सर्पले डस्दा अस्पताल नलगी धामीको भर पर्दा ८-बर्षीय बालकको मृत्यु I

राजविराज, असार १४ ,

सप्तरी जिल्लाको हनुमाननगरमा धामीझाँक्रीको भर पर्दा गए राति एक बालकको मृत्यु भएको छ ।

हनुमाननगर-८ निवासी सुरेन्द्र यादवका आठ वर्षीय छोरा कुन्दनलाई विषालु सर्पले डसेपछि स्वास्थ्य संस्थामा पुर्‍याउनुको साटो धामीझाँक्रीबाट सन्चो हुने विश्वास गर्दा मृत्यु भएको हनुमानगर प्रहरीले जनाएको छ ।

बिरामी अन्तिम अवस्थामा पुगेपछि धामीले आफूबाट नहुने भनेपछि बालकलाई अस्पताल ल्याउँदा बाटामै मृत्यु भइसकेको सिअहेव लालकिशोर सिंहले जानकारी दिए ।

अस्पतालले मृत घोषणा गरेपछि पनि धामीको विश्वासमा परी सो सर्प खोजी आज बिहान मृत बालकलाई पुनः डस्न लगाइएको छ ।

बुबा भारततर्फ र आमा ज्याला मजदुरी गर्न खेत गएको बेला सर्पले डसेको बालकले बताएपछि छिमेकीले गाउँकै धामी कहाँ लगेर झारफुक गरेका थिए ।

यही असार २ गते पनि धामी झाँक्रीको भर पर्दा सर्पदंशका बिरामी सप्तरी प्रसवनी ४ निवासी नन्दकिशोर गोइत यादवकी ५८ वर्षीया श्रीमती उर्मिलाको मृत्यु भएको थियो । सप्तरीमा प्रचण्ड गर्मीका कारण जताततै विभिन्न किसिमका विषालु सर्प देखिन थालेका छन् । दैनिक २-३ जना सर्पदंशका बिरामी आउने गरेको राजविराज अस्पतालमा अहिले पनि तीनजना सर्पदंशका बिरामी उपचाररत छन् । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com