काठमाडौं, जेठ २६,
दीपक दाहाल :- राजधानी आसपासकै जिल्लामा जीवनरक्षक मानिने सलाइन अभाव भएको छ। अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन नगरिएको भन्दै आयातकर्ताले आयात नगरेपछि सलाइन अभाव भएको हो।
औषध व्यवस्था विभागका प्रमुख राधारमण प्रसाद साहले अन्तर्राष्ट्रिय बजारमा भएको डलर तथा ढुवानी भाडामा भएको वृद्धिले सलाइन आपूर्ति नभएको जानकारी दिए। 'लामो समयसम्म भएको आमहडतालले पश्चिम तथा राजधानी वरपरका जिल्लामा सलाइन बढी अभाव छ,' उनले भने।
आयातकर्ताले सलाइनको मूल्यवृद्धि नगरेसम्म आयात गर्न नसक्ने बताएपछि आफूले पहल सुरु गरेको जानकारी दिए। विभागले नेपाली बजारमा विभिन्न प्रकारका सलाइनको अधिकतम खुद्रा मूल्य तोकेको छ। २०५२ सालमा तोकिएको मूल्य २०६८ चैतमा हेरफेर गरिएको थियो। हालको मूल्यमा १० देखि १५ प्रतिशतसम्म वृद्धि नगरे बजारमा आपूर्ति गर्न नसक्ने व्यवसायी बताउँछन्।
बजार र स्वास्थ्य संस्थामा तीन महिनासम्म स्टक रहेमा मात्र कुनै पनि औषधी पर्याप्त भएको मानिन्छ। कतिपय ठाउँमा बडो मुस्किलले व्यवस्थापन गरिरहेको व्यवसायीको भनाइ छ। भारतबाट सलाइन आउन रोकिएपछि पहिल्यै आयात गरिएको केही स्टक वीरगन्जमा थियो। जेठमा भएको लामो बन्द र त्यसलगत्तै ढुवानी भाडामा अत्यधिक वृद्धि भएपछि आयातकर्ताले घाटा खाएर व्यापार गर्न नसक्ने भन्दै भएको स्टकबाट पनि सलाइन नदिएकोे औषधि व्यवसायी संघ (एनसिडिए) का अध्यक्ष बाबुराम भट्टराईले बताए।
झाडापखालाको बेलामा प्रयोग हुने रिंगल ल्याक्टेड र सामान्य कमजोरी लगायत अधिकांश अवस्थामा प्रयोग हुने नर्मल सलाइनको अभाव छ। धेरै सरकारी अस्पतालमा प्रयोग गरिने सिसाको बोतलको सलाइन पनि अभाव छ। सिसाको बोतल चर्किएको देख्न सकिने र प्लास्टिकमा सानो प्वाल पर्दा पनि ढुसी लाग्ने सम्भावना बढी हुन्छ।
नेपाली बजारमा खपत हुने सबै सलाइन भारत र बंगलादेशबाट आयात हुन्छ। नेपालमा केही वर्षअघि तत्कालीन शाही औषधि लिमिटेड र विजयदीप ल्याबरोटरीजले सलाइन उत्पादन गर्ने गरेकोमा हाल बन्द छ। औषधि व्यवस्था विभागका अनुसार हाल नेपाली बजारमा वार्षिक करिब १ अर्बको सलाइन कारोबार हुन्छ। तुलनात्मक रूपमा उत्पादन खर्च बढी लाग्ने, ढुवानी र भण्डारणसमेत बढी लाग्ने भएकाले नेपाली कम्पनी सलाइन उत्पादनमा लागेका छैनन्। नेपालमा ४९ वटा कम्पनीले औषधी उत्पादन सुरु गरेका छन्। सलाइन उत्पादन गर्न कम्पनीलाई ३० देखि ४० करोड थप खर्च लाग्छ।
केमा कति वृद्धि?
डलरको भाउ वृद्धिले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेपछि भारतीय कम्पनीले नै सलाइनको मूल्य बढाएका थिए। भारतीय बजारमा सलाइनको भारु १७ देखि १९ सम्म अधिकतम खुद्रा मूल्य रहेकोमा बढेर २३ देखि २५ पुगेको आयातकर्ता श्रवण गोर्खालीले बताए। नेपालमा ढुवानी भाडामा पनि ठूलो परिमाणमा वृद्धि भएको अध्यक्ष भट्टराइको भनाइ छ। भारत र बंगलादेशबाट आउने सलाइन वीरगन्ज भएर आउँछ। पहिले वीरगन्जबाट काठमाडौंका लागि १७–१८ हजार ढुवानी भाडा पर्ने गरेकोमा हाल ३६ हजारभन्दा बढी पर्ने व्यवसायीको दाबी छ।
कार्टुनका आधारमा ल्याउँदासमेत तौल बढी हुने भएकाले सलाइनमा निकै कम नाफा हुने उनीहरू बताउँछन्। 'एक कार्टुन सलाइनको १ हजार ७ सय हाराहारीमा पर्छ, एक कार्टुनमा औषधी ल्याउँदा २५ हजार हाराहारी मूल्य पर्छ,' भट्टराईले भने, 'तौल बढी जोखिम र नाफा कम हुनाले पनि व्यवसायीलाई मूल्य समायोजन नगरी ल्याइहाल भन्नसक्ने अवस्थामा छैन।'
नुन, पानी र ग्लुकोजको मिश्रणलाई सलाइन भनिन्छ। सलाइनमा ग्लुकोज ५ देखि प्रतिशत १० प्रतिशत, नरमल एन/एस, डेक्सट्रोज र सोडियम क्लोराइड हुन्छ। रिँगल लेक्टेड जस्ता सलाइन प्रयोग बढी हँदै आएको छ। यीमध्ये ११ प्रकारका सलाइनको मूल्य विभागले तोकेको छ। २०५२ सालमा तोकेको मूल्य विभागले २०६८ मा परिमार्जन गरेको थियो। सामान्य सलाइनको मूल्य विभागले ३४ रुपैयाँ तोकेको छ भने रिँगल लेक्टेडको ५२ रुपैयाँ छ। सिसाको बोलत र युरो हेड भएका सलाइनको मूल्यमा ४ देखि ६ रुपैयाँ अन्तर हुन्छ।
विभाग र एसिडिएको पहल
व्यवसायीले सलाइनको मूल्य नबढाएसम्म कठिन भएको भन्दै आयात ठप्प पारेपछि विभागले औषधी मूल्य अनुगमन समितिको आकस्मिक बैठक बोलाएको छ। मन्त्री अध्यक्ष रहने समितिमा उत्पादक, व्यवसायी, मन्त्रालय, विभाग र उपभोक्ताका प्रतिनिधि हुन्छन्। समितिले मात्र औषधीको मूल्यमा हेरफेर गर्नसक्छ। बिहीबारै ९ वटा आयतकर्ता कम्पनीका प्रतिनिधिलाई विभागमा बोलाएर छलफल थालिसकेको साहले जानकारी दिए।
सलाइनका अभावलाई तत्काल कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गर्न औषधी बिक्रेताहरूको संस्था एनसिडिएले शनिबारै कन्द्रीय समितिको बैठक बोलाएको छ। बैठकपछि एनसिडिएले आयातकर्ताहरूलाई छलफलको लागि बोलाउने भएको छ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै