिकांश दलित समुदाय, सुकुम्बासी बस्ती र छिट्टै विधवा भएका एवं सम्बन्धविच्छेद भएका महिला पाइएका थिए।

सीमामा भेटिएका कतिपय त अर्कैको पासपोर्टमा हिँडेको समेत पाइएको थियो। माइती नेपाल नवलपरासीका कार्यक्रम संयोजक सोलिमाया अधिकारी भन्छिन्, "उनीहरूलाई आफ्नो पासपोर्टमा के छ भन्नेसमेत थाहा हुँदैन।" तराईमा बन्दै गरेका नयाँ बस्तीमा समेत दलालहरूले आँखा गाडेका छन्।

दर्तावाल म्यानपावरहरूले समेत गैरकानुनी रूपमा रोजगारदातालाई सस्तोमा कामदार उपलब्ध गराइदिन्छन्। यस्तो गर्दा उनीहरूले पाउने कमिसनको मात्रा बढी हुन्छ र बढी मात्रामा कामदारको मागसमेत हुने गर्छ। रूपन्देही प्रहरीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्रनाथ रेग्मी भन्छन्, "भारतीय भूमि हुँदै खाडीसम्म पठाउनेमा सबै फाइदा आफूले लिनेभन्दा पनि १०/२० हजार कमिसनकै भरमा काम गर्नेहरू बढी छन्, जसलाई आफू कससँग काम गररिहेको छु भन्नेसमेत थाहा हुँदैन।"

थुप्रै दलालले आफ्नो परचियसँगै कागजात र म्यानपावरसमेत नक्कली देखाउँछन्। प्रायः अशिक्षित महिलाले यसको पत्तै पाउँदैनन्। अझ नातामा दिदी, मामा, सानिमा, काका, भिनाजु आदि पर्ने पनि कमिसनको लोभमा दलाल बनेको देख्न पाइन्छ। रेग्मी भन्छन्, "सम्भावित जोखिम नबुझीकन उसलाई नि हुने, आफूलाई नि हुने ठानेर आफन्त नै दलाल बनेका छन्।"

सुरुमा कामदारकै रूपमा गएर पनि पछि दलाल बनेकानवलपरासीको सुनवल-५, बिसासयकी चन्द्रकला कुँवर, ४०, त्यस्तैमध्येकी एक हुन्, जो दुईपटक साउदी अरब र एकपटक कुवेत गएर फर्केपछि अहिले दलाल बनेकी छन्। हालसम्म उनले ५० भन्दा बढी महिलालाई साउदी अरब र कुवेत पठाएकी छन्, त्यो पनि मुम्बईकै बाटो प्रयोग गरेर। पछिल्लो समय भारतको चेन्नईसमेत राम्रो ट्रान्जिट बन्न थालेको छ।

कम उमेरका महिला दलालहरूको बढ्तै निशानामा पर्ने गरेका छन्। दुई सयभन्दा बढी महिलालाई विदेश पठाइसकेका नवलपरासीको बन्जरयिाका एक दलाल भन्छन्, "जति कम उमेरका केटी पठायो, त्यति नै बढी कमिसन मिल्छ।" उनका अनुसार २१ देखि २८ वर्षका महिलालाई मुम्बईसम्म पुर्‍याउनेले ८० हजार रुपियाँ र त्यसभन्दा बढी उमेरका महिलालाई पुर्‍याउनेले ६० देखि ६५ हजार रुपियाँ कमिसन पाउँछन्। तिनीहरूले पाँचदेखि २० हजारसम्म प्रतिव्यक्ति कमिसन दिने गरी स्थानीय दलाललाई प्रयोग गर्छन्।

मुम्बई, चेन्नईजस्ता ट्रान्जिटमा पुगेपछि कुँवरजस्ता 'भिजिवल' दलालको काम सकिन्छ। त्यसपछि महिलाहरू 'इन्भिजिवल' दलालको सम्पर्कमा आउँछन्। त्यहाँ केही समय अध्यागमनमा गर्नुपर्ने व्यवहारबारे सिकाएपछि उनीहरूलाई तय गरएिको गन्तव्यतर्फ पठाइन्छ। अर्काथरी दलालहरू आफन्त वा साथीभाइ भेट्ने बहानामा भिजिटिङ् भिसामा पठाएर आफ्ना चिनजानका मान्छेकहाँ काम लगाइदिन्छन्।

मुख्य तस्करहरूले दलालहरूलाई दिने पैसा निकै सीमित हुन्छ, जसबाट स्थानीय दलालको कमिसन, पासपोर्ट, मुम्बई र त्यहाँबाट खाडी गन्तव्यसम्मको टिकट खर्च एवं कतिपय अवस्थामा महिलाको परविारलाई फकाउन समेत केही हजार खर्चनुपर्ने हुन्छ। त्यसरी जाने क्रममा महिला दलाल नै प्रायः साथमा हुने हुँदा उनीहरू सीमाका सुरक्षाकर्मीलाई झुक्याउन सफल छन्। "कहिल्यै घरबाट बाहिर ननिस्केका र नेपाली अक्षरसमेत नचिन्ने महिला विदेश पुग्ने हतारोमा हुन्छन्," सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद पोखरेल भन्छन्, "त्यसमाथि उनीहरू आफ्नो विवेकभन्दा बढी अरूकै भर र आश्वासनमा पर्छन्।"

सिन्धुपाल्चोकको मध्य र पश्चिमी भेगका गाउँबाट महिलाको ठूलो संख्या विदेशिएको छ, जसमध्ये सिम्पालकाभ्रे, गोल्चे, गुम्बा, भोताङ, थाङपालकोट, धाप, बरुवा, हेलम्बु, बाँसखर्क, पाल्चोक, गुन्सालगायत गाविस बढ्तै प्रभावित छन्। थाङपालकोट गाविसका छ सय घरधुरीका महिला खाडीमा छन्। यहाँ वैदेशिक रोजगारलाई माध्यम बनाएर सीधै बेचबिखन गर्नेहरू पनि छन्।

"अध्यागमनमा अनुगमनकै क्रममा थुप्रै त्यस्ता कम उमेरका युवतीहरू भेटिन्छन्," वैदेशिक रोजगार प्रवर्द्धन विभागका निर्देशक सूर्यप्रसाद भण्डारी भन्छन्, "तर, पासपोर्टमा उमेर कानुनबमोजिम पुग्ने नै बनाइएको हुन्छ, हामी केही गर्न सक्दैनौँ।" दलालहरूले रोजगारमा जाने महिलाका परविारमा यतिसम्म मनोवैज्ञानिक पकड जमाएका हुन्छन् कि उनीहरू स्वयं गाविस सचिवलाई समेत 'बच्चा मेरो कि तिम्रो' भन्दै उमेर बढाएर जन्मदर्ता वा नागरकिताका लागि सिफारसि गराउन दबाब दिन्छन्। प्रजिअ भन्छन्, "धेरै काम गरेर थिचिएको भन्छन्।"

२४ साउनमा सरकारले खाडी मुलुक जाने महिला कामदारको उमेरलाई १८ बाट बढाएर ३० कायम गरेको छ। उमेरको नयाँ हदले दलालहरूलाई केही निरुत्साहित गर्न सक्छ।



(साथमा, चित्रांग थापा/धनगढी, ऋषिराम पौड्याल/सिन्धुपाल्चोक, चेतन अधिकारी/झापा, बेचु गौँड/परासी, अमृता अनमोल/बुटवल) नेपाल :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com