सिन्धुपाल्चोक माघ २५,
बिदुर आचार्य :विनासकारी भूकम्पले सर्वाधिक क्षति पुर्याएको सिन्धुपाल्चोकमा पछिल्लो २२ महिनामा २ सय ७० महिला हिंसाका घटना दर्ता भएका छन् । असुरक्षित आवासकै कारण महिला हिंसामा उल्लेख्य वृद्धि भएको हो । भूकम्प लगत्तैका राहत वितरण देखि आवास अनुदानमा भएका विवादका कारण समेत महिलाहरु हिंसामा परेका छन् ।
‘भूकम्पमा परि मृत्यु भएका घरका सदस्यको किरिया खर्च आफु अनुकुल खर्च गर्न नपाएको भन्दै महिलामाथी हिंसा भएको छ,’ घटनाको विवरण सुनाउँदै महिला विकास अधिकृत सन्ध्या सिंहले भन्नुभयो, ‘राहत र आवास अनुदानबाट बहु विवाहमा परेका र कतिपय एकल महिला लाभान्वित हुन सकेका छैनन् ।’
भूकम्पपछि बहुविवाह गरेकाहरुले जेठी श्रीमतीलाई राहत र अनुदानमा विभेद गरेका उजुरी परेका छन् । परिवारका अन्य सदस्य छुट्टै भिन्न बसेर एक्लै हुन पुगेका एकल महिला पनि भूकम्पपछि हिंसामा परेको भन्दै उजुरी दिन आएको महिला विकास कार्यालयको रेर्कड छ । ‘गाँस न वास भएपछि के गर्नु ?’ राहत र आवास अनुदान दुवै नपाएर चौतारा आएकी मेलम्ची नगरपालिकाकी एक महिलाले प्रश्न गर्नुभयो।
भूकम्पपछि धेरै महिला अपाङ्ग बन्न पुगे । आफु अपाङ्ग बनेपछि श्रीमानले दोस्रो विवाह गरेको भन्ने उजुरी पनि आएका छन् । यसैगरि, छोरी मात्र जन्माएको भनी वहुविवाह गर्नेको संङ्ख्या पनि बढेको महिला विकास अधिकृतहरु बताउँछन् ।
महिलालाई भूकम्पपछि ललाई फकाई अन्यत्र लैजाने क्रम त झनै विकराल वनेको छ । राजधानी काठमाडौं तथा देशबाहिर वैदेशिक रोजगारीको आश्वासनमा जिल्लाका धेरै महिला प्रभावित भई हिंसामा परेको कार्यालयको तथ्याङ्क छ ।
असुरक्षित बसाइँकै कारण भूकम्पपछि ३ किशोरी बलात्कारमा परी गर्भवती भएका छन् । किशोरीहरु अहिले महिला विकासको संरक्षण केन्द्रमा छन् । असुरक्षित बसाइँकै कारण २ महिला यौन हिंसामा परेको उजुरी छ ।
पछिल्लो २२ महिनामा कार्यालयमा परेका उजुरीमा लैङ्गिक हिंसा २२, घरेलु हिंसा १४१, मानव बेचविखनका ३ घटना दर्ता भएका छन् । त्यस्तै प्रतिलिपि सम्झौता नामसारी सम्बन्धी ९ वटा घटना दर्ता भएको कार्यालयको तथ्याङ्क छ ।_महिला खबर;