पेसाले पत्रकार हुन्, केपी किरण शर्मा, ३६। अहिले भने चेपाङका सहयात्रीका रूपमा चिनिँदै छन्। परविारको सल्लाहमा दुबई पुगेका शर्माले त्यहाँ खासै पैसा कमाउन सकेनन्।
बाल्यकालदेखि नै दीनदुःखीलाई सहयोग गर्न हुरुक्कै हुने शर्माले नेपाल आएर सञ्चारकर्म र सामाजिक क्षेत्रमा हात हाल्ने निधो गरे। त्यसका लागि चेपाङलाई लक्षित गर्दै गामबेँसी नामक मासिक पत्रिका प्रकाशन गरे। कार्यक्षेत्र बनाए, चेपाङहरूको बसोबास रहेको चितवनको सिद्धि गाविसलाई।
शर्मा चेपाङ बस्तीमा पुगेर त्यहाँका बालबालिका र बूढापाकाका दुःख-कष्ट बुझ्ने प्रयास गर्छन्। "समाजसेवा स्वार्थका लागि गरँिदैन," शर्मा भन्छन्, "निःस्वार्थ रूपमा कसैको सेवा गरन्िछ भने त्यो नै विशुद्ध समाजसेवा हो।" उनी कुनै संघसंस्थासँग आबद्ध छैनन्।
शर्माले विद्यालयनजिक नहुँदा पढाइबाट वञ्चित भई मजदुरी गर्न बाध्य बालबालिकालाई छात्रावासमा राखेर पढाउन सघाएका छन्। फलस्वरूप १५ घरका २५ जना बालबालिकाले पढ्न पाएका छन्। पाँचदेखि १३ वर्ष उमेरका बालबालिकालाई पिठुवास्थित विन्ध्येश्वरी निम्न माध्यमिक विद्यालयको छात्रावासमा राखेर पढाइएको छ। उनकै अगुवाइमा विद्यार्थीलाई खुवाउनेदेखि पढाउनेसम्म काम भएको छ।
विद्यालयले उपलब्ध गराएको एउटा कोठामा बालबालिकालाई राखिएको छ। "घरका दुई छोरालाई श्रीमतीले हेरविचार गर्छिन्," शर्मा भन्छन्, "छात्रावासका २५ जना छोराछोरीलाई म एक्लै हेर्छु।" उनको अभियानलाई विद्यालयका शिक्षक र अभिभावकले पनि होस्टेमा हँैसे गररिहेका छन्।
शर्मा दैनिकजसो छात्रावासका बालबालिकालाई खुवाउने तरकारी माग्न हाटबजार पुग्छन्। बालबालिकाका लागि केही संघसंस्थाले स्टेसनरी र पोसाक सहयोग गरेका छन्। "जीवनमा पैसा कमाउनु मात्र ठूलो कुरा होइन रहेछ," शर्माको ठहर छ, "अरूका लागि केही गर्न सके त्यसको सन्तुष्टि अलग्गै खालको हुन्छ।"
त्यसो त कतिपय संघसंस्थाले दाताका भरमा चितवनका अरू स्थानमा रहेका चेपाङ समुदायलाई सहयोग नगरेका होइनन्। शर्माले भने चन्दा मागेर अहिलेसम्म शिक्षाको ज्योति छर्दै आएका छन्। "पहिला गाउँ जाँदा छोराछोरी पढाउनुपर्छ भन्ने मानसिकता चेपाङ समुदायका अभिभावकमा थिएन," उनी भन्छन्, "बिस्तारै उनीहरू बदलिँदै छन्।"
सरकारी निकाय चहार्दा पनि सहयोग नपाएपछि शर्मा आफैँले चेपाङ वस्तीमा चार वर्षअघि बालबालिका पढाउने अभियान सुरु गरेका रहेछन्। अहिले तिनै बालबालिकाहरू कन्दमूलको सट्टा राम्रो खाना खान र लगाउन पाउँदा दंग छन्। शर्मा अरू बालबालिकालाई पनि ल्याएर पढाउन चाहन्छन्। तर, उनीसँग स्रोत-साधनको कमी छ। भन्छन्, "धनले गर्दा कहिलेकाहीँ आँटेको काम फत्ते गर्न नसकिने रहेछ।"
उनले चाहेका भए संस्था दर्ता गरेर सहयोग जुटाउन सक्थे। त्यसो गर्नु भनेको उनकै शब्दमा "चेपाङ बालबालिकालाई भजाएर खानुजस्तै हो।"
नेपाल