२२ बर्ष अघि २ महिला बेच्ने ३ अभियुक्त पक्राउ I

हेटौंडा, वैशाख १५,

बाइस वर्षअघि २ महिलालाई भारतमा लगेर बिक्री गर्ने ३ अभियुक्तलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । गर्भवती पत्नीलाई भारतमा लगेर बिक्री गर्ने सीताराम थिङ मंगलबार पक्राउ परेपछि उनको बयानका आधारमा प्रहरीले थप दुईलाई पक्राउ गरेको हो ।

महिला बिक्री गरेको आरोपमा पक्राउ पर्नेमा पदमपोखरी ४ का ५० वषर्ीय शशिकुमार तितुङ र ५५ वर्षीय श्यामबहादुर बोम्जन छन् । मनहरी ३ का सीतारामले गर्भवती पत्नी र नातामा फुपू पर्नेलाई भारतको कोठीमा बिक्री गर्न तितुङ र बोम्जनलाई साथमा लगेका थिए ।

मुम्बईको कोठीमा २ महिलालाई बिक्री गरेको रकम ३ जनाले भाग लगाएको प्रहरीसमक्ष अभियुक्तले बताए । दुई दशकभन्दा बढी समय कोठीमा नारकीय जीवन गुजारेर चैत २४ गते माइती फर्केकी महिलाको उजुरी आधारमा प्रहरीले सीतारामलाई चितवन रत्ननगर नगरपालिका १३ को जयमंगलबाट पक्राउ गरेको हो ।

मनहरी ३ की १६ वषर्ीया किशोरीसँग विवाह गरेर थिङले ६ महिनापछि गलैंचा कारखानामा काम गर्ने भनेर काठमाडौं लगेका थिए । काठमाडौंमा काम पाइएन भन्दै दुवै जना भारतमा जागिर खाने भनेर उनीसहित फुपूलाई २०४६ जेठमा मुम्बई पुर्‍याइएको थियो ।

मुम्बईका कोठी सञ्चालक दुई महिलालाई जिम्मा लगाएर तीनै जना भागेका थिए । दुवै महिलालाई ५० हजार भारुमा बिक्री गरेका थिए । कोठीमा बिक्री हुँदा किशोरी ५ महिनाकी गर्भवती थिइन् । अर्की महिला १५ वर्षकी थिइन् । गर्भवती महिला २२ वर्षपछि घर फर्किन् तर अर्की महिलाको अत्तोपत्तो छैन ।

कोठीमा आउने नेपाली ग्राहकको सहयोगमा उनी नेपाल आउन सफल भएकी हुन् । घर र्फकन पटकपटक प्रयास गर्दा पनि कोठी सञ्चालकले आउन नदिएकाले बाध्य भएर कोठीमा बस्नु परेको पीडा उनले सुनाइन् ।

ग्राहकको सहयोगमा घर र्फकन पाएकोमा खुसी व्यक्त गर्दै हिन्दी लवजमा उनले भनिन्, 'नर्कबाट उम्केर स्वर्गमा आइयो ।' लामो समयपछि घर फर्केकी महिलालाई माइती नेपाल हेटौंडाले आफ्नो संरक्षणमा राखेको छ ।

प्रहरीले तीनै जनालाई मानव बेचबिखनमा मुद्दा दायर गरेको छ । हिरासतमा रहेका ५५ वषर्ीय श्यामबहादुरले भने, 'अपराध गरेपछि त्यसको फल भोग्नुपर्ने रहेछ, हजुर ।' प्रताप बिष्ट;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com