नियम थाहा नहुँदा निराश...डाक्टर-पेइङमा. I

धरान, चैत २६,

पाँचवर्षे छोराको नाकभित्र समस्या देखिएपछि मोरङको अमरदहबाट सीता थापा मंगलबार बिहानै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आइपुगिन्।


प्रतिष्ठानमा अढाई घन्टा लाइनमा उभिएपछि बल्ल उनको पुर्जी काट्ने पालो आयो। तर, बिल काउन्टरका कर्मचारीले इएनटी (नाक, कान, घाँटी) को बिरामी कोटा पूरा भइसकेकाले पुर्जी नकाट्ने जवाफ दिए।

थकित सीता घर फर्कने कि धरानमै बसेर भोलिपल्ट प्रतिष्ठानमै पुर्जी काट्न आउने भनेर अन्योलमा परिन्। 'यति टाढाबाट छोराको उपचार गर्न भनेर आएँ, लाइनमा पनि अढाइ घन्टा जति उभिए,' निराश मुद्रामा उनले भनिन्, 'यहाँको सिस्टमबारे मलाई थाहै थिएन।'
प्रतिष्ठानको नाक, कान, घाँटी विभागले चिकित्सक अभाव भन्दै दैनिक रुपमा २० जना मात्रै नयाँ बिरामी जाँचका लागि पुर्जी काट्ने काट्ने नियम लागु गरेपछि सीताजस्तै सैयौं सर्वसाधारण बिरामीले दैनिक सास्ती खेप्दै आएका छन्।

खासगरी ग्रामीण क्षेत्रबाट उपचारमा आएकासयौं बिरामी विभागको नियम थाहा नभएर दैनिक घन्टौं लाइनमा उभिने र अन्त्यमा पुर्जी काट्न नपाई फर्कनु परिरहेको छ।
बिल काउन्टरमाथि एउटा सूचना टाँसे पनि त्यसमा सर्वसाधारणको आँखा पर्दैन भने प्रशासनले टाँसेको अन्य सूचनामाथि हातले 'नाक कान घाँटीमा मात्र २० जना मात्रै' भनेर लेखिएको छ।

'यत्रो ठूलो अस्पतालको चाला देखेर म छक्क परेँ, यहाँ बिरामीले उपचार होइन, दुःख मात्र पाउने रहेछन्,' धरानकै अर्का एक बिरामी सुमन श्रेष्ठले भने, 'लाइन उभिँदा सबै प्रकारका बिरामी हुन्छन्, इएनटीको २० जना कोटाभित्र परिन्छ कि परिँदैन भन्ने थाहै हुँदैन।'
नाक, कान, घाँटीको ओपिडीका एक कर्मचारीका अनुसार विभागीय प्रमुखले नै नयाँ २० जनाको पुर्जी लिन भनेको बताए। यसअघि ३० नयाँ बिरामीलाई उपचार गरिँदै आएको थियो।

विभागका चिकित्सकहरुले ओपिडीमा आइतबार, मंगलबार र शुक्रबार मात्रै बिरामी हेर्छन् भने अरु दिनमा जुनियर प्रशिक्षार्थीले बिरामीको उपचार गर्छन्। प्रतिष्ठानको नाक, कान, घाँटीका विभागीय प्रमुख डा. संगीता भण्डारीले भने बिरामीले दुःख पाइरहेको भए पनि कोटा प्रणालीअनुसार नयाँ बिरामीको उपचार गर्नुपर्ने बाध्यता रहेको बताइन्।

'विभागमा आवश्यक जनशक्ति नै छैनन्, त्यसैले दैनिक सीमित बिरामीलाई मात्रै उपचार गर्नु हाम्रो बाध्यता हो,' डा. भण्डारीले भनिन्, 'जनशक्ति थप नभएसम्म यो समस्या हल हँुदैन।' उनका अनुसार पाँच वर्षयता विभागमा चिकित्सक अभाव हुन थालेको हो।
'त्यतिबेलै भारतीय प्रोफेसर र नेपालकै पाँच जना चिकित्सकले काम छाडेपछि विभागमा जनशक्ति अभाव भयो र कोटा प्रणाली लागु गर्न बाध्य भयौं,' उनले भनिन्, 'छ महिनाअघि सात चिकित्सकमध्ये पुनः चार जनाले प्रतिष्ठान छाडे।'

विभागीय प्रमुख डा. भण्डारीले पुराना बिरामीका साथै अन्य विभागबाट रिफर भएर आएका गरी दैनिक सयजना भन्दा बढीको उपचार भइरहेको दाबी गरिन्।
हाल विभागमा विभागीय प्रमुख डा. भण्डारीसँगै डा. श्याम थापा क्षेत्री र डा. भी नतेश मात्र छन्। 'जुनियर प्रशिक्षार्थीले प्रायः बिरामीको उपचारमा निर्णय गर्न नसक्ने भएकाले ती बिरामीले फेरि हामीलाई नभेटी हुँदैन,' डा. भण्डारीले भनिन्, 'जुन दिन जनशक्ति थपिन्छ, हामी विरामीको कोटा पनि बढाउँछौं।'

अस्पताल निर्देशक डा. अरविन्द सिन्हाले पनि जनशक्ति अभावको कारण नयाँ बिरामीको लागि कोटा लागु गर्नुपरेको बताए। 'दैनिक २० जनाको मात्रै होइन, पुराना बिरामी र रिफर भएर आएकाको पनि भीड हुन्छ,' निर्देशक डा. सिन्हाले भने, 'जनशक्ति कमीले यस्तो भएको हो, थप हुनेबित्तिकै बिरामी संख्या पनि बढाउँछौं।'

महँगो शुल्क तिरेर पेइङमा उपचार
नाक, कान, घाँटीका विभागीय प्रमुखसहितका चिकित्सकहरुले दिउँसो ३ बजेपछि भने पेइङमा साँझसम्म भ्याएजति बिरामीको जाँच गर्छन्। अधिकांश सर्वसाधारण पेइङमा महँगो शुल्क तिरेर उपचार गर्न बाध्य छन्।
ओपिडीमा कोटा प्रणाली भए पनि तिनै डाक्टरलाई पेइङमा बिरामी जाँच्न भने कोटा प्रणाली लागु गर्नु परेको छैन। बिरामीले प्रतिष्ठानको ओपिडी सेवाको लागि ६० रुपैयाँको पुर्जी काट्दा हुन्छ भने पेइङ सेवाका लागि ३ सय ५० रुपैयाँको पुर्जी।
पेइङ सेवाको पुर्जीबापतको रकमको ६० प्रतिशत रकम डाक्टरले पाउँछन् भने ४० प्रतिशत मात्रै प्रतिष्ठानले। 'जनशक्ति अभाव त बहाना मात्रै हो, पेइङबाट मनग्ये आम्दानी हुने भएकाले सबै बिरामी पेइङमै जचाउन आओस् भनेर कोटा प्रणाली बनाएको हो,' प्रतिष्ठान स्रोतले भन्यो।
दैनिक तीन पटकसम्म बिहान पुर्जी काट्न जाँदा कोटाभित्र नपरेका सुमन श्रेष्ठले पेइङमा सजिलै जँचाए। 'जतिसुकै खर्च लागेपनि उपचार त गराउनै पर्‍यो भनेर पेइङमै जँचाउन गएँ,' उनले भने, 'त्यहाँ पनि ओपिडीकै डाक्टरले हेर्ने रहेछ, बिहानको कोटा सिस्टम त पेइङमा कमाउनकै लागि रहेछ।'
विभागीय प्रमुख डा. भण्डारीले भने प्रतिष्ठानको ड्युटी सकिएपछि पेइङ सेवा चलाउन पाउने बताइन्। 'अतिरिक्त समयमा पेइङ सेवा दिन पाउने भएकाले मात्रै हो, कमाउनका लागि त्यसो गरेका होइनौं,' उनले भनिन्, 'पेइङमा त्यति धेरै मान्छे आउँदैनन्, बढी १० जना आउलान्, अरु पुराना बिरामी रिपोर्ट लिएर आउँछन्।'
अस्पताल निर्देशक डा.सिन्हाले पनि पेइङमा महँगो शुल्क लाग्ने भएकाले बिरामी धेरै नजाने दाबी गरे। रोहित राई,:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com