काठमाडौं, वैशाख ३१,
'बरु तल्लो स्तरकै जीवन किन नहोस्, अर्को जन्ममा केटा अथवा केटी नै बनाइदिऊन् भगवान्ले । यो दोधारको जीवन जिउन गाह्रो भयो,' विष्णु अधिकारीले जुरुक्क उठेर यति भन्दा माहोल गम्भीर बन्यो ।
लैंगिक तथा यौनिक अल्पसंख्यकभित्र पर्ने विष्णुले आफूजस्तै तीन दर्जन साथीभाइसँग पत्रकार साक्षात्कारमा उनले विरक्ति पोखेपछि केही साथीले सच्याउन चाहे । भूमिका श्रेष्ठले 'जिन्दगीलाई संघर्षसँग दाँज्दै त्यसलाई बुझ्न सकेमा गाह्रो नपर्ने' बताइन् । असहज जीवन पाए पनि सञ्चारमाध्यमको गतिलो साथले आफूहरूको जीवन सोचेभन्दा सहज बन्दै गएकोमा सहयोगीप्रति आभारी बनिन् ।
तर विष्णुले समस्या लुकाउन चाहिनन् । 'अरूका लागि समस्या नलाग्ने हाम्रा लागि ठूला समस्या बनिदिन्छ । शौचालय छैन हाम्रा लागि । बाहिर पानी खान पनि डर लाग्छ,' शरीर महिलाको तर मन पुरुषको लिएर जन्मिएकी उनले बाध्यता सुनाइन् । ब्वाइज कट कपालमा सर्ट, पाइन्टमा केटाजस्तै बनेर हिँड्ने उनले भनिन्, 'अप्ठ्यारो गरी बाँचिरहेका छौं । जे मन छ, त्यस्तै शरीर पाए कति सजिलो हुन्थ्यो होला ?' उनले अझै आफूहरूका लागि समाजमैत्री हुन नसकेकोमा चिन्ता व्यक्त गरिन् ।
तेस्रो लिंगी/समलिंगी/अन्तरलिंगीको सामाजिक अवस्थाबारे साक्षात्कार गर्ने उद्देश्यले ब्लु डायमन्ड सोसाइटीले अनामनगरस्थित युनियन हाउसमा गरेको कार्यशालामा लैंगिक तथा यौनिक अल्पसंख्यकका बारेमा मनोज पाण्डे निर्देशित डकुमेन्ट्री 'स्ट्रगल विथ इन' पनि देखाइएको थियो, जसमा कानुनी मान्यता र सामाजिक अवस्थाको बीचको भिन्नतालाई चित्रण गरिएको छ ।
ब्लु डायमन्डका अध्यक्ष तथा सभासद सुनीलबाबु पन्तले 'यौनिक अभिमुखीकरण र लैगिंक पहिचान' बारे कार्यपत्र प्रस्तुत गर्दै समलिंगी व्यवहार वैदिककालदेखि नै चलिआएको प्रसंग उठाउँदै बाली, सुग्रीव पनि यस्तै सम्बन्धबाट जन्मेको दाबी गरे । 'तर अहिलेको अवस्थामा भने कुनै समलिंगी पिलो आएर हस्पिटल गइन् भने मानसिक हस्पिटल रिफर गरिन्छ ।' पत्रकार महासंघ सभापति शिव गाउँले र सुरुवाती अवस्थामा तेस्रोलिंगीका बारे समाचार लेखेका किरण नेपालले उक्त समुदायप्रति मिडियाको सकारात्मक सम्बन्ध रहेको बताए । स्रोत-इकान्तिपुर:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै