नारी , प्रेम र प्रकृति I

तारा कार्की :- सम्पूर्ण शास्त्रले एउटै स्वरले स्वीकार गरेको तथ्य के हो भने जहाँ नारीको अपमान हुन्छ त्यहाँ देवता पनि बस्न रुचाउँदैनन्। नारीको उपस्थिति भएको घर सुशोभित र आनन्ददायक तथा सबै सुलक्षणयुक्त पनि हुन्छ भने नारीबिनाको घर खण्डहर समान हुन्छ। त्यसैले त नारीलाई जननी पनि भनिन्छ। नारीको अर्को नाम प्रकृति हो अर्थात् जसले पैदा गर्न सक्छ। प्रकृति जब प्रेमयुक्त हुन्छ तब जताततै सुवासै-सुवास हुन्छ। 

माटो पनि बोल्न थाल्छ, ठीक त्यसको विपरीत प्रकृति जब उजाड हुन्छ तब सारा पृथ्वी नै खलबलिन्छ। नारी अर्थात् प्रकृतिले जति प्रेम दिन सक्छे त्यति अरू कसैले दिन सक्दैन। चाहे आमाका रूपमा, चाहे छोरीका रूपमा, चाहे पत्नीका रूपमा, चाहे दासीका रूपमा। यही सत्यलाई महसुस गरेर शिवले शक्तिको जन्म दिनुभयो जसलाई हामी शक्तिस्वरूपिणी माता भन्छौं। जो लक्ष्मी, पार्वती, काली, दुर्गा आदि अनेकौं स्वरूपमा हुनुहुन्छ। उहाँहरू पनि समस्त नारी जाति तथा प्रकृतिकै प्रतिनिधि हुनुहुन्छ।

जब शिवको क्रोधले ब्रह्माण्डमा हलचल उत्पन्न गर्छ तब त्यही शक्तिस्वरूपा माता -नारी) ले शिवको शरीरमा आफ्नो प्रेम एवं शक्तियुक्त पाउ राखी शिवको सारा क्रोध आफूमा खिची ब्रह्माण्डलाई त्यो क्रोधाग्निबाट बचाउनुहुन्छ। जब समस्त पुरुषले वध गर्न नसकेका दानव, शुम्भ, निशुम्भ र महिषासुरजस्ता राक्षसको अत्याचारले सीमा नाघ्छ तब त्यही शक्तिस्वरूपा नारीले नै काली बनेर दैत्यहरूको संहार गरी समस्त प्राणी जगत्लाई राहत दिलाउनुहुन्छ। अब हामी सहजै अनुमान लगाउन सक्छौं नारी को हो ? 

नारीको शक्ति कति छ ? जब नारीको प्रेम पग्लन थाल्छ तब उल्लासै-उल्लास मात्र हुन्छ तर जब कसैले नारीको प्रेमलाई कायरता सम्झी त्यसको उपहास गर्न थाल्छ तब त्यो घर परिवार र समाज नै ध्वस्त हुन पुग्छ। नारीको प्रेमका अगाडि पुरुषको प्रेम फिक्का हुन्छ। त्यो चाहे राधाका रूपमा, मिराका रूपमा वा परीका रूपमा नै किन नहोस् ? नारी शक्तिलाई हेर्दा लक्ष्मीबाइको वीरता हेरौं, मार्गरेट थ्याचर वा इन्दिरा गान्धीलाई हेरौं। प्रत्येक स्थानमा नारीले भूमिका पाउँदा आफूलाई सशक्त रूपमा उभ्याएका छन्। 

आज एक्काइसौं शताब्दीमा नारीको आरक्षण होइन कि समानताका लागि लड्नुपर्ने आवश्यकता छ तर हाम्रा नारीवादी नेतृत्व पंक्तिलाई त्यसतर्फ ध्यान दिने फुर्सद छैन। जति दया वा दानशीलता नारी हृदयमा हुन्छ त्यति पुरुषमा हुँदैन। नारी कोमलताकी प्रतीक हुन् भने पुरुष कठोरताका प्रतीक। यसो भन्दा पुरुषहरूको मनमा क्रोध उत्पन्न हुन सक्छ, तुलनात्मक रूपमा विश्लेषण गर्दा पाइने वास्तविकता भने यही हो।

नारीका अगाडि अनेकौं कठिनाइ छन्, अनेकौं व्यवधान छन्। नारीहरू पुरुषभन्दा गम्भीर र असहज अवस्थामा हुन्छन् । तैपनि हाम्रो परिवार र समाजले नारीको कामको मूल्यांकन अत्यन्त हलुका ढङ्गले गरेको पाइन्छ। जागिर खाने कामलाई मात्र काम गरेको मान्ने सामाजिक परिवेशले बिहान उठेदेखि नसुत्दासम्म सधैं घरपरिवारकै काममा घोटिइरहने नारीप्रति सम्मान र प्रेम दिनुको साटो उल्टै पीडा र शब्दवाणका साथै शारीरिक प्रताडना दिने कार्यले नारी हृदय पीडाले भक्कानिन्छ। गृहलक्ष्मी नै दुःखी भएपछि त्यो घर कसरी सुखी र शान्त हुन्छ ? 

जस्तो एउटा पुरुष नारीका पक्षमा वकालत गर्छ, उसको कार्यालयमा लक्ष्मीको तस्बिर राखेर पूजा गर्छ तर, त्यही पुरुष घरमा गएर गृहलक्ष्मीप्रति दुव्र्यवहार गर्छ, नारीको इज्जत गर्न जान्दैन, सैद्धान्तिक रूपमा उसको परिभाषा निकै गहकिलो छ, तर व्यवहारमा उतार्दैन भने त्यो सैद्धान्तिक ज्ञानको के अर्थ ? समाजमा वरिष्ठको पंक्तिमा गनिने पथभ्रष्टहरू नारामा नारी जननी हो, नारी प्रकृति हो, नारीलाई सम्मान गर्न सिक्नुपर्छ भन्छन्, तर, अवसर पाउनासाथ नारीको सोझोपनको फाइदा उठाउन तत्पर हुन्छन्। त्यसैले यी सबै शोषण, अन्याय, अत्याचारबाट मुक्ति पाउन नारी नै सचेत हुनु अहिलेेको आवश्यकता हो।

समस्त मानव जातिले नारीप्रति प्रेम र सम्मान गर्नुपर्छ भन्ने कुरा शास्त्रहरूमा उल्लेख भएको पाइन्छ। यसको उद्देश्य केवल नारी मात्र सही पुरुष गलत भन्ने होइन। नारी जो प्रकृति स्वरूपमा छिन् उनलाई नबुझी पूर्णता प्राप्त हुँदैन। नारी र पुरुष एउटै सिक्काका दुई पाटा हुन् वा एउटै रथका दुई पांग्रा हुन्। जसमा एउटाको अभावमा रथले सही गति लिन सक्दैन। यस अर्थमा नारी पनि पुरुषसरह हरेक काम गर्न सफल हुन्छन्। 

नारी उत्पन्न गर्न पनि सक्छिन् र पुरुषार्थ गर्न पनि। जब प्रकृति र पुरुष एकसाथ मिल्छन् त्यहाँ प्रेमरूपी गुलाब फुल्न थाल्छ र सारा वातावरण नै रङ्गीचङ्गी एवं सुगन्धयुक्त बन्न पुग्छ। जब प्रकृति र पुरुषको मिलनमा वासनाले मात्र स्थान लिन्छ त्यहाँ प्रकृति र पुरुष दुवै कमजोर बन्छन् अनि ओइलाउँछन्। त्यसैले प्रकृति र पुरुष प्रेमका स्रष्टा हुन्, प्रेमका जन्मदाता हुन्।

प्रेम केवल वासना होइन। प्रेम नारी र पुरुषबीच मात्र हुने पनि होइन। प्रेमको त्यो महासागर हो, जहाँ पुगेपछि शीतलता पाइन्छ। प्रेम दुई आत्माको मिलन मात्र होइन, प्रेम त हजारौं आत्मालाई एकसाथ: नारी: 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com