म उनको कोठामा गैइरहन्थें । हाम्रो कोठाहरु बीच मात्र एउटा लबीको दुरी थियो ।विगत २ वर्ष देखि म त्यस घरमा बस्दै आएको थिएं जहाँ उनि आफ्नो २ सन्तान र एक बहिनीसंग बस्दै आएकी थिइन् ।चिम्सा चिम्सा आँखा,बाटुलो अनुहार अनि सुलुत्त परेको नाक।
सबै उनलाई 'छुकी' दिदी भनेर बोलाउँथे। एक्दमै मन् पर्ने नाम थियो मेरो लाग्यो 'छुकी'।उनको वास्तविक नाम चाँहि छोईङ् रहेछ ।घरमा माया गरेर सबैले छुकी भनेर बोलाउने गर्दा रहेछन् ।
बिहान उठेदेखि अफिस नजानुजेल उनको हातले थकाई मार्दैनथ्यो ।हतार हतार खान बनाउ,खुवाउ,नानीहरु स्कुल पठाउ ,आफु तयार होउ अनि दस बजेसम्ममा सुन्दरीजलको सिंहनाथ गणमा आफ्नो ड्युटी गर्न पुग्नु।
यि सबै काम उनि बडो सतर्कता र निपुणताका साथ गर्थिन् । कुनै कसर नै बाँकी रहन्नथ्यो ।उमेर यस्तै २७ पुगेकी हुदोँ हो । बिहानभरि घरमा अनि दिनभरि अफिसमा त्यो पनि आर्मीपोष्टमा जोतिनुपर्दा बेलुका उनको अनुहार हेर्न लायक हुन्थ्यो।थाकेर गलत्तै हुन्थिन्।बेलुका भने बहिनीले भान्छामा सहयोग गर्थिन् ।बिहान त कलेज गएकी हुन्थिन् ।
पहिले पहिले हाम्रो भेट कि त शनिवार हुन्थ्यो कि त कौसीमा कपडा सुकाउन जाँदा हुन्थ्यो ।कहिलेकाँहि बरण्डामा हिड्दाँ उनले मिलाउने सलको सप्कोले लाग्दा एककिसिमको सुखानुभूति हुनेगर्थ्यो। हामीबीच संवाद हुन त्यस्तै ४,५ महिना लागेको थियो ।त्यो दिनको मलाई अझै सम्झना छ जुन दिन हामी काठ्माण्डौंको मस्त गर्मी छल्न बेलुकाको समयमा कौसीमा बसिरहेका थियौं । कपनको हाईटमा बनेको त्यो घरको छतमा प्राय हामी सबै कोठाबासी टहलिरहेथ्यौं ।
उनको ९ वर्षको छोरो पनि यताउता कुत्दै थियो। आँखाले भ्याएसम्म हामी काठमाण्डौंलाई निल्दैथियौं ।एक्कासी उनको छोराको नाथ्री फुटेर ह्वाल्ह्वाल्ती रगत निस्कन थाल्यो ।उनि आत्तिन थालिन्। के गर्ने कसो गर्ने भैइन् ।सबै अलमल परे ।मैले ह्त्तपत्त त्यो बाबुको नाक च्याप्प समातें अनि कोठामा पुर्याई पलङ्मा सुताएं।केहि छिन् पछि रगत बग्न छोड्यो ।उनि घुँडा मारेर गुजुल्टिएर नजिकै बसेकी रहेछिन् । उनको त्यो भयमिश्रीत अनुहार देख्दा असिम माया पलाएर आयो ।हृदयदेखिनै मायाका छालहरु उर्लेर आयो ।यस्तो लाग्यो " किन डराएकी? " भन्दै ग्वाम्ल्याङ्ग अंगालो मारुँ ।तर त्यो उर्लेको छाल किनारमा नपुग्दै सुकिसकेका थिए किनकी उनि कसैको विधुवा थिइन् । हो उनि वास्तवमा द्द्वन्दकालमा माओवादीद्द्वारा मारिएका सैनिक जवानकी विधुवा थिइन् ।
"धन्यवाद तपाँईलाई ।" उनको मुखबाट निस्किएको शब्दहरु हावाको झोकांसंगै विलिन हुन पुगेको थियो ।
"यसमा के को धन्यवाद जे जानेको थिएं त्यहि गरें।" मेरो उत्तरले सायद उनि प्रभावित भैइन चिया पिएर जानको निम्ती प्रस्ताव आयो।मैले तुरुन्तै हुन्छ भनिदिएं ।त्यसदिन पछि उनि म संग खुलेर बोल्नथालेकी थिइन् ।
जब बोल्दै गएं उति उसलाई चिन्दै गएं।उसको बिगत् बर्तमान सबै सबै मेरो अघि छर्ल्ङ्ग थियो। २०५८ सालमा माओबादीसंगको द्वन्दमा परि मृत्युभएको उन्को श्रीमान नेपाल आर्मीमा जागिरे थिए ।खोटाङ घर बताउने उन्ले भागेर प्रेम विवाह गरेको चौथो वर्ष पूरा हुदाँ नहुदैं आफ्नो जीवन साथी गुमाउनुपरेको थियो ।स्कूले जीवनमै माया बसे पछि भागेर विवाह गरेका रहेछन् उनिहरुलेआमा बाबुको स्वीकृती बिना नै।त्यसैले उनिहरु घरबाट स्वीकार नगर्दा आफ्नो खुट्टामा आफै उभिनको लागि देश द्वन्दको चपेटा आहत भैरहेको अवस्थामा पनि छुकीले भनेको नमानेर उन्को श्रीमान नेपाल आर्मीमा भर्ती भएका थिए ।त्यस्पछि उन्को श्रीमानले उनिहरुलाई गाउँबाट झिकाएर काठमाण्डौंमा कोठा लिएर राखेका रहेछन्। विवाह भएको वर्षैमा छोरा र २ वर्ष पछि छोरी जन्मिएकी थिइ । सानोतिनो जागिरले घरपरिवार धान्दै आएकी थिए। खुसी थिए ।आफूले रोजेको जीवन साथीसंग जीवन व्यतित गर्न पाउँदा दुबै दङ्ग थिए।
खुसीले भरिएको त्यो सुन्दर संसार अचानक् आएर २०५८ मा भत्कियो । राष्ट्र सेवक भएर देश सुरक्षाका लागि लड्दै गरेका उनको श्रीमान सहित अन्य ७ जनाले मृत्यु वरण गरे । खबर सुनेर उनि बेहोस भैइ ढलेकी थिइन् ।काठमाण्डौं जस्तो ठाउंमा एक्लै वेदनाको प्रसवमा उनि परिसके पछि माईतीहरु आएर सान्त्वनाका शब्दहरुले बौराउने काम गरेछन् । जीन्दगी यस्तै रहेछ आफ्नो लागि नबाँचे नि ति साना साना लालाबालाको निमित्त बाँच्नु पर्छ भन्ने लागिरह्यो रे । श्रीमानको मृत्यु हुदाँ उनि भर्खर २३ वर्षकी थिइन् । मैले भेट्दा भने उनि २७ वर्षकी थिइन्।
त्यसपछि नेपाल सरकारले उनलाई श्रीमानको सट्टामा नेपाल आर्मीमा भर्ती लिएछन् ।त्यसपछि अनवरत रुपमा उनले नेपाली सेनामा आफ्नो सेवा प्रदान गर्दै आएकीथिइन् । काठमाण्डौं जस्तो महङ्गीले अक्रान्त शहरमै बसेर भए पनि आफ्नो प्रेमको निशानीहरुलाई शिक्षादिक्षा दिएर बस्दै आएकी थिइन् । एक्लैले नानीहरु स्याहर्न समस्या भएकोले बहिनीलाई काठमाण्डौं झिकाएकी थिइन् । साह्रै मेहनती अनि स्वाभिमानी नारी थिइन् 'छुकी' ।
वैशं छदैँ श्रीमानको मृत्यु भएपनि उन्मा त्यस्तो उन्मत्त र छाडापन केहि देखिदैंन थियो ।सयंमित र लगनशिलता उनको बिषेशता थियो । हिमाल झै अटल अनि आत्मविश्वासी ।आर्मीको जागिर भएकोले होला प्राय उन्को रोजाईमा पेन्ट नै पर्थ्यो लवाईको सन्दर्भमा । छुकी त्यस्तो पहिरनमा उनि सहज महशुस गर्थी । मिलेको शरीर अनि ५'५ को उचाई । जस्तो कपडामा पनि बल्थिन् ।
कपाल कहिल्यै लामो राखिन । कुम कुम झर्थ्यो धेरै लामो भयो भने ।झट्ट हेर्दा अविवाहित २४, २५ को तरुनी झै देखिन्थिन् ।किन किन उन्को कोठामा जाँदा मलाई आनन्द लाग्थ्यो । उनिसंग तीता मीठा कुरा गर्दा मन हलुङ्गो हुन्थ्यो । सायद उनि पनि त्यस्तै महशुस गर्थिन् । हामीबिचको मित्रता झाँगिदै जाँदा बिस्तारै बिस्तारै उनि प्रतिको आकर्षण पनि बढ्दै थियो ।
उन्को हाउभाउ,बोल्ने शैली, सरलता यि सब यस्ता कुराहरु थिए जसले मलाई उनि प्रति आकर्षण गर्दथ्यो । हुन त म उनि भन्दा २ वर्षले भाई थिएं । नबिल बैकंमा जागिरे म त्यति बेला एक्लै काठमान्डौंमा बस्दथें पढाईको शिलशिला जारी राख्नलाई ।कस्तो चुम्बकिय शक्ती थियो छुकीमा म शैन शैन उनमा विलिन हुदैथिएं । सायद मायामा यस्तै हुन्छ । त्यहाँ न रङ न रुप न जात न उमेरको हदबन्दी हुन्छ । साँच्चै म २६ वषिय लक्का जवानको अगिपछि धेरै केटीहरु आफ्नो बैशं ओच्छ्याउन तम्तयार थिए यद्दपी मेरो मन् भने छुकीमै गएर अट्किएको थियो ।
प्रेम अन्धो हुन्छ भन्ने सुनेको थिएं तर अनुभव म पहिलोपटक गर्दैथिएं । म उनलाई अन्धधुन्द माया गर्थें तर उन्को सामु पोख्न असमर्थ किनकी छुकी स्वाभिमानी थिइ र म उन्को स्वाभिमानीलाई लछार्न चाहन्थें । बरु भित्र भित्रै म जलिरहें । कुन हदसम्म माया गर्थें भने कुनै दिन उन्लाई देखिन वा भेटिन भने वेचैन हुन्थें ।एककिसिमको छटपटी चल्थ्यो । म उनलाई 'हजुर' भन्थें र उनि मलाई 'तिमी 'भन्थी । 'तिमी' सम्बोधन् अत्यन्तै प्यारो लाग्थ्यो ।
छुकीसंगको स्पर्शको नाममा मैले औंलाहरुसम्म छुन पाएको थिएं । त्यो पनि चियाको कप समात्दा । हैन भने हाम्रो बसाँई सधैं विपरित दिशामा हुनेगर्थ्यो अर्थात आमुन्ने सामुन्ने तर २,३ हात पर । यतिमा पनि म त्यो सुगन्धित शरीर स्पर्श गरेको अनुभव गर्थें । मानिसहरु भन्ने गर्छन् नि प्रेममा चरम उत्कर्ष प्राप्त हुने भनेको यौनबाट हो। तर मलाई कहिल्यै त्यस्तो लागेन । मैले कहिल्यै उनिसंगको यौनको कल्पना गरिन सायद म त्यो भन्दा पनि पर पुगेर माया गर्थें ।
जे होस म उनलाई माया गर्थें ।यो नै सत्य थियो । म छुकीसंग सिङ्गै जिवन बिताउन चाहन्थें । एउटा भिन्नै संसार सजाउन चाहन्थें ।तर त्यसको लागि छुकी तयार हुनुपर्थ्यो जुन कुराबाट म अनबिज्ञ थिएं ।एक मनले भन्थ्यो छुकीलाई थाहा छ म उनलाई मन् पराउँछु अर्को मन् भन्थ्यो विचरा मैले कहिले भने र उसलाई थाहा हुन्। यस्तैमा रुम्मलिए निकै दिन् ।अनि एकदिन् मुटु दरो पारेर निकै भावुक भएर " छुकी म हजुरलाई मन पराउँछु र बाँकी जीवन हजुरसंग बिताउन तयार छु। के हजुर मलाई साथ दिनुहुन्छ ? म यसको उत्तर जान्न चाहन्छु तर मेरो आशयलाई अपव्याख्या भने नगर्नुस् ल। "
यति भनिसक्दा मेरो शरीर काँपिरहेको थियो । होसहवास उडेझै म फुङ्ग परेको थिएं । मैले केहि जवाफ चाहेको थिएं ।हुन्छ या हुन्न ये मध्यए कुनै एक को अपेक्षा गरेको थिएं ।तर तर त्यस्तो केहि भएन ।मैले सोचे विपरित छुकी निकै शान्त थिइन् मानौ उनमा कुनै सवेंगनै थिएन ।प्रतिकृयाविबिन त्यो अनुहारले मलाई भत्भती पोल्न थाल्यो ।न हाँसो न रोदन न आक्रोश न माया न खुसी न दु:खी एक्दमै शुन्यभाव पढेंउनको मुखाकृतीमा ।निकै बेरसम्म पनि उहि जदवत शरीर अनि संवेगबिहिन अनुहार । म चुपचाप हारेको योद्दा झै बसिरहें ।कतै मैले छुकीको मन् त दुखाईन? उनको भावनामा ठेस पुर्याएकी? यावत प्रश्नहरुले मलाई अपराधबोध गराइरह्र्यो ।
म निरुत्तर कोठामा ठिक उल्टो फर्किएं जसरी गएंथें । त्यो दिन आलश्यता ,औडाह र छटपटीमै बित्यो । छुकीले भने कसरी बिताईन पत्तो पाइन । भोलेपल्ट बिहानै छुकी अफिस गैछिन् । राती पनि अबेर मात्रै फर्किन् क्यारे मैले देखिन उनलाई ।पर्सीपल्ट बिहानै घन्द्र्याङ् घुन्द्रुङ् आवाजले म ब्युँझिएं । झ्यालको पर्दा बिस्तारै तानेर तल आँगनमा हेरें । उफ् ! छुकी भटाभट कोठाको सामानओसार्दै थिइन् । म छानाबाट खसेंझै भएं । छुकी जाँदैथिइन् ।मैले यति बुझें । मेरो त्यो धृष्टष्ताको सजाय छुकी मबाट अलग भएर दिदैँथिइन् सायद ।
मलाई रिङ्गटा छुट्यो । शरीर थरथरी काँप्यो ।आँखाहरु त्यसै त्यसै रसाएर ताल बन्न थाल्यो । सम्हाल्नै गार्हो भो आफुलाई ।: किन किन? छुकी किन? मलाई यति ठूलो सजाय दिदैँछौ ? मेरो प्रस्ताव मन् नपरे मलाई गालामा थपड लगाए हुन्थ्यो अथवा मेरो मुखमा थुके हुन्थ्यो । तर त्यो भन्दा पनि बढि चोट किन दिदैँछौ ? " प्रश्न सोध्न मन् लाग्यो । तर खुट्टाहरु जमे ।पाइला सरेन ।
मलाई संसारै बिरानो लाग्न थाल्यो ।बाँच्नुको सार्थकता देखिन ।मेरै कारण कसैलाई यति धेरै चोट लाग्यो म साँच्चै अपराधी भएं ।म सजायको भागिदार छु।हो साँच्चै मैले आफैलाई सजाय दिने निर्णय गरें । आफैलाई सिध्याउने मन् भो ।अब मैले आफुलाई त्यहि कोठाको सिलिङ्मा झुण्ड्याउने निधोसहित फटाफट डोरी बाँध्न तालें । "ट्याक् ट्याक्" ढोकामा त्यतिनै बेला कसैले आवाज दियो । हतास मनले ढोका खोलें । बाहिर छुकी रहिछिन् । हातमा कागजको टुक्रासहित ।
उनको अनुहारको भाव पढें सायद अन्तिम बिदाईको हात हल्लाउन आईन् । मुटु झनै बटारियो ।केहि नबोली आँखाभरि टिल्पिल आँशु लिएर त्यो कागज मतिर बढाईन् । मैले सरक्क लिएं ।उनि बतास्सिएर गैइन् ।म हत्प्रभत् रहें एकछिन् ,केहिबेर पछि कोठाभित्र पसें ।फेरि झ्यालाबाट चिहाएं ।छुकी गैसकिछिन् । बन्द मुटुले बन्द कागज खोलें ।मलाई सम्बोधन् गरेर लेखिएको पत्र रहेछ ।
प्रिय सरोज:
मलाई थाहा छ यतिबेला तिमी के सोच्दैछौ भनेर । तिमी यहि सोच्दै छौ होला छुकी किन यति निष्ठुर भैइ भनेर । यति घमण्डी किन बनि?कि मेरो प्रश्नको जवाफ पनि दिईन । सरोज सायद तिमीलाई थाहा छैन होला जति तिमी मलाई माय गर्छौ त्यो भन्दा बढि सायद म गर्छु तिमीलाई माया । तिमीलाई थाहा छैन सरोज नोर्बुलाई मैले गुमाए देखि जीवन निरश बनएको थियो ।म उजाड थिएं ।रित्तो रित्तो थिएं ।जीवनलाई बुझ्न सकिरहेको थिइन ।जुन दिन देखि तिम्रो आगमन मेरो जीवनमा भयो त्यसदिन देखि तिमीले मेरो मन्को नोर्बुलाई विस्थापित गरि जीवन रमणिय र स्वर्गिय रहेको आभास दिलायौ ।
साँच्चै तिमी मेरो मनमा छौ तर म प्रस्तुत गर्न असमर्थ छु । मलाई डर छ कि कतै ममा विचलन् आउने त हैन?मेरो यात्रा कति मोडिने त हैन? म कता जानुपर्ने? मसंगको मेरो साना नानीहरुको भविष्य कता डोर्याउने? कस्तो बनाउने?मेरो धृष्टताको परिणामले कतै तिम्रो सुन्दर जीवन तहसनहस त हुने हैन? हो म तिमीलाई माया गर्छु ।ईश्वर साक्षी छ । तर यसको अर्थ यो हैन कि मैले तिमीलाई पाउनुपर्छ ।तिमीसंगै जीवन बिताउनुपर्छ । मैले तिम्रो प्रस्तावलाई लत्यएकी हैन सरोज मात्र म हामी बिचको प्रेमलाई अ्अर अजर बनाउन चाहन्छु ।त्यसैले हो त्यसैले म जावफहिन बनें ।प्रेम प्राप्ती हैन यो तिमी पनि बुझ्छौ ।यस अर्थमा म तिमीलाई नपाएर पनि सन्तुष्ट छु ।
प्रेम त्याग हो ।यदि यसो हो भने मैले त्याग गरें मात्रै तिम्रो सुन्दर जीवन बचाउन ।समाजको नजरमा म तिम्रो हैसियत खसेको हेर्न सक्दिन।तिमी क्षत्रीको छोरो म मङ्गोलियन त्यसमाथि २ सन्तानकी आमा ।तिम्रो अगाडी एउटा उज्जव भविष्य हात पसारेर बसिरहेको छ।जाउ चुम । तिमीले सोच्यौ होला नानीहरुम स्वीकार्थें। यो तिम्रो माहन्ता हो सरोज । तर जीबन त्यति सहज छैन सरोज जति हामी कल्पना गर्छौं । आवेशमा आएर गरेको निर्णयले भोली पश्चतापमा पार्न सक्छ । भावनात्मक कुरा र व्यबहारिक कुरामा आकाश पातालको फरक हुन्छ ।
जीवन रफ्तार सधै एकैनाश नहुन पनि सक्छ ।त्यस्तोमा पछाडी फर्कन पनि सकिदैंन ।त्यसैले सरोज म तिम्रो जीवनमा आउन्न ।मलाई माफ गर ।तिमीप्रतिको मेरो सम्मान सधै उस्तै रहनेछ आजिवन ।तिमीली बाँच्नुपर्छ ।समाजमा केहि प्रगती गर्नुपर्छ । छुट्टै पहिचान बनाउनु पर्छ । उचाँईमा पुग्नुपर्छ । म अदृश्य रहेर पनि तिम्रो प्रगतीको गाथाहरु पढ्नेछु । यदि तिमी साँच्चै मलाई माया गर्छौ भने मसंग वाचा गर कि मैले गरेको अनुरोध मेरो सपनाहरु पूरा गर्नेछौ । र मलाई थाहा छ कि तिमी मलाई माया गर्छौ ।यस अर्थमा मेरो सपना पूरा हुनेछ। म अज्ञात रहेर तिमीलाई सधै हेरिरहनेछु।माया गरिनै रहनेछु ।अन्त्यमा जाँदा जाँदै मलाई नखोज्नु ल।
उहि तिम्रो' छुकी '
सायद त्यतिखेर त्यो पत्र नपाएको भए मैली आफ्नो जीवन सकाईसक्थें तर त्यो पत्र पढिसकेपछि मैले प्रेमको परिभाषा बुझें । त्याग के हो?समर्पण के हो? बुझें । एककिसमको अनौठो आनन्दभूति गरें । हातहरु अनायसै कस्सिए ।अठोट गरें । मनमनै "छुकी म तिम्रो सपना पूरा गर्छु ।वाचाहरु निभाउँछु ।म तिम्रो हर ईच्छा आकांक्षालाई साकार रुप दिनेछु ।"
सायद त्यसैको प्रतिफल होला आज ६ वर्ष पछि म आफै बैंक संचालक भएको छु । घर धन सम्पती सबै सबै छ मसंग ।छैनौ त मात्र तिमी ।तै पनि म खुसी छु।मलाई यति बेला लागिरहेछ तिमी यतै कतै मेरो नजिक छौ।अदृश्य नै सही मलाई हेर्दैछौ र आफ्नो सपनाहरुको महल देखेर दङ्ग पर्दैछौ । मेरो सफलतामा मेरो सफलतामा मलाई चुम्बन गर्दैछौ ।म आभास गर्दैछु त्यसको ।तिम्रो प्रेमको।साँच्चै छुकी तिमी मेरो मनभरि छौ आज पनि ।
बिना तामाङ 'सुनगाभा'
काठमाण्डौं :