१७ बर्ष सम्म सन्तान नभए पछि श्रीमानले घर निकाला गरे I

विराटनगर, चैत २१,

बाबुको मृत्यु हुँदा माइत गएकी मिठुमाया लिम्बूलाई घर फर्किएकै दिन श्रीमान्ले कुटेर खेदाए। कान्छी श्रीमती ल्याएको तीन महिना बितेपछि श्रीमान् शुभसिंहले उनलाई घरनिकाला गरेका हुन्। उनी डेढ वर्षदेखि माइतीमै छिन्।

शुभसिंहले मिठुमाया दुई महिना माइती बसेको रिस फेर्न मात्रै घरनिकाला गरेका होइनन्। बिहे गरेको १७ वर्षसम्म सन्तान जन्माउन नसकेको आरोप पनि लगाएका थिए उनले। त्यही आरोपमा कान्छी भिœयाए र 'बाँझी' भनेर दिनरात कुटपिट गर्न थालेको मिठुमाया बताउँछिन्।

२०५० माघ ९ गते शुभसिंहसँग प्रेम विवाह गरेकी थिइन् मिठुले। २०६७ असार ३ गते बाबु खड्गबहादुर बितेको खबर आएपछि उनी माइती ताप्लेजुङ गइन्। साउन १४ गते काजकिरिया सकियो। अलिकदिन माइतीमै बसेर भदौ ३ गते घर फर्किएकी थिइन्।

'माइतीबाट नाइट बस चढेर बिहान ८ बजे घर पुगेकी थिएँ,' ४३ वर्षीया मिठुले सोमबार नागरिकसँग भनिन्, 'कान्छी बुढीसँग मिलेर पुग्नेबित्तिकै घरबाटै निकालिदिए।'

उनी बिहे गरेको सात वर्षसम्म सन्तान नभएपछि डाक्टरकहाँ पुगेकी थिइन्। डाक्टरले औषधि खाँदा ठीक हुने बताए। नभएपछि शुभसिंहले दिनरात हेपिरहन्थे। उनी गालीगलौज र कुटपिट सहेरै बसिरहेकी थिइन्।
यसबीच २०५९ मा पाठेघरमा ट्युमर पलाएपछि अप्रेसन गरियो। त्यसपछि कहिल्यै सन्तान नपाउने भइन्। शुभसिंहको आक्रोश झनै बढ्यो।

२०६७ जेठ महिनाको कुरा। छिमेकी शान्ता राईसँग शुभसिंहले दोस्रो बिहे गरे। त्यसपछि हिंसाको सिमै रहेन। दुवै मिलेर रातदिन कुटपिट गर्न थालेको उनी बताउँछिन्। खान नदिएर भोकभोकै बसेको पनि याद छ मिठुलाई।
'साथीभाइका छोराछोरी ठूल्ठूला भइसके, तैंले मेरो जिन्दगी बर्बाद पारिस्,' श्रीमान्ले यस्तै भन्ने गरेको उनी सम्झन्छिन्।
छरछिमेकले उनीहरूबीच सहमति गराउने प्रयास गरेका थिए। तर मिठुलाई घरबाट निकालेरै छाड्नेमा शुभसिंह अडिग रहे।

'एउटै कुरामा रातोदिन कुटाइ खाएर बसेको सहन नसकेर माइतीमै राख्यौं,' मिठुका दाजु इन्द्रले भने, 'घर फर्किने वातावरण तयार नभएकाले कानुनी बाटो अपनाउने कोसिस गरेका छौं।'
मिठुले चैत १९ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन्। शुभसिंहलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ। लिम्बूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिहे गर्दा शुभसिंहसँग केही थिएन। १० धुर जग्गामा बनेको घर माइतीकै सहयोगमा ४४ हजार रुपैयाँमा किन्ने प्रबन्ध मिलाएकी थिइन् मिठुले। त्यसपछि साढे ७ वर्ष शुभसिंह दुबई बस्दा उनीहरूले ३ का जमिन जोडेका थिए। 'घर फर्किन नपाए पनि अंश पाए त्यही अंशमा केही गरेर जीवन बिताउने छु,' मिठुले भनिन्।
मिठु परिवारकी साइली छोरी हुन्। शुभसिंहका भाइ राजेन्द्रले उनकै कान्छी बहिनी जानुकालाई बिहे गरेका थिए। शुभसिंहले घर बस्न नदिएपछि राजेन्द्र पनि जानुकालाई लिएर ससुरालीमै बस्छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले शुभसिंहलाई कानुनी दायरामा ल्याई मिठुको हकअधिकार दिलाउने सक्दो प्रयास गर्ने बताए।
'सन्तान नपाएकै कारण घरनिकाला भएको सुन्दा ज्यादै दुःख लाग्यो,' चतुर्वेदीले भने, 'कानुनी बाटोबाट मिठुमायाले पाउने अधिकार दिलाउन हामी सक्दो सहयोग गर्नेछौं।' खिलानाथ ढकाल,

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com