पूर्व रातो हुँदै गर्दा, १०० $ बाट पुरस्कृत कबिता-मीरा थापा I

नारीदर्पा डट-कमको तर्फ बाट पनि मीरा थाहा ज्यु लाइ हार्दिक बधाई तथा शुभकामना व्यक्त व्यक्त गर्दछ :

 तेस्रो अन्तरराष्ट्रिय नेपाली कबिता महोत्सव (नेपाली साहित्य प्रतिस्ठान - उत्तर अमेरिका) को नतिजा अनुसार टप टेन मा पर्न सफल "संयोजक प्रिय" $१०० प्राप्त कबी मिरा थापाको प्रतियोगी कबिता:

पूर्व रातो हुँदै गर्दा .(कविता )

रहरहरूका सिगुंल माला उनेर ,
बाध्यता र बिवसताको बर्को पहिरिंदै ,
आँखाभरी जून फूलेको मिर्मिरेमा,
सपना र चाहनाको लामो फेहरिस्त ,
छातीभरी खोपेर ,
मैले घर छोडेकी थिएँ.


रातो हुँदै गरेको पूर्वसँग दुरी बढाउँदै,
अनवरत लम्केका मेरा पाइलाहरू,
आज यो मृत सागरको किनारामा थामिएका छन् ,
म हेर्दो छु पर-पर सम्म,
हावाको एक झोँकाले मेरो शरीर बढार्दै,
सडक पेटिमा लाम लागेर ठडिएका,
जैतुनका रूखबाट,
फूलहरू चुँडेर सडकभरी पोखिदिन्छ,
मेरा आँखाबाट आँशु पोखिए जस्तै,


समयको बहावसँग बग्नु जिन्दगी नहुँदो हो त,
तिर्खाले खोला धाउँनु बाध्यता नहुदो हो त,
मेरा उछितो काडिएका जवान रातहरू,
आलिंगनको तिर्सनाले सिरानीमा नपोखिदो हो,
दर्किएको बलेसीमा उठेका पानीका भुल्भुले झै,
यौवनका छालहरू क्षण मै नबिलाउँदो हो,
हो ,
समयको हुरीले उडाएर मलाई,
आज यो मृत सागरको किनारामा पछारेको छ|


तर अचानक ,
मेरो टाउको माथि उडेको कालो बादलले
आँखामा चाँदीको घेरो बिम्बित गरायो,
टारका टार तोरीबारी फूले झैँ,
मनभरी दृढ इच्छा फूलेर आयो ,
म उभिएकी छु आफ्नै पैतालामा ,
यो आगो जस्तो घामले पोल्न सक्दैन अब मेरो लक्ष्य,
भोगाइका सारा तिक्ततालाई,
कस्छु पटुकी बनाएर कम्मरमा,
अब यो मृत सागरको किनार देखि ,
सगरमाथाको शीर सम्मको मेरो यात्रा,
उबड खाबड र आँधिबेहेरीले रोक्न सक्ने छैनन्,
मेरो सूनाखरी र गुँरास फुल्ने पाखाहरू,
लैबरी र मारूनीका भाकाहरू,
आँखामा बसिसके,
मनमा गुन्जीसके|


सुर्यास्त हुनै लाग्दा देखी सुरू भएको,
मेरो यो यात्रामा,
आफ्नै आँखाको चमक र,
आकाशका ताराहरूले बाटो देखाउँनेछन्
चराहरुको चिर्बिर सगै,
फेरी एक पटक पूर्व रातो हुँदै गर्दा,
मेरो माटो चुम्न,
कसो नपुगुँला.............!

मीरा थापा
माइधार/झापा
हाल-इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com