कविता ''डा. गोबिन्द के सी''
एउटा युगको पुस्ताले
अन्धकार मात्र देखिरहेको बेला
बिश्वासको ज्योतिपुन्ज बनेर
डा गोबिन्द के सी झुल्कन्छ
जीवनलाई दाउमा राख्दै
हारे आफू मात्र हार्ने
जितें सारा नेपालीले जित्ने
इमानको खेल लडिरहेछ
प्राणलाई समयको धारमा राखेर
नागरिकको पोल्टामा खुशी दिन
जीवनको महत्व बुझेको छ उसले
उ सारा नेपालीलाई बुझाउँन चाहन्छ
देशका ठेकेदारहरू बुझ पचाउँदै
जनताको जीवन खुद्रा र होलसेलमा
बिक्री गर्न हतारो हुन्छ
जनताको नेता ब्यापारी भए पछि
नाफाले उसको नौ पुस्ता उक्सिन्छ
घाटामा जनता घुन झै पिसिन्छ
यहि अन्यायको बिरूद्ध
एक्लै लडिरहेछ
डा. गोबिन्द के सी
जीवनको अधिकार हो
सबैले बाँच्न पाउँने
तर भाग्यले बाँचिरहेछन् कैयौ नेपालीहरू
गाउँ घरमा त पखालाले ज्यान लान्छ
आमा कै गर्भमा सन्तान तुहिन्छ
अस्पताल नभएर गर्भवती आमाहरू
अकालमा मर्छन्
टाउँको दुख्दा सिटामोल किन्न
घण्टौ हिडेर शहर पुग्दा
ब्याथाले च्यापेर मनको डरले थिचेर
हंस उडिजान्छ
कर्म बहादुरहरूको
सहनशील सुशिलाहरूको
स्वास्थ्यमा समान्ताको युद्ध चाहन्छ
डा. गोबिन्द के सी
सरकारमा बसेर हैकम गर्नेहरूले
गाउँ घरको सुबिधालाई
शहरमा पैसामा साटछन्
निर्धोलाई देख्दैन उनीहरू
गरिब निमुखाहरू
मान्छेमा पर्दैनन्
यहि मानविय आफ्नोत्व बचाउँन
हिमाल जस्तै उभिएर
अटल धुर्व तारा बनेर
सत्यलाई एक्लै लडिरहेकोमा
हामी साथ हुन ढिलो गर्न हुन्न
अनर्थ धेरै भयो
अब हुनु हुन्न
सत्यको पक्षको लागि
मिलेर बिद्रोह गर्न पर्छ
नागरिकले पाउँने हक अधिकार
सबैले बराबरी पाउँनु पर्छ
जीवन स्वस्थ्य र शिक्षित होस
सारा नेपालीको लागि
गोबिन्द के सी एक्लै लड्न नपरोस
बौलाह उ एक्लै नहोस
सबै बौलाएर सद्धे सरकारलाई
आगोमा हिडाएर पगाल्नु पर्छ
की त ग्यास च्याम्बरमा लगाएर
खरानी बनाउँनु पर्छ
अब अनसन होइन
मजाले श्रमको मानो खाएर
भ्रष्टाचार सरकारको दैलोमा बसेर
देश बिकासको योजना बनाउँनु पर्छ
जान्नेले नजान्नेलाई सिकाउँनु पर्छ
राम्रो संस्कार बसाउँनु पर्छ
आउँने पुस्ताले
आँखा उघार्दा देखेको उज्यालो
जीवनमा घोलिएर
रंगीन सपनाहरू देखुन
उठ , डा गोबिन्द के सी
तिम्रो अस्तित्व मेटन खोज्ने
आचरण भ्रष्ट सरकारको
हेपाहा प्रबृतिलाई
जरैबाट उखालेर फ्याल्नु पर्छ ।
दीपा राई 'पुन'