मात्रिका र बिपी को झगडा I

विसं २००७ मा वनारस हिन्दु विश्वविद्यालयको उत्पादन मूलधारको राजनीतिमा सक्रिय थियो। नेपाली राष्ट्रिय कांग्रेसको गठन हुनुअघि नै हामीले नेपाली छात्र संघ स्थापना गरेका थियौँ। कृष्णप्रसाद भट्टराई त्यसका उपाध्यक्ष हुनुहुन्थ्यो।

खासमा यो राजनीतिक अभियानको प्रारम्भ थियो। प्रजातन्त्रबारे ज्ञान भएका व्यक्तिहरूकै जमात भएकाले यो संस्था नेपाली राष्ट्रिय कांग्रेस र बीपी कोइराला आदिका निम्ति सहयोगी संस्था भइदियो। तसर्थ, यस्तो राजनीतिक पृष्ठभूमिबाट आएको र राजनीतिक व्यक्ति भएकै नाताले मेरो मनमा पनि कतै जागिर खाऊँला भन्ने थिएन।

छात्र संघमा क्रियाशील भएर आएका व्यक्तिहरूमध्ये कृष्णप्रसाद भट्टराई नेपाली राष्ट्रिय कांग्रेसको संस्थापक सदस्य नै बन्नुभयो भने परशुनारायण चौधरी र म पनि मातृकाप्रसाद कोइरालाको कार्यसमितिमा आइसकेका थियौँ। हामीमध्येकै भरतमणि शर्मा त कांग्रेस-राणा सम्झौतापछि मन्त्रिपरष्िाद्मै सहभागी हुनुभयो। यसरी नै राजनीतिका विभिन्न क्षेत्रमा वनारसको उत्पादन क्रियाशील थिए। त्यसबेला छात्र संघमा क्रियाशील धेरै साथीहरू एकीकरणपछि बनेको नेपाली कांग्रेसको पनि उच्च ओहदामा पुगिसकेका थिए।

००७ सालको दिल्ली सम्झौतापछि बीपी कोइराला गृहमन्त्री बन्नुभयो। उहाँले मलाई गोरखाको बडाहाकिम भएर जान भन्नुभयो। वास्तवमा त्यसबेला गोरखामा भरतशमशेर राणाको गोरखा परष्िाद् अर्थात् खुकुरी दलले तान्डव नै मच्चाएको थियो। कांग्रेसहरूलाई छानीछानी कुटिन्थ्यो। राजेश्वर देवकोटाको त टाउको नै फुटाइदिएको थियो। तसर्थ, गोरखाकै मानिसहरूको मागका कारण मलाई जान भनेको बीपीको भनाइ थियो। त्यसबेला पार्टी सभापति मातृकाप्रसाद हुनुहुन्थ्यो। सुरुमा त जान मन थिएन तर गृहक्षेत्र भएकाले पनि एक मनले गोरखा जाऊँजस्तो लाग्यो र गएँ।

गोरखामा क्षेत्रीहरू प्रायः गोरखा परष्िाद्मा लागेका रहेछन्। बस्नेत, पाण्डे आदि विभिन्न थरका भए पनि हामी बगाले थापा भएकाले प्रायः हाम्रो साइनोमा पर्नेहरू नै थिए त्यहाँ, जससँग म पारविारकि दृष्टिले पनि कुराकानी गर्न सक्थेँ। मेरा बुबा माइलो काजीका नामले चिनिनुहुन्थ्यो। त्यसैले मैले अतिरत्तिm चिनारी दिनुपर्दैनथ्यो। बीपीले मलाई गोरखा पठाउनुको खास कारण पनि यही थियो।

बडाहाकिमको काम त सीमित थियो। तर, गोरखा परष्िाद्ले केही हूलदंगा गरे पनि शान्ति सुव्यवस्था कायम गर्न मलाई त्यति गाह्रो परेन। भरतशमशेर गोरखा आउन खोजेका थिए तर मैले सूचना नै जारी गरििदएँ, 'शान्ति सुव्यवस्था खलल गर्ने हिसाबले यदि गोरखामा पाइला टेके भने जेल हालिनेछ।' त्यो सूचनापछि उनले धादिङबाट गोरखा पस्ने आँटै गरेनन्, काठमाडौँ फर्किए। यस घटनाले गोरखा परष्िाद् पक्षधरमा ठूलो मनोवैज्ञानिक दबाब पर्‍यो। 'बबरशमशेरको नातिलाई समेत थुनिदिन्छु भन्नेले हामीलाई त के बाँकी राख्ला र' भन्न थाले।

गोरखामा बडाहाकिम भए पनि मेरो काठमाडौँ आवतजावत बरोबर थियो। यता काठमाडौँमा बीपी र मातृकाको द्वन्द्व बढ्दै थियो। कारण किटेर भन्न गाह्रो छ। एकथरीले राजा त्रिभुवनले गोटी चालेको पनि भन्छन् र अर्काथरी बीपीको राजनीतिक महत्त्वाकांक्षाका कारण यस्तो भएको दाबी गर्छन्। तर, बीपीले मलाई बताए अनुसार उहाँलाई लागेछ कि सरकारको नेतृत्व आफ्नो हातमा नआउन्जेल केही गर्न सकिँदो रहेनछ। जे भए पनि बीपी तत्कालीन सरकारको पृष्ठभूमिमा रहेको 'दिल्ली सम्झौता'लाई तोड्न चाहनुहुन्थ्यो। र, काठमाडौँकै राजनीतिले प्रधानमन्त्री भएको देखाउन चाहनुहुन्थ्यो। तसर्थ, उहाँले अकस्मात् गृहमन्त्रीबाट राजीनामा दिनुभयो।

मोहनशमशेरले बीपीको राजीनामातर्फ इंगित गर्दै भनेका थिए रे, "कोइरालाज्यू, मलाई निकाल्ने प्रयास नगर्नूस्। तपाईंले राजालाई चिन्नुभएकै छैन, उनीहरू कति चिप्ला हुन्छन् ! बरू चुनाव गर्नूस्। म त उठ्ने होइन, तपाईंहरूकै पार्टीले बहुमत ल्याउने हो। त्यसपछि तपाईं नै प्रधानमन्त्री हुने हो। हतार नगर्नूस्।" तर, बीपीले मोहनशमशेरको कुरा पत्याउनुभएन। दाजु -मातृका)को कुरा पत्याएर राजीनामामा अडिग रहनुभयो।

राजा त्रिभुवनले बीपीको राजीनामापछि 'दिल्ली सम्झौता भंग भएकाले म नयाँ सरकार बनाउँछु' भन्न थाले। मोहनशमशेरले पनि प्रधानमन्त्रीबाट राजीनामा दिए। त्यसपछि नयाँ प्रधानमन्त्रीको खोजी हुन थाल्यो। गृहमन्त्री पनि भइसकेको र कांग्रेसको प्रथम व्यक्ति पनि भएकाले राजाले आफूलाई नै प्रधानमन्त्री बनाउँछन्भन्ने विश्वासमा बीपी हुनुहुन्थ्यो। तर, तत्कालीन भारतीय राजदूत चन्द्रेश्वरप्रसाद नारायण सिन्हा -सीपीएन)ले कांग्रेसभित्रै खेले।

उनले नक्कली आकाशवाणी तयार गरी 'जवाहरलाल नेहरूले बीपी होइन, मातृकालाई प्रधानमन्त्री बनाउन राजालाई निर्देशन दिएको' हल्ला फैलाए। पार्टीभित्रै पनि मातृकालाई उचाल्ने एउटा ठूलै संयन्त्र थियो। त्यस संयन्त्रले 'भाइको नाम किन? आफ्नै नाम दिन' मातृकालाई उकासे। मातृका नै प्रधानमन्त्री बन्नुभयो। कांग्रेसका तर्फबाट अघिल्लो सरकारमा सामेल सबै मन्त्रीलाई मातृकाले आफ्नो मन्त्रिपरष्िाद्मा पनि सामेल गर्नुभयो।

बीपीले मन्त्री बन्न मान्नुभएन। फेर िझगडा सुरु भयो। बीपीले पार्टीमा सक्रिय हुन्छु भन्दै कार्यवाहक सभापति आफूले पाउनुपर्ने माग राख्नुभयो। सुरुमा मातृकाले मान्नुभएनतर भारतीय समाजवादी नेता जयप्रकाश नारायणले पटनामा बीपी र मातृकालाई बोलाएर मध्यस्थता गरेपछि मातृकाले बीपीलाई कार्यवाहक सभापति दिनुभयो।

यतिबेलासम्म म गोरखामै बडाहाकिम थिएँ। मातृका-बीपीको यस्तो द्वन्द्वपछि मलाई बडाहाकिम भएर बस्न मन लागेन। गोरखाबाटै राजीनामा गर्न चाहेको खबर पठाएँ। तर, मातृकाले यहीँ सल्लाह गरौँला भनी मलाई काठमाडौँ बोलाउनुभयो। उहाँले भन्नुभयो, "हिजोसम्म बडाहाकिम हुने, आज म प्रधानमन्त्री भएपछि छोड्ने?" मैले पनि अब गोरखा जान्न, बरू पोखरा जान्छु भनेँ।

काठमाडौँबाट महावीरशमशेरको निजी सीबीसी हेलिकप्टर लिएर पोखरा गएँ। गोरखा र पोखराको समस्या भिन्न थिएन। करबि सात महिना त्यहाँ बिताउँदा यता काठमाडौँमा बीपी र मातृकाबीचको झगडा उत्कर्षमा पुग्यो। कांग्रेसमै पनि भाइभाइबीच अंशबन्डा भएको थियो। एकै परविारका व्यक्ति पनि कोही बीपीतिर लागेका थिए भने कोही मातृकातर्फ। यसबीचमा जनकपुर महाधिवेशनबाट बीपी सभापतिमा निर्वाचित भइसक्नुभएको थियो।

यसैबीच, विशालनगरमा बसेको महासमितिका सदस्यहरूको विशेष अधिवेशनले मातृकाको राजीनामा माग्यो। उहाँले नमानेपछि बीपीले मन्त्रिपरष्िाद्मा सहभागी आफ्नातर्फका सदस्यहरूलाई राजीनामा गर्न लगाउनुभयो। सुवर्णशमशेर, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय आदिले राजीनामा दिए। र, मातृकामाथि अनुशासनको कारबाही गरयिो। मातृकाले एक किसिमले अधिवेशन बहिष्कार नै गर्नुभएको थियोतर प्रधानमन्त्रीबाट भने राजीनामा गर्नुभयो र अर्को दिन राष्ट्रिय प्रजा पार्टी स्थापना गर्नुभयो। राजाले भने उहाँलाई नै फेर िप्रधानमन्त्री बनाउनुभयो।

त्यसपछि मैले पनि बडाहाकिमबाट राजीनामा दिएँर सात दिन हिँडेर काठमाडौँ आएँ। कांग्रेस केन्द्रीय समितिबाट राजीनामा दिएर बडाहाकिम भएको थिएँ। बडाहाकिम पनि नरहेपछि अब कहाँ जाने? समस्या पर्‍यो। त्यसपछि म विराटनगरतर्फ लागेँ। त्यहीँ संगठित भएँ।

- प्रस् तुति : ईश्वरी ज्ञवाली: नेपाल:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com