उपचारमा समस्या द्वन्द पीडितहरुलाई I

 बाग्लुङ, वैशाख १०,

उपचार गर्न बाग्लुङ बजार आएका द्वन्द्वका एक घाईते अपाङ्ग उपचार गर्न नसकेर यहाँ अलपत्र छन्। जिल्लाको ग्वालिचौर-७ का ५० वर्षीय भीमबहादुर विकको गोली लागेको घाउ बल्झिएपछि अहिले खर्च अभावमा उपचार गर्न कठिनाई भएको हो। 

बाग्लुङ अस्पतालका चिकित्सले थप उपचारकोलागि काठमाण्डौ जान भनेपनि उनी उपचार गर्न जान नसकेपछि सहयोगको याचना गर्दै बाग्लङका विभिन्न सरकारी कार्यालय र संघसंस्था चाहारिरहेका छन्। डाक्टरले उपचारकोलागि पोखरा जान भनेपनि खर्च अभावमा जान नसकेको वि.क.ले बताए। 'जेनतेन बाग्लुङसम्म ऋण खोजेर आएको थिएँ, 'ग्वालिचौरदेखि छोरीलाई लिएर यहाँ आएका वि.क.ले भने,' काठमाण्डौ गएर उपचार गर्न खर्च छैन।' 'उपचार जान त के घर फर्किने भाडापनि छैन,' उनले भने। द्वन्द्व पीडितकोलागि सरकारी तथा गैर सरकारी निकायले सहयोग गर्ने बताएपनि आँफुले सहयोग नपाएको गुनासो गरे।

२०५९ कात्तिक २५ गते माओवादीले नेपाली सेनालाई थापेको एम्वुस विष्फोट भएपछि नेपाली सेनाले अन्धाधुन्दा गोली चलाउँदा ग्वालिचौरकै न्वार फाँटमा दाईँ हाल्न गएका वि.क. गोली लागि घाईते भएका थिए। सो घटनामा छ जनाको मृत्यु भएको थियो भने छ जना घाईते भएका थिए। तत्कालीन अवस्थामा गाउँलेले रकम संकलन गरेर सहयोग गरेपछि काठमाण्डौको विर अस्पतालमा उपचार गराएपनि अहिले घाउ बल्भि्कँदै जादाँ उपचारमा कठिनाई भएको छ।

वैशाखीको सहाराले हिँड्ने गरेकोमा अहिले देव्रे खुट्टाको घाउ पाकेपछि हिँडडुल गर्न हम्मे परेको छ। ' वैशाखीको सहारामा हिँड्ने गरेको थिएँ,' विकले दुखेसो पोख्दै भने,'अहिले त घाउ पाकेपछि खुट्टामा राखेको स्टील पाता चस्किँदा हिँडडुल गर्न निकै गाह्रो हुन्छ। उपचारकोलागि खर्च नहुँदा समस्यामा छु।' 'कसैले सहयोग गरेर उपचार गर्न सजिलो हुने थियो,' उनले अनुनय गरे।

ज्यालामजदुरी गरेर पाँच जनाको परिवार पाल्दै आएका सुकुम्वासी वि.क. घाईते भएपछि काम गर्न सक्न छाडेका छन्। आर्थिक अवस्था कमजोर भएकै कारण उनकी छोरी किरण विकले कक्षा ५बाट पढाई छाडेकी छन्। विहान बेलुकाको खर्च धान्न धौ भएपछि स्कुल जान छाडेर ज्याला मजदुरी गर्न थालेको किरणले बताईन्। ' पढ्ने रहर हुँदा हुँदै घरायसी बाध्यताले पढ्न छाडेँ,' बावुलाई लिएर बागलुङ बजार आएकी किरणले मलिन मुद्रामा भनिन् ,' अब बुवाको उपचार गर्ने खर्च कसरी जुटाउने। आफ्नो भन्ने कोही छैन।'
'ज्यालामजदुरी गरेर छाक टारेका थियौँ,' उनले भनिन्,' अहिले बुवाको उपचार गर्न निकै समस्या भ'छ।'
करिब आठ वर्षदेखि अपाङ्ग बनेका विकले राज्यले उपेक्षा गरेको बताए। विक जस्ता 'ख' बर्गका अपाङ्गले १ लाख रुपैयाँ राहात पाएपनि उनले अहिलेसम्म कुनै राहात विभेद भएको सत्कर्म नेपालका अध्यक्ष सिताराम थापाले बताए। ' सरकारी तवरबाट वितरण हुने राहात समान रुपमा वितरण भएको छैन, थापाले भने,' निर्देशिका अनुसार सहयोग नगर्दा करिव दुई दर्जन घाइतको उपचारमा समस्या छ भएको छ।'
जिल्ला प्रशासन कार्यालयले भने तत्काल राहात दिन नसक्ने जनाएको छ । ' भर्खर रकम उपलब्ध गराउन सक्ने अवस्था त छैन,' सहायक प्रमुख जिल्ला अधिकारी डोलराज ढकालले भने,' पुरानै घाउ दोहोरियो भने उपचारकोलागि पहल गर्न सकिन्छ।'  दिलीप पौडेल,

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com