गज़ल By, कोमल भट्ट
गरौँ मीठा बात साथी
मिलाऊँ यी हात साथी
भरोषा के जिन्दगीको
झरी जाला पात साथी
इमान्दारी हुन्छ ठूलो
नपारौं याँ रात साथी
भरौं माया कोपिलामा
नसोचौं है घात साथी
दया राखौं निम्छरामा
अझै मिल्ला खात साथी
छ मर्यादा शिष्टतामा
अफालौं त्यो मात साथी
दुराचारी हुन्छ साफ
छिटै खाला लात साथी
सबैको हो देश साझा
कहाँ भन्छौ जात साथी
सधैं बाँचौं स्वच्छतामा
सफा राखौं थात साथी
(विश्राम - ४ अक्षरमा)
-कोमल भट्ट
चन्द्रागिरी नगरपालिका,
वा.नं.२१-पुरानो नैकाप
काठमाडौँ