उपत्यकामा टाईफाइडको जोखिम I

काठमाडौँ, साउन १८,

खानेपानी तथा ढल निकासको उचित व्यवस्थापन अभाव र दूषित पानीका कारण काठमाडौँ उपत्यकामा टाइफाइड ज्वरोको उच्च जोखिम रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

सङ्गठनले सरकारी तथा निजी क्षेत्रका अस्पतालमा उपचारका लागि आएका बिरामीमा गरेको अध्ययनका आधारमा यसको पुष्टि भएको बताएको हो। यस्तो अवस्थालाई कम गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो ज्वरो नियन्त्रण गर्न उच्च प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरिरहेको छ।
स्वास्थ्य सेवा विभागले अन्तर्राष्ट्रिय खोप संस्थाको आर्थिक एवम् प्राविधिक सहयोगमा हाल टाइफाइड ज्वरोविरुद्धको खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। पन्ध्र वर्षमुनिका बालबालिकामा सो ज्वरो अत्यधिक देखिने गर्छ। दूषित पानीका कारण टाइफाइड ज्वरो आउने चिकित्सकले जनाएका छन्।

बालस्वास्थ्य महाशाखाका निर्देशक डा श्यामराज उपे्रतीले १५ वर्षमुनिका बाललबालिकालाई सो ज्वरोको विरुद्धमा खोप कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार ललितपुर र भक्तपुरका करिब ४०० विद्यालयका करिब ७० हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने कार्य सम्पन्न भइसकेको छ। महाशाखाले हाल सो खोप कार्यक्रम काठमाडौँ जिल्लाका बालबालिकामा पनि लागु गर्न आन्तरिक तयारी गरिरहेको छ।

टाइफाइडविरुद्धका खोप कार्यक्रमलाई देशव्यापी बनाउन मन्त्रालयले नीतिगतरुपमा काम सुरु गरिसकेको महाशाखाले जनाएको छ। ललितपुरका जनस्वास्थ्य अधिकृत बालकृष्ण भुसालले टाइफाइडविरुद्धको खोपको सकारात्मक प्रभाव परेको बताए। रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com