पार्वती पाण्डे,
हत्या आरोपमा एक पक्राउ
कपिलवस्तु फागुन ४,
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बालिकाको बलात्कारपछि हत्या गरेको आशंकामा एक जनालाई पक्राउ गरेको छ । शिवराज नगरपालिका प्रगतिटोलका शोभाकर अधिकारीकी ६ वर्षिया छोरी सीता अधिकारी सोमबार मृत अवस्थामा फेला परेकी थिइन् ।
छिमेकी १७ वर्षीय भिमबहादुर कुँवरलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपनिरीक्षक प्रल्हाद अधिकारीले जानकारी दिनुभयो ।
‘प्रारम्भिक अनुसन्धानमा बालिकाको बलात्कारपछि हत्या भएको देखिन्छ, हत्यामा छिमेकीको संलग्नता भएको शंकामा अनुसन्धान गरिरहेका छौं,’ उपनिरीक्षक अधिकारीले बताउनुभयो ।
सोमबार बेलुका ७ बजेतिर छिमेकीकोमा खेल्न निस्केकी बालिका ८ बजेसम्म पनि घरमा खाना खान नआएपछि आमाले खोजखबर गरेकी थिइन् । आफन्त, छरछिमेकमा पनि छोरी सीतालाई नभेट्टाएपछि परिवारले प्रहरीमा खबर गरिएको थियो । स्थानीय, वडा प्रहरीको टोली, सशस्त्र प्रहरी टोलीले रातभर खोजीकार्य गरेपनि फेला पार्न सकेनन् ।
तर विहान मात्र बालिका मृत अवस्थामा फेला परेको स्थानीय माधव पाण्डेयले बताए । घरदेखि करिब ५ सय मिटर उत्तर पर्ने जवई खोलामा तैरिरहेको अवस्थामा स्थानीयले बालिकाको शव भेट्टाएका थिए । उनको शव अर्धनग्न अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए ।
मृत अवस्थामा फेला परेकी बालिकाको दाहिने हिपमा चिरिएको गहिरो घाउ देखिएको र उनको लुगा र चप्पल शव भएको स्थानदेखि १० मिटर टाढा मिलाएर राखेको देखिएको स्थानीयले बताएका छन् ।
बालिकाको शवलाई लुम्बिनी अञ्चल अस्पताल बुटवलमा पोष्ट मार्टमपछि परिवारको जिम्मा लगाइएको थियो ।
बालिका स्थानीय आवर मदरल्याण्ड एकेडेमीमा एलकेजीमा अध्ययनरत थिइन् । आक्रोशित स्थानीय, विद्यार्थी, शिक्षक लगायत विभिन्न संघसंस्थाले घटनाको सत्यतथ्य र न्यायिक छानबीन गरी दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै मंगलबार कपिलवस्तुमा विरोध प्रदर्शन गरेका थिए । हत्याको विरोधमा स्थानीय व्यापारी व्यवसायी समेत बजार पसल बन्द गरी विरोधमा उत्रिएका थिए ।_महिला खबर;