महोत्तरी माघ २७,
दाइजोमा लैनो भैँसी नपाएपछि केटाका बुबाले विवाहको अन्तिम समयमा आएर बेहुली छोडेर जाँदा अलमलमा परेकी महोत्तरी बर्दिवास नगरपालिका–८ कि अमृताकुमारी कापर अब पढेर दाइजोविरुद्ध लड्ने भएकी छिन्। बर्दिवास नगरपालिका–८ फूलबारी टोलका रामप्रकाश कापरले आफ्ना १९ वर्षीया छोरी अमृताकुमारी कापरको विवाह समारोहमा ज्वाइँलाई एउटा लैनो भैँसी दिन नसक्दा बेहुलाका बुबा तथा बेहुलाले अमृतालाई छोडेर गएपछि विवाह रोकिएको थियो।
उनलाई पढ्नका लागि काठमाडौँको सिद्धार्थ बिजनेस ग्रुपको साकार नामक संस्थाले सघाउने भएको छ। सिद्धार्थ बिजनेस ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले अमृताले जति पढे पनि आफ्नो बिजनेस ग्रुपले पढाइदिने बताएका छन्। उनलाई घरमै पुगेर बिजनेस ग्रुपले पहिलो चरणमा १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो।
अमृताले नर्स बनेर समाज सेवा गर्ने रहर पालेकी छन्। गरिबीको कारण कक्षा ९ सम्म मात्र पढेकी अमृताका बुबाले छोरीको विवाह गर्न खेत बेचेर ज्वाइँलाई मोटरसाइकल, नगद र सरसामान गरी चार लाख ५० हजार रुपैयाँ दाइजोमा खर्चिएका थिए। अमृताको घटना बुझ्न उनको घर पुगेकी अन्तर पार्टी महिला सञ्जाल बर्दिवासकी अध्यक्ष सारदा थापा र उपाध्यक्ष उर्मिला कार्कीले अमृताको न्यायका लागि कानुनी लडाइँ लड्ने बताए। अमृताको विवाहमा भएको सबै खर्च पीडकबाट प्रहरी प्रशासनले अमृताका परिवारलाई क्षतिपूर्तिबापत दिलाउनुपर्ने उनीहरुले माग गरेका छन्। रासस: