हिसिला यमी
श्रीमती, बाबुराम भट्टराई
माधब बस्नेत/ उपेन्द्र पोख्रेल -"राजनीतितिर नलागेको भए म सामाजिक कार्यकर्ता हुन्थँे होला वा कुनै गैरसरकारी संस्थाको प्रमुख भएर बसिरहेकी हुन्थेँ कि !" पाँच वर्षअघि नेपाल प्रतिनिधिसँगको भेटमा एकीकृत नेकपा माओवादीकी नेतृ हिसिला यमीले यसै भनेकी थिइन्। हालका प्रधानमन्त्री बाबुराम भट्टराईसँग वैवाहिक बन्धनमा बाँधिएपछि यमीको स्वतन्त्र अभीष्टले राजनीतिक रंग पायो। उनी यतिबेला पार्टीको पोलिटब्युरो सदस्य र नेवाः राज्य समितिकी सह-इन्चार्ज छन्। त्यति मात्र होइन, पर्यटन तथा नागरकि उड्ययन, भौतिक योजना तथा निर्माण र भूमिसुधार तथा व्यवस्थाजस्ता मन्त्रालयको अनुभव पनि बटुलिसकेकी छन् उनले। जानकारका अनुसार उनको परख यत्तिमा मात्र सीमित छैन। प्रधानमन्त्री रहेका आफ्ना श्रीमान् बाबुराम भट्टराईलाई समेत प्रभावमा पार्न सक्छिन्, उनी।
माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वको प्रारम्भमै पूर्णकालीन रूपमा लाग्ने महिलामध्ये हिसिला सम्भवतः सबैभन्दा सुविधासम्पन्न र शिक्षित परविारमा जन्मेहुर्केकी प्रतिनिधि हुन्। बेलायतबाट वास्तुशास्त्रमा स्नातकोत्तर गरेकी हिसिला सशस्त्र द्वन्द्वमा सहभागी हुनु केही समयअघिसम्म पुल्चोक इन्जिनियरङि् कलेजमा प्राध्यापन गररिहेकी थिइन्। सादा र सधैँ एकै खालको जीवनशैली हिसिलाको सबैले 'मार्क' गरेको पाटो हो। उनी आवश्यकता अनुसार दिनरात काममा खट्न सक्छिन्। तर, माओवादी शक्ति र सत्तामा पुगेपछि भने उनको सोच र शैलीमा बदलाव आएको ठान्छन्, उनी निकटहरू नै।
नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा पढ्दा होस् वा पुल्चोक कलेजमा पढाउँदा वा सशस्त्र द्वन्द्वमा सहभागी हुँदा वा त्यसपछि मन्त्री बन्दा नै, उनको जीवनशैली सधैँ सामान्य छ। तडक-भडकपूर्णभन्दा सामान्य पहिरन र प्रस्तुति नै मन पराउने उनी के बाहिर देखिएजस्तै छिन् त ?
कतिपय हिसिलानिकटहरू भने उनमा पहिल्यैदेखि आफ्ना पति बाबुरामलाई दबाबमा राख्ने बानी रहेको दाबी गर्छन्। जस्तो ः १८ माघ ०६१ मा रोल्पाको फुन्टिबाङ बैठकले बाबुरामलाई साधारण सदस्य मात्र रहने गरी कारबाही गर्दा, 'हिसिलाले पार्टी नीतिविपरीत कार्य गर्न, लेख्न, बोल्नलगायतका गतिविधिमा बाबुरामलाई उचालेको' भन्ने आरोप थियो।
भूमिगतकालकी ती हिसिलाले माओवादी शक्ति र सत्तामा आएपछि कस्तो व्यवहार गररिहेकी होलिन्, अनुमान मात्र काफी हुन सक्छ। बाबुराम प्रधानमन्त्री भएयता हिसिलाको राजनीतिक सक्रियता र अभिव्यक्तिको शृंखला घटेको छ। तर, प्रधानमन्त्रीको दैनिक कामकाजमा भने उनको प्रभाव बढेको अनुभवीहरूको भनाइ छ। जस्तो ः बाबुराम समूहका एक केन्द्रीय सदस्यको भनाइ पत्याउने हो भने 'बाबुराम इमानदार छन्, उनलाई फसाउन पनि सक्छन्' भन्दै हिसिलाले प्रधानमन्त्रीकहाँ पुग्ने फाइलहरूमा निगरानी राख्दै आएकी छन्। हिसिलाकै सल्लाह मानेर प्रधानमन्त्री भएको सात महिनासम्म बाबुरामले आफ्ना परराष्ट्र सल्लाहकार नियुक्त गरेका छैनन्। त्यसो त हिसिलाले महान्यायाधिवक्ता नियुक्त गर्दा पनि बाबुरामलाई प्रभावमा पारेकी थिइन्। खासमा, प्रधानमन्त्री बाबुराम मुक्ति प्रधानलाई महान्यायाधिवक्ता बनाउन इच्छुक थिएनन्। तर, हिसिलाकै सल्लाहमा प्रधानलाई महान्यायाधिवक्ता बनाइएको स्रोत दाबी गर्छ।
बाबुरामको धेरैजसो दैनिक भेटघाट र अन्य कार्यतालिका हिसिलाले नै मिलाउँछिन्। सानो टिममा रमाउने र आलोचना सहन नसक्ने उनको स्वभाव छ। उनीमाथि पछिल्ला दिनमा केन्द्रीय सदस्य कुमार पौडेल, सविना अर्याल, क्षेत्रीय ब्युरो सदस्य भूमिनन्द देवकोटा, जानुका पौडेल, फणिन्द्र देवकोटालगायतको समूहसँग सुझाव लिने र त्यही अनुसार बाबुरामलाई चलाउन खोजेको आरोप लागेको छ।
हिसिलाको प्रभावको अर्को उदाहरण काठमाडौँको बालाजुमा रहेको माक्र्सवादी अध्ययन केन्द्र प्रकरण हो। एमाले अध्यक्ष झलनाथ खनालको सरकारमा माओवादी सभासद् देवी खड्का भौतिक योजना तथा निर्माण राज्यमन्त्री थिइन्, जो बाबुराम पक्षधर हुन्। त्यस संस्थालाई केही सहयोग गर्ने सर्तमा एक व्यवसायीको काम मन्त्रालयबाट भयो, जसका लागि हिसिलाले पनि सिफारसि गरेकी थिइन्। ती व्यवसायीले संस्थालाई पाँच लाख रुपियाँ सहयोग गरेपछि त्यो रकमलाई लिएर संस्थाकी अध्यक्ष कल्पना धमला, कोषाध्यक्ष वासु न्यौपाने र हिसिलाबीच मतभेद भयो। परण्िााम, बालाजुमा रहेको संस्थाको कार्यालयमा ताल्चासम्म लाग्यो, जसलाई पछि धमला समर्थकहरूले फुटाएका थिए। त्यसपछि मात्र केन्द्रको बैठक बस्न सक्यो।
एक माओवादी नेताका अनुभवमा हिसिलाको स्वभाव 'डोमिनेट' गर्ने खालको नै हो। बाबुराम आफूमातहत रहेर चल्नुपर्छ भन्ने उनको बुझाइ छ। फुन्टिबाङको कारबाही प्रकरणमा उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'कै सामु 'म बेलायतबाट एमई गरेकी, मन्त्रीकी छोरी हुँ, चानचुने सोच्ने प्रयत्न नगर्नुहोला' भनेकी थिइन्। हुन पनि ००४ सालमै उनकी आमासमेत राजनीति र महिला आन्दोलनमा लागेबापत जेल परेकी थिइन् भने बाबु धर्मरत्न यमी ००८ सालमा मन्त्री भएका थिए। ०१६ सालमा काठमाडौँको भुरुङखेलमा जन्मिएकी हिसिला बाल्यकालमा निकै पुल्पुलिएर हुर्किएकी हुन्।
माओवादीका पूर्वपोलिटब्युरो सदस्य मणि थापाका ठम्याइमा, "हिसिला राजनीतिज्ञ होइनन्। उनी विशुद्ध प्राविधिक व्यक्ति हुन्। माक्र्सवादीभन्दा बढी उनी नारीवादी हुन्। र, त्यही भएकैले पुरुषमाथि हैकम जमाउनुपर्छ भन्ने सोच उनमा हाबी छ।" यही विशेषताले गर्दा नै उनले बाबुरामलाई दबाब र प्रभावमा राख्ने गरेकी छन्। त्यही भएर होला, बालुवाटारमा पनि बाबुरामलाई भन्दा हिसिलालाई भेट्नेको लर्को बढी हुन्छ।
दुई वर्षअघि काठमाडौँमा नेवाः मुक्ति मोर्चामा आबद्ध बुद्धिजीवीहरूले बाबुरामलाई प्रमुख अतिथि बनाएर एउटा अन्तरक्रिया गर्न खोजेका थिए। उनीहरू बाबुराम विचार समूहनिकट नै थिए। तर, हिसिलाले नेवारहरूको अन्तरक्रियामा बाहुनलाई प्रमुख अतिथि बनाएर किन ल्याउने भनेर हस्तक्षेप गरनि्। बाबुराम स्वयंलाई पनि नजान सुझाइन्। आयोजकहरूले भने बाबुराम नआउने हो भने कार्यक्रम नै नगर्ने भनेपछि पहिला हिसिला जाने र अन्तिममा बाबुराम जाने गरी कार्यक्रम गरयिो।
जे भए पनि पढेलेखेकी र समाज राम्ररी बुझेकी उनले राजनीतिका धेरै उकालीओराली छिचोलिसकेकी छन्। बाबुरामनिकटको पत्रिका जनादेशका सम्पादक मनऋषि धिताल भन्छन्, "हिसिलाका बारे बाहिर जे सुनिन्छन्, त्यस्ता कुरामा सत्यता छैन। किनभने, मैले कहिल्यै हिसिलाले बाबुरामलाई कुनै पनि कामका लागि दबाब दिएको देखेको छैन। बरू हिसिलाकै दिदीहरूले समेत बाबुरामलाई भेट्न समय मिलाइदिनुपर्यो भनेर हामीलाई भन्ने गरेका छन्।" उनका अनुसार प्रधानमन्त्रीलाई खुइल्याउनुपर्दा हिसिलाको आलोचना हुँदै आएको देख्छन् पार्टीभित्र।
जसले जे भने पनि राजनीति र परविर्तनको फेरोमा हिसिलाको महत्त्वपूर्ण योगदान छ। तर, माओवादी शक्ति र सत्तामा आएपछि निरन्तर विवादमा आइरहेकी उनलाई यस्ता कुराले फाइदा भने गर्दैनन्। आफ्नाबारे हिसिला भने बोल्न चाहिनन्। नेपालसँगको संक्षिप्त कुराकानीमा उनले यति मात्र भनिन्, "मलाई प्रभावशाली महिला हुने रहर छैन र होइन पनि। त्यसमा पनि बाबुरामजी प्रधानमन्त्रीको कुर्सीमा छउन्जेल म सञ्चारमाध्यमसँग बोल्दिनँ।'