म झमझम पानीमा रुझ्न असाध्यै मन पराउँछु। चितवनमा स्कुल पढ्दा हामी तीनजना साथी मञ्जु, म र सिर्जना भिज्ने कुरामा माहिर थियौं। बर्खामा पानी परेका बेला अरू ओत लाग्थे, हामी भिज्दै स्कुल जान्थ्यौं, फर्कन्थ्यौं।
किताबलाई प्लास्टिकले बेरेर सुरक्षित तुल्याएपछि भिज्नुको आनन्द नै बेग्लै हुन्थ्यो। सिनियर दाइहरूले 'यी मोरीहरूलाई कस्तो बैंस लागेको' भनेर जिस्काउँथे, त्यसले हामीलाई भिज्न थप हौसला दिन्थ्यो। लामो गर्मीपछि अचानक पर्ने पानीका कारण पनि ममा भिज्न रहर जाग्थ्यो।
पानीमा भिज्ने मात्र होइन, परिरहेको पानीमा बसेर आनन्द लिनेमध्ये म पनि एक हुँ। राति पानी परिरहेका बेला त्यसको आवाज सुन्दै सुत्दा मलाई गहिरो निद्रा लाग्छ। यद्यपि लगातार तीन-चार दिन पानी पर्यो भने चाहिँ अलि अल्छी भइन्छ। काठमाडौंमा पानीको निकास राम्रो नभएकाले त्यसरी पानी पर्दा सडक पोखरी र बाटो हिलो हुने भएकाले पनि लामो बर्खा धेरैलाई मन नपरेको हो।
पानीप्रतिको गहिरो लगावकै कारण हुनसक्छ, अचानक परेको पानी मेरा लागि सधैं लक्की हुने गरेको छ। मलाई सम्झना छ, मैले एसएलसीको आफ्नो रिजल्ट थाहा पाउनु केही क्षणअघि अचानक पानी परेको थियो। पानीमा रुज्दै म विद्यालय पुगेकी थिएँ। त्यहाँ म उत्तीर्ण भएको उपलक्ष्यमा सरहरूले बधाई दिनुभएको थियो। मैले आफ्नो पहिलो म्युजिक भिडियो पनि पानीमा रुज्दै गरेकी थिएँ।
सबैभन्दा रमाइलो र आश्चर्यजनक कुरा के भने मैले लामो संघर्षपछि चपली हाइटमा नायिकाका रूपमा काम गर्ने अवसर पाएँ। लाजिम्पाटस्थित एउटा रेस्टुराँमा उक्त चलचित्रको साइन गर्दा अचानक पानी परेको थियो। म भिज्दै घर आएँकी थिएँ। त्यो बेला साथीहरूले 'पानी परिरहेको छ, अहिले नजाऊ' भनेका थिए, तर खुसीले मेरो खुट्टा भुँइमा थिएन, त्यसैले भिज्दै घर आएँ। वर्षौंको मेहनतपछि पाएको काम र भिज्नुको त्यो संयुक्त आनन्द म अहिले पनि सम्झिरहेकी छु।
चैत ३ गते चपली हाइट रिलिज हुने भयो। एउटा कलाकारलाई आफ्नो पहिलो चलचित्र रिलिज हुँदा कति बेचैनी हुन्छ, कल्पना गर्दा पनि गाह्रो हुन्छ। अचानक चैत २ गते झमझम पानी पर्यो। त्यो बेला म स्योर भएँ, चलचित्र हिट हुन्छ। नभन्दै हिट पनि भयो। त्यसैले म भन्छु झरी र मबीच अनौठो कनेक्सन छ।
अहिले सहरमा मेरो दोस्रो चलचित्र 'फुलस्टप' प्रदर्शनको तयारीमा छ। फुलस्टपका लागि मैले गोरखाको दरौंदी खोलामा चार घन्टा भिजेर ग्लामरस सिन दिएकी छु। चार-चार घन्टा त्यो चिसो पानीमा भिज्दा पनि मलाई रुघा लागेन। साप्ताहिकको ब्लोअपका लागि पानीमा भिजेर गरेको फोटोसुट पनि निकै चर्चित भयो। यी सबै कुराले गर्दा मलाई भन्न मन लाग्छ- मेरो जीवनमा पानी र जवानीको ठूलो भूमिका छ। sptk:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै