कविता - ' उसको प्रतीक्षारत जिन्दगी '
"प्रतीक्षाको घडी लामो हुन्छ"
पलहरु दिनमा, दिनहरु महिना
महिनाहरु वर्षमा अनि वर्षहरु दशकतिर
दोबरिदै जान्छन्
तर वास्तविक समय अझै आउँदैन ।
झिसमिसेसँगै आङ तन्काउँदै
पर्खाइका रातहरु बिताएका
अनिँदो आँखाहरु लिएर
ओछ्यान छोड्छिन् उनी
पर्खाइमा तीन चौथाइ जिन्दगी बिताइसक्दा पनि
सिमा समाप्त हुँदैन ।
मिरमिरेपछिको सुर्योदय घन्टौं लाग्छ
मानौँ क्षितिजमै सुर्य अल्झिरहेको छ
मध्याह्न टक्क रोकिन्छ
जसरी ब्याट्री सकिएको भित्तेघडी ।
अस्पट लाग्छ, छट्पटी लाग्छ
दिनभरि घामको रापले पोलिरहन्छ
यस्तो लाग्छ दिनभरिमा कति काम गरिन्छ
हिँड्न परे कोषौं पार गरिन्छ ।
बाटो हेर्दा हिँडेको दिन र फर्किने दिनको
बिचमा आफुलाई राखेर जोडघटाउ गर्छिन्
अझै हिँडेकोभन्दा फर्किने दिन लामो हिसाब आउँछ
बारीको कान्लामा अडेस लागेर
ओझेल परेको पारी भित्तातिर हेर्छिन्
सयौं चोटि हेर्दा बरु आँखा थाक्छन्
तर पर्खाईको आशा थाक्दैन
दिनभरिको पर्खाइबाट निस्केको क्लान्त जवाफलाई
मुटुको एउटा कुनामा लुकाएर ओछ्यान पस्छिन्
भोलीको सुनौलो दिनको कल्पनालाई च्यापेर कुक्रुक्क
जस्तै पुसको जाडोमा सडक बालक
अलिकति आशा ओछ्याएर आश्वसको सिरानीमा
थोरै आकाशकुसुम ओढेर सुत्छिन् तिनी
तर ओछ्यानले बिझाउँछ
सिरानीले घोच्छ कोल्टे फेर्छिन्
आफ्नै सिरानीले टाउको पक्रिन्छ
सास लिन गाह्रो भएको जस्तो हुन्छ
पहाड उल्टिएर थिचे झैँ लाग्छ ।
छ्या कति लामो रात
माथि डाँडामा फ्याउरो कराउँछ
गाउँभरि कुकुरहरु भुक्छन् रुन्छन्
उसको आङ जिरिङ्ग हुन्छ
जिउभरि काँडा उम्रीएको जस्तो लाग्छ
उ मनमनै सोच्छे
यस्तो त असगुन पो हुन्छ है ।
भर्खर रातको दोस्रो प्रहर
कति लामो रात
भालेहरु बास्दै छन्
निदाउने प्रयासमा आँखाका गेडिहरु दुख्छन्
यो अँध्यारो जस्तै जिन्दगीको उज्यालोको आशामा
उनी सोंचिरहन्छिन् सम्झिरहन्छिन् ।
अहिले कहाँ के गर्दै होलान् ?
खाँदैछ कि छैन होला ?
सन्चो थिएन औषधि लिए कि लिएनन् ?
कहिले देख्नु कहिले भेट्नु ?
मायालु अङ्गालोमा बाँधिएर
विगत, वर्तमान र भविष्यका आकङ्क्षाहरु
कहिले पूरा गर्नु ?
रहर पुग्ने गरि कहिले कुरा गर्नु ?
खै तर त्यो दिन कहिले आउने हो !
प्रतिक्षाको घडी साँच्चै लामो हुँदोरहेछ
सायद उसको अनिश्चित जिन्दगीमा
त्यो दिन आउन अझै धेरै बाँकी होला
तर पनि सानो आशाको त्यान्द्रो लिएर
बिताइरहन्छिन् आफ्नो प्रतीक्षारत जिन्दगी ।।।
भीम विरही राई
मणिपुर,
भारत- म्यामार सिमाक्षेत्र