गरिवको पहिचान गरि आउने महिना बाट परिचय पत्र दिइने I

काठमाडौँ, भदौ ६,

गरिब घरपरिवारको पहिचान गरी परिचयपत्र वितरण गर्ने कार्यलाई व्यवस्थापन गर्न केन्द्रीय समन्वय बोर्डको गठन गरिएको छ।

गरिबी निवारण कोषका उपाध्यक्ष जनकराज जोशी अध्यक्ष रहेको १० सदस्यीय बोर्डमा अर्थ सचिव, गृह सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, राष्ट्रिय योजना आयोगका सचिव, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव, शहरी विकास मन्त्रालयका सचिव, केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक तथा गरिबी निवारण कोषका कार्यकारी निर्देशक रहेका छन्।

यो बोर्डले परिचयपत्र वितरण सम्बन्धी नीतिगत, कानुनी संरचनागत र अन्य व्यवस्थापकीय कार्यहरू गर्ने कोषले जनाएको छ। बोर्डको सचिवालय राष्ट्रिय योजना आयोगअन्तर्गतको गरिबी निवारण महाशाखामा रहने छ।

नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेलको उपस्थितिमा विभिन्न मन्त्रालयका सचिव र गरिब परिचयपत्र वितरण गर्न गठित निर्देशक तथा प्राविधिक समितिका प्रतिनिधिहरूको आज सम्पन्न बैठकले उक्त निर्णय गरेको हो। सरकारले आगामी असोज १ गतेदेखि गरिब परिचयपत्र वितरण सुरु गर्ने लक्ष्य लिएको छ। रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com