सफल जिवानको पुल प्रेम.....I

आपसी सम्बन्ध वा वैवाहिक जीवनलाई सफल बनाउने चाहना कसको हुँदैन र ? तर हरेक व्यक्तिले यस्तो चाहना पूरा गर्न सकेका हुँदैनन् । वैवाहिक सम्बन्धको सफलताका लागि प्रेम, विश्वास, समझदारीका साथै अन्य थुपै्र कुरा आवश्यक हुन्छन् ।

प्रेमको अभिव्यक्ति

पार्टनरलाई प्रेम गर्नु मात्र पर्याप्त हँुदैन, त्यसलाई अभिव्यक्त गर्नु पनि आवश्यक छ । पार्टनरले आफ्नो आँखाको भाषा पढ्छ वा आफ्नो मौनतालाई बुझ्छ भन्ने छैन । प्रेम गर्नुका साथै सम्बन्धित व्यक्तिलाई त्यसको अनुभूति दिलाउनु पनि उत्तिकै जरुरी छ । यसबाट मात्र ऊ आफ्ना लागि कति विशेष छ र आफूलाई उसको कति चिन्ता रहन्छ भन्ने थाहा हुन्छ । बारम्बार आई लभ यू भन्दा अनौठो लाग्न सक्छ तर यसमा नराम्रो केही छैन । सम्बन्धमा ताजापन कायम राख्न जति व्यस्त भए पनि रोमान्टिक कुराकानीका लागि केही समय निकाल्नुपर्छ ।

जुनसुकै अवस्थामा साथ

जे-जस्तो स्थिति भए पनि हामी सधैं सँगै रहनेछौं भन्ने कुरालाई जीवनमा उतार्न सकियो भने कुनै कठिनाइ वा समस्याले सम्बन्ध बिगार्न सक्दैन । राम्रो र सुखद् स्थितिमा मात्र साथ निर्वाह गर्नु विवाहको अर्थ नभई हरेक परिस्थितिमा पार्टनरलाई साथ दिनु नै आपसी सम्बन्धको सफलताको आधार हो । कठिनाइ त हरेकको जीवनमा आउँछ र कठिन परिस्थितिमै पार्टनरलाई आफ्नो आवश्यकता हुन्छ । यस्तो स्थितिमा डराउनुको साटो कठिनाइको सामना गर्नुपर्छ साथै आफ्नो सम्बन्धलाई यति दरिलो बनाउनुपर्छ कि पैसा, काम, स्वास्थ्यजस्ता कुराले त्यसलाई प्रभावित नगरोस् ।

समयसँगै बढ्दो प्रेम

विवाहको बढ्दो उमेरसँगै प्रेमको उमेर घट्छ भनिन्छ तर त्यो सत्य होइन । कपल्स एक-अर्काका साथमा जति धेरै समय बिताउँछन्, उनीहरूको प्रेम उति नै प्रगाढ हुन्छ र प्रेमले नै दम्पतीबीच आपसी बोन्डिङलाई स्ट्रङ बनाउँछ । जहाँसम्म रिसाउने, फकाउने, हल्काफुल्का विवाद एवं मतभेदको कुरा छ त्यो हरेक दम्पतीबीच हुने सामान्य कुरा हो ।

तुलना नगर्नु

वरपर आपmनोभन्दा धनी, खुसी र सेक्सी जोडी फेला पार्न सकिन्छ तर आफूलाई उनीहरूसित तुलना गर्नु हुँदैन । अरुसित तुलना गरेर केही प्राप्त हुँदैन । अतः अरूका बारेमा सोच्नुको साटो आफ्नो जीवनलाई सजाउने, सुदृढ गर्ने, खुसी राख्ने प्रयास गर्नुपर्छ । यसबाट वैवाहिक जीवनमा सुधार आउँछ ।

विवाहलाई प्राथमिकता

विवाहपछि अनेकौं सम्बन्धसँग साक्षात्कार हुन्छ । यद्यपि जीवनभर कायम रहने सम्बन्ध भनेको श्रीमान्-श्रीमतीको हो । बालबालिका ठूला हुँदै गएपछि करियरका लागि घरबाट टाढा जान्छन् । समयसँगै कतिपय आफन्तहरू पनि टाढिँदै जान्छन् तर पार्टनर सधैं आफ्नो साथमा रहन्छन् । अतः यो सम्बन्धलाई प्राथमिकता दिनु जरुरी छ ।

स्वयंसित प्रश्न

आफूले विवाह किन गरियो भन्ने प्रश्न स्वयंसँग गर्नुपर्छ । घर र अफिसको काममा अल्भिmएर प्रायः जोडी विवाहको वास्तविक उद्देश्य बिर्सन्छन् । काम गर्न, नयाँ घर-गाडी खरिद गर्नका लागि मात्र विवाह गरिएको होइन, जीवनसँगै बिताउन, पार्टनरसित आफ्ना भावना साटासाट गर्न र प्रेमका लागि विवाह गरिएको हो । अतः आफ्नो व्यस्त जीवनबाट केही समय निकाल्नुपर्छ र पार्टनरसँग समय बिताउनुपर्छ ।

बितेका कुरा बिर्सनु उचित

विवाहपूर्व कसैसित रिलेसनसिप थियो भने पनि बितेका क्षणलाई बिर्सनु उचित हुन्छ । होइन भने आफ्नो पार्टनरलाई शतप्रतिशत अटेन्सन र प्रेम दिन गाह्रो हुन्छ । साथै बिर्सेर पनि आफ्नो पार्टनरको तुलना आफ्नो एक्ससित गर्नु हुँदैन । सम्बन्धको सफलताका लागि पार्टनरप्रति पूर्णरूपले इमानदार हुनु जरुरी छ ।

पर्सनल स्पेस

कसैको श्रीमान्-श्रीमतीका रूपमा मात्र नभई आफ्नो अलग पहिचान पनि हुनुपर्छ र त्यसलाई कायम राख्नु अत्यन्त जरुरी छ । आफ्नो रोजाइका कुरामा स्वयंलाई व्यस्त राख्नुपर्छ । मित्रजनसित घुमफिर, खेलकुद आदिमा सहभागी हुनुपर्छ । यसका साथै विवाहित भएकाले पार्टनरप्रति पनि आफ्नो जिम्मेवारी रहेको कुराप्रति सजग हुनुपर्छ । अतः वैवाहिक सम्बन्धको सफलताका लागि पर्सनल स्पेस र सन्तुलन कायम राख्नु जरुरी छ ।

स्वयंलाई प्रेम

जसले आफूलाई प्रेम गर्न सक्दैन उसले अरूलाई पनि प्रेम गर्दैन । हेल्दी रिलेसनसिपका लागि आत्मविश्वास र आत्मसंयम जरुरी छ र यो कुरा तब मात्र सम्भव हुन्छ जब स्वयंसित प्रेम गरिन्छ । यसो गर्नाले पार्टनरसित इन्जोय गर्न सकिन्छ र जीवनमा खुसी छाउँछ ।

विवाद होइन बहस

हरेक व्यक्तिको सोच अलग-अलग हुन्छ, त्यसैले दुवै पार्टनर एउटै कुरामा सहमत हुनुपर्छ भन्ने छैन । तिनका बीच कुनै मुद्दामा बहस हुनु सामान्य हो । यसबाट दुवै पार्टनरलाई एक-अर्काको सोच, स्ट्रेन्थ र भावनाका सम्बन्धमा बुझ्न सजिलो हुन्छ र दुवै एक-अर्काको नजिक आउँछन् । सार्थक बहसले आत्मविश्वास बढाउँछ । बहस विवादमा परिणत भए संयम अपनाउनुपर्छ वा एकजना शान्त हुनुपर्छ नत्र समस्या बढ्न सक्छ ।

: रोजिना शाक्य:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com