एजेन्सी फागुन १३,
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) अनुसार संसारभर ३२ करोड भन्दा बढी मानिस डिप्रेसनबाट पीडित छन् । संसारमा रहेका डिप्रेसनका कूल बिरामीमध्ये आधा बिरामी दक्षिण एशिया र प्रश्चिम प्रशान्त क्षेत्रमा रहेको डब्लुएचओले जनाएको छ । तीमध्ये ५ करोड त भारतीय नै छन् ।
रिपोर्ट अनुसार ३ करोड भारतीय एंग्जाइटी डिसअर्डबाट प्रभावित छन् । विश्वमा हुने गरेका दुई तिहाई आत्महत्याका घटना न्युन र मध्यम आम्दानी हुने देशमा हुने गरेको छ र तीमध्ये भारत पनि प्रमुख रहेको छ ।
सन् २००५ देखि २०१५ को बीचमा डिप्रेसनका रोगीको संख्या १८ दशमलब ४ प्रतिशतले बृद्धि भएको छ । डब्लुएचओका अनुसार भारतमा ५ करोड ६६ लाख ७५ हजार ९६९ मानिस डिप्रेसनबाट पीडित छन । यो संख्या भारतको कूल जनसंख्याको ४ दशमलब ५ प्रतिशत हो ।
सन् २०१५ मा विश्वभर ७ लाख ८८ हजार मानिसले आत्महत्या गरेको र यो भन्दा ठूलो संख्यामा रहेका अरु मानिसहरुले आत्महत्याको प्रयास गरेका थिए । विश्वमा हुने कूल मृत्युमध्ये १ दशमलब ५ प्रतिशत मृत्यु आत्महत्याका कारण हुने गरेको छ । ‘१५ देखि २९ वर्षका मानिसमाझ आत्महत्या मृत्युको दोस्रो कारक बनेको छ,’ अध्ययनमा भनिएको छ ।