पहिलो पटक कठिन कलेजोको सफल सल्यक्रिय I

धरान, जेष्ठ ३२ ,

प्रदिप मेयंगबो :- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले एक महिलाको कलेजोमा रहेको पुरानो ट्युमर शल्यक्रियाबाट निकालेका छन् । चिकित्सा विज्ञानमा जटिल मानिने उक्त शल्यक्रिया पाँचथरको याङ्नाम ५ मगरचेपा बस्ने ५० वर्षीया सुकमाया जबेगुको बायाँ कलेजोमा रहेको करिब २ केजीको ट्युमर निकालेर उपचार गरेका छन् ।

सफल शल्यक्रियापछि प्रतिष्ठानका चिकित्सक एडिसनल प्रोफेसर डा. रजत अग्रवालले पत्रकार सम्मेलन गर्दै भने, 'पेट दुखेर प्रतिष्ठानको बहिरंग विभागमा पाँचथरबाट उपचार गर्न आएकी जबेगुको परीक्षण गर्दा कलेजोमा अनपेक्षित आकारको ट्युमर भएको पत्ता लागेपछि तत्कालै शल्यक्रिया गरिएको हो ।'

डा. अग्रवालका अनुसार जबेगुको बायाँ ट्युमर निकाल्न ५० प्रतिशत कलेजो काटेर फाल्नुपरेको थियो । उनको शल्यक्रिया गर्दा ६ जना चिकित्सकलाई साढे ५ घन्टा लागेको थियो । चिकित्सा विज्ञानमा त्यस्तो ट्युमरलाई हेमाङजिओमा बेनिङ भनिन्छ ।

प्रतिष्ठानको स्कोलरसिपमा भारतको अल इन्डिया मेडिकल इन्सिटच्युट अफ साइन्स एम्समा सर्जरी विशेषज्ञता अध्ययन गरेका अग्रवालले भने, 'शल्यक्रियाको मेरो १२ वर्षे अनुभवमा यस्तो पहिलो पटक गरेको हो ।' प्रतिष्ठानमा उपचार गर्न आएका बेला बिरामी जबेगुका देवर सुमनले समेत प्रतिष्ठानलाई विश्वास गरेकाले अन्यत्र रिफर नगरेको उनले बताए । डा. अग्रवालले भने, 'कलेजको यस्तो शल्यक्रिया जटिल हुने भएकाले बिरामीको आफन्तलाई प्रतिष्ठानमा यस्तो शल्यक्रिया पहिलोपटक हुँदैछ भनेर जानकारी दिएका थिए । उनले आफ्नो कलेजोको शल्यक्रिया गर्ने चिकित्सक भगवान् बराबर भएको प्रतिक्रिया दिइन् ।

जबेगु जेठ १० गते प्रतिष्ठानमा उपचारका लागि आएकी थिइन् । उनको शल्यक्रिया ११ गते गरिएको र दुई दिनसम्म सघन उपचार कक्षमा राखिएको थियो । उनलाई २१ गते डिस्चार्ज गरे पनि केही महिनासम्म चिकित्सकले निगरानीमा राखेका छन् । नियमित परीक्षणमा प्रतिष्ठानमा आएकी जबेगुले भनिन्, 'अहिले सन्चो भएको छ । खाना रुच्न थालेको छ । पहिले जस्तो पीडा छैन । घाउ चाँडै निको हुने विश्वास छ ।' इकान्तिपुर:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com